सात महिनामा व्यापार घाटा २ खर्ब ७१ अर्ब

Nepal-Rastra-Bankकाठमाडौं, ४ चैत । चालु आवको पहिलो ७ महिनामा नेपालको व्यापार घाटा २ खर्ब ७१ अर्ब २२ करोड रुपिर्या पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक स्थिति’ अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा २७ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो घाटा १७ दशमलव ६ प्रतिशतले मात्र बढेको थियो । व्यापार घाटामध्ये भारतसँंग ३० दशमलव ८ र अन्य मुलुकसँग २२ दशमलव १ प्रतिशतले बढेको छ ।

सात महिनासम्ममा कुल वस्तु निर्यात ५ दशमलव ६ प्रतिशतले वृद्धि भई ४४ अर्ब ९८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३ दशमलव ४ प्रतिशतले वृद्धि भई ४२ अर्ब ५९ करोड रुपियाँ पुगेको थियो । मासिक रूपमा हेर्दा चालू आर्थिक वर्षको माघ महिनामा कुल वस्तु निर्यातमा पुस महिनाको तुलनामा ९ दशमलव ९ प्रतिशतले ह्रास आएको छ । कुल निर्यातमध्ये भारततर्फको निकासी २ दशमलव ९ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्ष यो १३ प्रतिशतको वृद्धि थियो । यस्तै अन्य मुलुकतर्फको निर्यात गत वर्ष १४ दशमलव ३ प्रतिशतले बढेकामा यो वर्ष ११ प्रतिशतले मात्र वृद्धि भएको छ । भारततर्फ मुख्यतया: जिआई पाइप, जुटको बोरा, तार, अदुवा र अलैंचीको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ दाल, छाला र तयारी छालाका वस्तुको निर्यात वृद्धि भएको छ ।
यो अवधिमा ३ खर्ब १६ अर्ब २१ करोडका सामान आयात भएका छन् । यो २४ प्रतिशतको बढोत्तरी हो । अघिल्लो वर्ष यही अवधिमा आयात १६ दशमलव ९ प्रतिशतले मात्र बढेको थियो । अघिल्लो वर्ष २ सय ५४ अर्ब ९५ करोड रुपियाँको सामान आयात भएको थियो । कुल आयातमध्ये भारततर्फ २६ दशमलव १ प्रतिशतको उच्च दरले बढेको छ । यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको २८ दशमलव १ प्रतिशतका तुलनामा यस वर्ष २० दशमलव ३ प्रतिशतले मात्र बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिको १८ दशमलव ७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ८ दशमलब २ प्रतिशले वृद्धि भई अमेरिकी डलर १ अर्ब २५ करोड पुगेको छ ।
चालु आर्थिक वर्षमा पुसबाहेक सबै महिनामा १० प्रतिशतभन्दा माथि नै रहेको मूल्यवृद्धि माघमा पनि १० प्रतिशतभन्दा बढी नै रह्यो । पुसमा ९ दशमलव ८ प्रतिशतमा झरेको मूल्यवृद्धि माघमा फेरि उकालो लाग्दै १० दशमलव १ प्रतिशतमा पुगेको छ । गत वर्ष माघमा मूल्यवृद्धि ७ प्रतिशत मात्र थियो । एक महिनालाई छोडेर चालु वर्ष साउनदेखि नै मूल्य वृद्धि १० प्रतिशतबाट झरेको छैन ।
माघमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १० दशमलव ७ र गैर–खाद्य तथा सेवा समूहको वृद्धिदर ९ दशमलव ६ प्रतिशत रहेको उल्लेख छ । गत वर्ष माघमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमश: ४ दशमलव १ र ९ दशमलव ६ प्रतिशत थियो । बैंकका अनुसार यो माघमा तरकारीको मूल्य वृद्धिदर सबैभन्दा बढी १६ दशमलव २ प्रतिशत छ । गत वर्ष यसको वृद्धिदर अझ अघिल्लो माघभन्दा १ दशमलव ६ प्रतिशतले घटेको थियो । यस्तै गत वर्ष माघमा माछा–मासु तथा घिउ/तेलको मूल्य वृद्धिदर ४ दशमलव ६ प्रतिशत र १५ दशमलव २ प्रतिशतले बढेकामा यस वर्ष १४ दशमलव ४ प्रतिशत र १३ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, चिनी तथा मिठाई र रेस्टुरेन्ट तथा होटलको मूल्य वृद्धिदर यस वर्ष माघमा क्रमश: १२ दशमलव ५ र १२ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यो ४ दशमलव ६ र १० दशमलव ५ प्रतिशतको वृद्धि थियो । यो माघमा दलहनको मूल्य पनि ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको माघमा यसको मूल्य स्थिर थियो ।
बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूहका वस्तुहरूमध्ये फनिसिंङ तथा घरायसी उपकरणको मूल्य १२.९ प्रतिशतले बढेको छ । गत वर्ष माघमा यी उपकरणको मूल्य १३ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । क्षेत्रगत आधारमा गर्दा यो माघमा सबैभन्दा बढी मूल्य तराईमा १० दशमलव ६ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यका र पहाडको मूल्य वृद्धिदर क्रमश: १०.२ र ९.० प्रतिशत छ । गत वर्ष माघमा यस्तो मूल्य वृद्धिदर क्रमश: ६ दशमलव ६, ६ दशमलव ३ र ८ दशमलव ६ प्रतिशत थियो । चालु आवको माघसम्म सरकारी बजेट ३९ अर्ब १४ करोडले बचतमा छ । अघिल्लो वर्ष यही समयमा १९ अर्ब ३७ करोडले मात्र बचत थियो। यो वर्ष स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकाले सरकारी बजेट बचत बढी भएको हो ।
यो अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४.४ प्रतिशतले घटी १ खर्ब ३२ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष खर्च २८.२ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा राजस्व असुली २०.३ प्रतिशतले बढेर १ खर्ब ५४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यही समयमा १ खर्ब २८ अर्ब ४७ करोड थियो । आयातमा भएको वृद्धिका कारण राजस्व परिचालन उच्च रहेको हो । यो अवधिमा अन्य सबै कर बढे पनि गैर–कर राजस्व ८.८ प्रतिशतले घटेको छ । गत वर्ष १८ अर्ब उठेको यो कर यो वर्ष १६ अर्बमा सीमित भएको छ ।
बैंकका अनुसार यो अवधिमा वैदेशिक नगद ऋणवापत् २ अर्ब २९ करोड र वैदेशिक नगद अनुदानवापत् ११ अर्ब ७१ करोड प्राप्त भएको छ । अघिल्लो वर्ष सोही अवधिमा क्रमश: २ अर्ब ७९ करोड र २४ अर्ब २७ करोड प्राप्त भएको थियो । चालु आवको सात महिनासम्ममा कुल वस्तु निर्यात ५.६ प्रतिशतले बढेर ४४ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यो १३.४ प्रतिशतले बढेको थियो । महिनालाई हेर्दा यो वर्षको माघको वस्तु निर्यात पुसको तुलनामा ९ दशमलव ९ प्रतिशतले घटेको छ । चालु आवको सात महिनासम्म शोधनान्तर स्थिति १ अर्ब ५९ करोडले बचतमा छ । अघिल्लो वर्ष यो समयमा ७६ अर्ब २८ करोड बचत थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चित ४ खर्ब ३७ अर्ब ८५ करोड पुगेको छ । यसले ९.९ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्नेछ ।

प्रतिक्रिया