धरौटीमा छुटे कर्णेल लामा

Kumar-Lamaकाठमाडौं ३ चैत । लण्डनस्थित बेलमार्स कारागारमा करीव दुई महिना देखि युद्ध अपराधको अभियोगमा जेल सजाय भोग्दै आएका नेपाली सेनाका कर्णेल कुमार लामा शुक्रबार साँझ रिहा भएका छन् ।
इसेक्सस्थित चेल्म्स्फोर्ड क्राउन कोर्टले सशर्त धरौटीमा छाड्न आदेश दिएको दुई सातापछि कर्णेल लामा रिहा भएका हुन् । दश हजार पाउण्ड धरौटी र बेलायत छोड्ने नपाउने सर्तमा अदालतले लामालाई रिहाइको आदेश दिएको थियो । लामालाई जमानतमा छोड्न माग गर्दै उनका वकिल जेम्स लुइसले अदालतमा आवेदन दिएका थिए ।
लामाको दश हजार पाउण्ड धरौटी र बेलायत नछोड्ने ग्यारेन्टी नेपाल सरकारले लिएको छ । लामाको रिहाइपछि बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले बेलायतको अदालतप्रति अझ विश्वास बढेको भन्दै फैसला लामाको पक्षमा हुने विश्वास ब्यक्त गरे ।
सेन्ट्रल क्रिमिनल कोर्टको आदेशबमोजिम लामाको प्लि केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मेमा हुनेछ भने अन्तिम सुनुवाइ आगामी ५ जुनमा हुने तय भएको छ । जेलबाट रिहा भएपनि मुद्धाको अन्तिम फैसला नहुन्जेलसम्म लामाले बेलायत छाड्न पाउने छैनन् ।
शान्ति मिसनमा कार्यरत कर्णेल लामा बिदामा श्रीमति भेट्न बेलायत गएका बेला त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेको थियो । नेपालमा द्वन्दकालमा मानवअधिकार हनन गरेको अभियोगमा बेलायत प्रहरीले लामालाई पक्राउ गरेको थियो । लामाको गिरफ्तारीपछि नेपाल सरकार लगायत ठूला राजनीतिक दलहरुले घटनाको विरोध गरेका थिए भने मानवअधिकारवादी संघसंस्थाहरुले स्वागत गर्दै द्वन्दकालमा भएका मानवअधिकार हननका घटनाहरुको छानवीनको माग गरेका थिए ।

प्रतिक्रिया