“प्रमोसन नपाएको कुण्ठा पनि साहित्य रे !”

Kishor-(1)साहित्यकार तथा पत्रकार किशोर नेपालका विभिन्न उपनाम छन् । ‘पत्रकारिताको बाघ,’ ‘लेखनको पावरहाउस,’ ‘ऊर्जाको उस्ताद,’ आदि–आदि । चिन्ताका क्षणहरू (निबन्धसंग्रह), अर्कै प्रस्तर (कथासंग्रह), रंगमण्डल (लघुउपन्यास) पाताल (उपन्यास), सहरको कथा (उपन्यास) आदि कृतिका सर्जक उनी अखबारी लेखनमा उत्तिकै सक्रिय छन् । राजनीतिक विश्लेषणमा सिद्धहस्त मानिन्छन् उनी । साहित्यकारका रूपमा पनि उनको बलियो छवि छ । उनलाई ट्रेन्ड सेटर निबन्धकार मान्नेहरू थुप्रै छन् ।

तपाईंको उपन्यास ‘सहरको कथा’को मुख्य पात्र अरोजा तपाईंको जीवनमा आएकै केटी हो कि कल्पना मात्र ?
त्यो मैले भेटेकै पात्र हो । तर, त्यो एउटै पात्र होइन । द्वन्द्वकालमा छट्पटाएर हिँडेका थुपै्र पात्रसँग मेरो भेट भयो । तर, यो पात्रले मलाई बढी नै झकझकायो । ती सबैको व्यक्तित्वलाई एउटै पात्र अरोजामार्फत भेट्न, संवाद गर्न सकिन्थ्यो । अरोजाको क्यारेक्टरका थुप्रै आयाम छन्– आतंकवादीबाट प्रयोग हुने अरोजा, लेखपढ गर्न असाध्यै मन गर्ने अरोजा र सहरका बिग्रिएका अन्य युवतीजस्तै अरोजा । ती सबै क्यारेक्टरलाई समष्टिमा एउटै केटी बनाएर मैले उपन्यासमा उभ्याएको हुँ ।
तर, अरोजाको जिन्दगीको अन्त्य एकदम नाटकीय लाग्छ । काठमाडौंकी हाईफाई केटी अन्त्यमा विदेशी भूमिमा आतंककारी भएर मारिन्छे †
सुरुमा लेख्दा नेपाली समाजले यसलाई नाटकीय भन्छ भन्ने लागेको थियो । तर, अहिलेको युवापुस्तामा जुनखाले चरम महत्त्वाकांक्षा देखिएको छ र त्यो महत्त्वाकांक्षा पूरा गर्ने आधारभूत कुरा हामीसँग केही पनि छैन । हामीले अबको पुस्तालाई बाँच्ने शैली पनि सिकाउन सकेका छैनौँ । यो पुस्ताले पुरानो समाज बुझेको छैन । यो समाज द्वन्द्वले निकै जकडिएको छ । आतंकवादका थुप्रै घटना हामीले भोगिसकेका छौँ । टेरोरिजमले ‘स्थायित्व’ पाइसकेको छ । तर, हाम्रा नांगा आँखाले त्यो देखिँदैन । समाजलाई भित्री तहमा अध्ययन गर्दा आतंकवाद फस्टाउने यसैगरी हो । श्रीलंका, भारत वा नेपालका अरोजाहरूमा कुनै फरक छैन । टेरोरिजममा गएर आफूलाई खत्तम गर्न उनीहरू तयार छन् । नेपालका माओवादी गुरिल्ला पनि भन्थे– ‘टाउकोमा कात्रो बाँधेर लड्न गएको छु ।’ यो आत्मदाहकै एउटा रूप हो । अफगानिस्तान, भारत, बंगलादेश, श्रीलंकामा जे जे भइरहेका छन्, नेपालमा पनि ती नहोलान् भन्न सकिन्नँ । यत्ति हो, हामीले ‘सेल्फ डिस्ट्रक्सन’मा जाने आतंकवाद देखेका छैनौँ । त्यसलाई कोरा नाटकीय भन्नु मूर्खता हो कि ?
उपन्यासमा अरोजासँग साह्रै डिप रिलेसनसिपमा रहने ‘म’ पात्र तपाईं आफैँ हो भनिन्छ नि †
त्यो पात्रसँग मेरो जीवन कहीँ पनि मिल्दैन । तर, सौभाग्य वा दुर्भाग्य जे भने पनि, मान्छेले मलाई त्यसरी हेरेका छन्, जुन म होइन । म व्यक्तिगत रूपमा निकै ‘लिबरल’ खालको छु । विदेशमा पढेँ, त्यहाँको समाज देखेँ । नेपाली समाजले मलाई पञ्चायतकालदेखि नै फरक रूपले हेर्दै आएको हो । जतिबेला मैले अमेरिकाबाट फर्केर देशान्तर साप्ताहिक सुरु गरेको थिएँ, उतिबेला पनि मलाई थुपै्रले ‘सोफिस्टिकेटेड’ मान्छे हो भन्थे । किनभने मेरा रुचि नेपाली समाजका लागि असामान्य थिए । जस्तो: म ब्रान्डेड कपडा लगाउँथे, अलि स्तरीय ह्विस्की पिउँथेँ, अलि रामै्र सिग्रेट पिउँथे । अहिले पनि मेरो रुचि उस्तै छ । म व्यक्तिगत रूपमा सोखिन छु । र, मान्छेहरू ‘यो अर्कै मान्छे हो’ भन्थे । तर, म अरू नेपालीजस्तै काम गरेर खाने सामान्य मान्छे हुँ । यत्ति हो, म बढी मानसिक श्रम प्रयोग गर्छु ।
तपाईंलाई साहित्यमा असफल र पत्रकारितामा सफल भन्न मिल्छ कि मिल्दैन ?
म असफल साहित्यकार होइन । किनभने मेरा निबन्धलाई धेरै लेखकले कालजयी भनेका छन् । मलाई ट्रेन्ड सेटर मानेका छन् । नेपाली निबन्धमा शंकर लामिछानेपछिको सबैभन्दा राम्रो प्रयोगवादी निबन्धकार पनि भनेका छन् मलाई समालोचकहरूले । पक्कै पनि यी सबै ‘इन्डिकेटर’ असफलताका होइनन् । सफल हुन राम्रो लेख्नुपर्ने कि उसका किताब धेरै बिक्री हुनुपर्ने हो ? प्रजातन्त्र स्थापनापछि मैले पनि लेख्न कम गरेँ । र, गम्भीर साहित्य पनि लेख्न कम भयो । अहिले दैनिक अखबारहरूले परिशिष्टांक निकालेर साहित्यलाई थेगिरहेका छन् । र, पत्रकारितामा सफलता के हो भन्ने पनि मलाई थाहा छैन । तर, यतिचाहिँ थाहा छ– म खरो पत्रकार हुँ ।
सौर्य दैनिकको ‘कलम’मा छापिएको एउटा लेखमा सौरभले ‘साहित्य मेरो लागि रछ्यान’ भनेका छन् र ‘नेपाली साहित्य नपढेर कुनै घाटा छैन’ भनेका छन् । यसमा तपाईंको टिप्पणी ?
उनले के भने भन्ने कुरामा म कुनै टिप्पणी गर्दिनँ । मलाई लाग्छ, साहित्य कहिल्यै रछ्यान हुँदैन । भाषा र विम्बको प्रयोग जस्तोसुकै होस्, यसले देशलाई मजबुत गर्न ठूलो योगदान दिएको हुन्छ । ‘ओरिएन्टेसन’ नै फरक भएर पनि साहित्य खस्केको हो । तर, नेपाली साहित्यलाई त अहिलेकै साहित्यले धानेको छ नि † नेपालीले नेपाली साहित्य नपढेर मानसिक रूपले, बौद्धिक रूपले, राष्ट्रिय रूपले, आर्थिक रूपले नेपालीलाई घाटा हुन्छ । नेपाली साहित्य नपढ्नु भनेको ‘म नेपाल आमाको छोरो होइन भन्नु’ जस्तै हो । त्यही भाषामा पढेर ठूलो मान्छे बन्ने र अहिले नेपाली साहित्य पढ्दिनँ भन्नु व्यर्थको दम्भ र मूर्खतामात्रै हुन् । साहित्य बहुराष्ट्रिय हुन्छ । भलै, नेपालमा त्यस्तो साहित्य नलेखिएकै होस् ।
पछिल्लो समय मदन पुरस्कार पाउने किताबहरूको साहित्यिक मूल्य कति छ ?
मदन पुरस्कार पाएका किताबलाई ‘ती किताबले मदन पुरस्कार पाउनु हुन्छ कि हुन्न ?’ भनेर हेरेकै छैन मैले । म मदन पुरस्कारलाई साहित्यिक उत्कृष्टताको मापदण्ड मान्दिनँ । यो पनि अरू पुरस्कारजस्तै सामान्य पुरस्कार हो । मदन शमशेरको नाममा स्थापित एउटा पुरस्कारमात्रै हो यो । फरक यति छ कि यसमा अरूमाभन्दा धेरै पैसा पाउँछ । स्रष्टाको सिर्जनाभन्दा पनि समाजको अरू ‘डाइनामिक्स’ हेरेर यो पुरस्कार वितरण गरिन्छ कि जस्तो लाग्छ मलाई ।
तपाईंले कहिल्यै मदन पुरस्कार गुठीमा आफ्नो किताब दर्ता गराउनुभएको छ ?
मेरो निबन्धसंग्रह ‘चिन्ताका क्षणहरू’ लगेर दर्ता गरेको थिएँ, ०३८/०३९ सालतिर । त्यस किताबले मदन पुरस्कार पाउने खुब चर्चा थियो त्यतिखेर । सञ्चालक समितिमा बस्नुभएका महत्त्वपूर्ण साहित्यकार धु्रवचन्द्र गौतमले भन्नुभएको थियो–तपाईं ‘फस्ट रनरअप’मा हुनुहुन्छ । तर, मैले मदन पुरस्कार पाउँछु भन्ने आकांक्षामा लेखेको थिइनँ । पाइनँ पनि र निराश पनि भइनँ । यतिचाहिँ लाग्छ– मेरो कृतिको यथोचित मूल्यांकन गरिएन ।
पछिल्लो समय मदन पुरस्कारको साख गिरेजस्तो तपाईंलाई लाग्दैन ?
म कुनै पनि पुरस्कारको विषयमा चर्चा गर्न चाहन्नँ । प्राय: लेखकले पुरस्कार पाउने हिसाबले लेख्छन् होला । तर, मैले पुरस्कार पाउने हिसाबले कहिल्यै लेखिनँ । म पद, पदवी र पुरस्कारमा कहिल्यै लागिनँ । मैले चाहेको भए थुपै्रपटक थुप्रै पुरस्कार पाउन सक्थेँ होला ।
यौन र प्रेमबीचको सम्बन्ध कस्तो हुन्छ ? यो विषयले नेपाली साहित्यमा ‘डिर्जभिङ’ स्थान पाएको छ कि छैन ?
यौनमात्रैले त अहिले डिर्जभिङमात्रै होइन, ‘महा–डिर्जभिङ’ स्थान पाएको छ । यौन र प्रेमलाई ‘मिक्स’ गरेर लेख्नुपर्छ । तपाईंले भन्नुभएको यौन महिला र पुरुषबीचको समागम मात्र हो भने त्यो यौन नै होइन, वासनामात्रै हो । यौन मनोवैज्ञानिक कुरा हो । यसको विद्रुप रूप ब्रह्माले सरस्वतीलाई लखेटेको प्रसंगमै हेर्न सक्नुहुन्छ । यौन र प्रेम जहिल्यै जटिल अवस्थामा हुन्छन् । त्यसलाई नेपालमा राम्रोसँग केलाएर लेख्ने मान्छे बिपी कोइराला हुन् । विजय मल्ल, पोषण पाण्डेहरू पनि यौन मनोविज्ञानलाई साहित्यमा राम्ररी पस्कने लेखक हुन् । यौन र प्रेमबारे लेख्न लेखकहरूले थुप्रै अध्ययन गर्नुपर्ने हुन्छ । फ्रायडियन पद्धतिको अध्ययन पुगेको छैन, नयाँ लेखकहरूमा । प्रेम यौननिरपेक्ष हुन्छ/हुँदैन भन्ने बहस हुनु जरुरी छ ।
नेपालले भोगेको दश वर्षे द्वन्द्वलाई नेपाली साहित्यले कुन हदसम्म उपयोग गरेको छ ?
नेपाली साहित्यले कुनै उपयोग गर्न सकेको छैन । युद्धमा लागेकाहरूले आफ्नो अनुभव लेखेका छन् बायोग्राफीका रूपमा । र, ती अत्यन्त सतही छन् । टेलिभिजन कार्यक्रमका क्रममा म देशैभरि डुलेँ । मैले युद्धलाई नजिकबाट देखेको छु । सामाजिक संरचना भत्किएका छन्, मान्छेबीचको सद्भाव बिथोलिएको छ । यसपछि आतंकवाद सुरु हुन्छ । आजको नेपाल दशक लामो युद्धको तातो भुंग्रोमा पसेको छ । अहिलेको साहित्यमा द्वन्द्वको प्रत्यक्ष अनुभव छ । तर, द्वन्द्वमा निरपेक्ष भएर कसैले पनि लेख्न सकेको छैन । युद्धले नेपाली समाजमा पारेको प्रभाव वा यसले समाजलाई कसरी छिन्नभिन्न पार्छ भन्ने कुरा साहित्यमा आउन सकेको छैन ।
तपाईंलाई अन्तर्वार्ता दिन कस्तो लाग्छ ?
कहिले झर्को लाग्छ, कहिले रमाइलो । टेलिभिजनमा जब प्रश्न सोधिन्छ, त्यसमा मौलिकता हुँदैन, वा त्यो प्रश्न रोचक हुँदैन, उसलाई प्रश्नको जवाफ के हुनुपर्छ भन्ने थाहा हुँदैन, त्यो बेला बडो झर्कोलाग्दो हुन्छ । पत्रपत्रिकामा पनि बुझ्दै नबुझेको कुरामा प्रश्न सोध्ने वा एडिटरले लेखिदिएका प्रश्नमात्र सोध्ने पत्रकारसँगको अन्तर्वार्ता झर्कोलाग्दो हुन्छ । ‘इन्टेलिजेन्ट’ र मौलिक प्रश्नहरू आउँदा निकै रमाइलो लाग्छ ।
उपन्यास वा कथामा पात्र छनोट आफ्नै भोगाइका आधारमा गर्नुहुन्छ कि कल्पनाको आधारमा ?
म मनमै ‘स्ट्रक्चर’ बनाउँछु र ‘फस्ट ड्राफ्ट’ बनाउँछु । र, रिराइट गर्छु । कुनै कर्मकाण्डीय बाहुनजस्ता विद्वान्ले भनेजस्तो कुनै नियममा बाँधिएर म लेख्दिनँ । ‘सहरको कथा’मैले सातपटक पुनर्लेखन गरेँ । ‘सहरको कथा’ म न्युयोर्क जाँदा कामबाट बचेको खाली समयमा ट्रेनमा हिँडिरहँदा मेरो ब्ल्याकबेरी स्मार्ट फोनमा तीन खण्ड लेखेँ, अंग्रेजीमा ।
साहित्यकार कोमल चरित्रका हुन्छन् भनिन्छ । तपाईंचाहिँ
खरो हुनुहुन्छ, बाघजस्तो † अलिक ‘इन्कम्प्याटिबल’ भएन र ?
यस्तो सोच्नुहुन्छ भने तपाईंले मेरो संगत गर्नुभएको छैन । म साह्रै कोमल मान्छे हुँ । म पत्रकारितामा खरो छु । मेरो बाहिरी ‘अपियरेन्स’ चाहिँ खरो देखिन्छ । मैले पत्रकारिता सिकाएका मान्छेहरू अहिले देशैभरि राम्रो पदमा काम गरिरहेका छन् । म त्यति खरो भएको भए म उनीहरूलाई सिकाउनै सक्दिनथँे । त्यसैले मेरो स्वभाव र चरित्रबीच बेमेल छ जस्तो मलाई लाग्दैन ।
तपाईंको भाषा मीठो छ तर कन्टेन्ट निकै कमजोर हुन्छ भनेर आरोप लगाउने पनि छन् नि †
मेरो ‘कन्टेन्ट’ कमजोर हुँदैन । मान्छेको समस्या के भने, उनीहरू कुन लेखाइ बलियो र कुन कमजोर हो भन्ने नै बुझ्दैनन् । किशोर नेपालको स्तम्भ वा लेख बुझ्नलाई किशोर नेपालको जति अध्ययन पनि हुनुपर्‍यो नि † कन्टेन्ट भनेको के हो, त्यो पनि थाहा पाउनुपर्‍यो । कसैले भाषाको भरमा ४० वर्षदेखि टुप्पोमा बसेर पत्रकारिता गर्न सक्छ ?
हामीकहाँ लेख्नको लागि थुप्रै भर्जिन विषय छन् । तर, ती विषयमा लेखिएको छैन भन्ने लाग्दैन ?
थुप्रै छन् भर्जिन विषय । नेपालको साहित्य समग्रतामा हेर्नु हो भने भने कति ‘कम्पोनेन्ट’ वल्र्ड क्लासका छन् । कति कम्पोनेन्ट अझै प्रशोधन गर्न पुगेको छैन । प्रजातन्त्रपछि पनि बौद्धिक हिसाबले साहित्यको विकास हुनै सकेन । यहाँ साहित्यकार को हुन्छ ? सरकारी सेवाको उपसचिव, सहसचिव हुन्छ । वा, तीमध्ये कतिचाहिँ प्रमोसन नपाएको कुण्ठा बोकेर कथा लेख्छन् । प्रमोसन नपाएको कुण्ठा साहित्य रे ? योभन्दा मानिसिक दरिद्रता अरू के होला ? कमिसन खान नपाएपछि आक्रोशमा कविता लेख्छन् । यहाँ बुद्धिजीवी निकै कम छन् । त्यसैले ‘बुद्धि’ यहाँ पेसा हुन सकेकै छैन ।
तपाईंलाई मन पर्ने कवि/साहित्यकार ?
लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, शंकर लामिछाने, विजय मल्ल, प्रेमा शाह, मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, कृष्णभूषण बल, भुवन ढुंगाना, पोषण पाण्डे, विश्वम्भर चञ्चल, शंकर कोइराला, तोया गुरुङ आदि ।
अबका पुस्ताले पढ्नैपर्ने किताब ?
लक्ष्मीप्रसाद देवकोटाका सबै किताब, प्रेमा शाहको ‘पहेँलो गुलाब’, शंकर  लामिछानेका सबै किताब, भूपी शेरचनका कविता, मोहन कोइरालाका कविता । वल्र्ड लिट्रेचरमा विचारोत्तेजक कुराका लागि भिएस नएपल पढ्दा राम्रो । लाइट रिडिङमा चेतन भगत पढे भइहाल्यो । वल्र्ड क्लासिक लिट्रेचर पनि पढ्नुपर्छ ।
साहित्यमा वा लेखनमा उमेरले केही प्रभाव पार्छ कि ? उमेर बढ्दै जाँदा लेखाइ परिमार्जन हुँदै जाने कुरा हो ?
मान्छेको शरीरमात्रै बुढो हुन्छ– मनमस्तिष्क र विचार सधैँ तन्नेरी हुन्छ । २० वर्षको उमेरमा जे सोच्थेँ, अहिले त्यसलाई ‘म्याचुअर’ रूपले सोच्छु म । तर, ‘फन्डामेन्टल’ परिर्वतन केही हुँदैन । मेरो ‘कान्तिपुर गाथा’ पढ्नुस्, म लेखाइमा कति युवा छु, थाहा हुन्छ । ममा युवाको भन्दा बढी ऊर्जा हुनसक्छ । त्यति लामो संघर्ष गरेर आएका नेता त परिपक्व छैनन् भन्नेबाट बुझिन्छ– मान्छेलाई उमेरले परिपक्व बनाउँदैन ।

प्रस्तुति : दीपक सापकोटा/सुजित मैनाली

प्रतिक्रिया