एसएलसी दिँदै ५८ वर्षीया महिला

Slc-पाँचथर, २ चैत । हाङगुम–२ की ५८ वर्षीया लालकुमारी शेर्माले एसएसी परीक्षा दिएकी छिन् । शेर्माले इन्द्रेणी उच्च माविबाट एसएलसी परीक्षाका लागि फाराम भरेर परीक्षामा सामेल भएकी हुन् । आरुबोटे परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी शेर्माले दोस्रो दिनको नेपालीको परीक्षा पनि दिएको केन्द्राध्यक्ष पुण्यप्रसाद तिम्सिनाले जानकारी दिए ।

यस्तै, मौवा परीक्षा केन्द्रबाट ५३ वर्षीय मानबहादुर शेर्माले पनि परीक्षामा सहभागिता जनाएका छन् । माङ्जाबुङका शेर्माले आरुबोटे उच्च माविबाट परीक्षामा सहभागिता जनाएका हुन् ।
शुक्रबार विष्णु उच्चमावि परीक्षा केन्द्रका पाँच परीक्षार्थीले परीक्षा दिएनन् । केन्द्राध्यक्ष अग्निप्रसाद पाठकका अनुसार विवाह गरेर गएका हुनाले नियमितका ३ र एक्जाम्टेडका २ परीक्षार्थीले परीक्षा नदिएका हुन् । एसएलसी परीक्षा आचारसंहिताविपरीत कार्य गरेको पाइएपछि पाँचथर रानीटार उच्चमावि परीक्षा केन्द्रका दुई निरीक्षकलाई निष्कासित गरिएको छ ।
इलाममा एसएलसी परीक्षामा उत्तरपुस्तिका च्यातेर परीक्षा रद्द गर्ने परीक्षार्थी पक्राउ परेका छन् । चुलाचुलीस्थित जनता उच्च माध्यमिक विद्यालय ‘ख’ परीक्षा केन्द्रमा सहभागी खगेन्द्र दर्नाल उत्तरपुस्तिका च्यातेको आरोपमा पक्राउ परेका हुन् ।
सप्तरीमा परीक्षामा अमर्यादित कार्य गर्ने चार निरीक्षकलाई निष्कासन गरिएको छ । शिक्षा कार्यालय सप्तरीबाट अनुगमनमा गएको मोबाइल टोलीले उनीहरूलाई निष्कासन गरेको हो । हनुमाननगरस्थित महावीर उच्चमावि परीक्षा केन्द्रबाट गजेन्द्र मण्डल र शम्भु ठाकुर तथा राजविराजस्थित लिटिल फ्लावर परीक्षा केन्द्रबाट सन्दीप देव र प्रमोद किशोरलाई निष्कासन गरिएको शिक्षा अधिकारी रुद्रहरि भण्डारीले जानकारी दिए ।
मोरङमा हसन्दहस्थित अमरसिंह उच्च मावि परीक्षा केन्द्रमा नक्कली निरीक्षक कारबाहीमा परेका छन् । परीक्षा केन्द्र रहेकै अमरसिंह उच्च माविमा कार्यरत नेपाली शिक्षक गणेश लुइँटेल शुक्रबार भएको सोही विषयको परीक्षा हलमा डुलिरहेका अवस्थामा पक्राउ परेका थिए । सञ्चारकर्मीमाथि दुव्र्यवहार
रौतहटमा एसएलसी परीक्षाको समाचार सम्प्रेषण गर्न गएका सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको छ ।
सन्तपुरस्थित सुवलाल भागवत उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष सुरेन्द्र सिंहले सञ्चारकर्मीलाई परीक्षा केन्द्रभित्र दुव्र्यवहार गरेका हुन् । जिल्ला परीक्षा सञ्चालन समितिले तोकेको आधिकारिक अनुगमन टोलीसँग परीक्षा केन्द्रमा प्रवेश गरेका सञ्चारकर्मीले नक्कली निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेको दृश्य खिचेपछि केन्द्राध्यक्ष सिंहले अनुगमन टोलीकै अगाडि सञ्चारकर्मीलाई परीक्षा केन्द्रबाट बाहिर जान निर्देशन दिएका थिए । परीक्षा केन्द्रभित्र अनुगमनमा रहेका सशस्त्र प्रहरीका डिएसपी प्रमोद भारती, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रशासकीय अधिकृत किरणनिधि तिवारीलगायतले अनुगमन टोलीसँग सञ्चारकर्मीलाई प्रवेशको व्यवस्था गरिएको जानकारी गराउँदा–गराउँदै पनि सोही विद्यालयका प्रधानाध्यापकसमेत रहेका सिंहले आफूलाई कुनै निर्देशन नभएकाले परीक्षा हलमा प्रवेश नगर्न निर्देशन दिएका थिए । अनुगमन टोलीले परीक्षा कोठाभित्र चिट खोसेको दृश्य सञ्चारकर्मीले खिचेपछि केन्द्राध्यक्ष सिंहले आक्रोशित बन्दै अपशब्द प्रयोग गरेका थिए ।
सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहटले खेद व्यक्त गरेको छ । अध्यक्ष शैलेन्द्रकुमार गुप्ताले विज्ञप्ति जारी गरेर केन्द्राध्यक्ष सिंहको व्यवहारप्रति महासंघले आपति जनाउँदै कारबाहीको माग गरेका छन् ।
परीक्षाको दोस्रो दिन प्रहरीले विभिन्न परीक्षा केन्द्रबाट चारलाई पक्राउ गरेको छ । उच्चमावि सिमरा भवानीपुर परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । मकवानपुर बुढीचौर–२ की सुशीला गौतमलाई अरूको सट्टा परीक्षा दिँदै गर्दा अनुगमन टोलीले पक्राउ गरेको हो । सिम्बोल नम्बर ०३५६६८८ सी का सट्टामा नक्कली परीक्षार्थी गौतमले परीक्षा दिइरहेकी थिइन् । यसैगरी, जबर्जस्त चिट चोराउन खोज्ने बारा बिसुनपुरवा–६ का रामपुकार पासवान र ललितपुर देवीचौर–६ का जयराम सापकोटालाई प्रहरीले जनता उच्चमावि कटहरियाबाट पक्राउ गरेको छ । यसैगरी, परीक्षा केन्द्रमा अनुगमन टोली आएको देखेर कक्षा कोठाबाट भाग्दै गरेका जितेन्द्र कलवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । उच्चमावि राजपुर परीक्षा केन्द्रमा चेकजाँच गर्न अनुगमन टोली आएको देखेपछि कलवार प्रश्न पत्र र उत्तरपुस्तिका छाडेर भागेका थिए ।

प्रतिक्रिया