कडा कारबाहीको ‘डर’ले एसएलसी मर्यादित

काठमाडौं, १ चैत । एसएलसी परीक्षा पहिलो दिन बिहीबार छिटफुट घटनाबाहेक मर्यादित भएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा विगतमा भन्दा मर्यादित भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

अमर्यादित कार्य गर्ने विद्यार्थीलाई कडा कारबाही गर्ने भनिएपछि पहिलो दिनको परीक्षा मर्यादित भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए । ‘छिटफुट घटनाबाहेक विगतमा भन्दा यसपटक परीक्षा मर्यादित रूपमा सुरु भएको छ, परीक्षा नियन्त्रक बरालले भने । बरालका अनुसार सप्तरी जिल्लामा चिट चोर्ने २० जनालाई निष्कासन गरिएको छ भने जाजरकोटमा ९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चिट चोर्ने विद्यार्थीले दुई वर्षसम्म परीक्षा दिन नपाउने भएका छन् । नक्कली परीक्षार्थी राख्ने विद्यार्थी पनि २ वर्ष परीक्षा सहभागी हुने पाउने छैनन् । नक्कली परीक्षार्थीलाई १ लाख जरिवाना र ६ महिना कैद गरिने बरालले बताए । शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुँदै छ ।
बिहीबार सुरु एसएलसी परीक्षामा देशभरका ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थी सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ विद्यार्थीका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएका छन् । सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाका लागि २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, १ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रत्येक केन्द्रमा १० जनाको दरले सुरक्षाकर्मी खटाइएको छ । आवश्यक भए थप सशस्त्र प्रहरी पनि परिचालन गरिने परीक्षा नियन्त्रक बरालले बताए । यस वर्षको परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ८६ केन्द्र र मनाङ तथा मुस्ताङमा एक/एकवटा केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया