जाजरकोटमा निरीक्षक निष्काशित

Jasbir-Budaजाजरकोट, १ चैत । जाजरकोट जिल्लामा प्रवेशिका परीक्षा एसएलसीमा आफ्नो मर्यादा विपरित कार्य गर्ने एक निरीक्षक निष्काशित भएका छन् ।
मदिरा सेवन गरेर परीक्षा केन्द्रमा प्रवेश गरेका लक्ष्मी माध्यामिक विद्यालय पुन्मा–५ का शिक्षक जसवीर बुढालाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । बुढाले परीक्षा सुरु भएको एक घण्टामै प्रश्नपत्र आउट समेत गरेका थिए ।
निरीक्षक बुढालाई सदरमुकाम खलंगाको त्रिभुवन उच्च मावि परीक्षा केन्द्रबाट नियन्त्रणमा लिईएको हो । परीक्षा सुरु भएको एक घण्टापछि उनी प्रश्नपत्र लिएर बाहिर आएका थिए ।
उनको गतिविधि शंकास्पद देखिएपछि खानतलास गर्दा केरमेट गरिएको प्रश्न पत्र भेटिएको प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिए । उनलाई मेडिकल जाँच पछि जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
परीक्षा अवधिभर निरीक्षक बस्न नपाउने गरी बुढालाई निष्कासनसहित कारबाही गरिने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए ।
जाजरकोटमा यस वर्ष एसएलसीमा १८ परीक्षा केन्द्रबाट नियमिततर्फ तीन हजार आठ सय ७२ विद्यार्थीले परीक्षा दिएका छन् ।
यसैबीच रुकुमको चौरजहारी परीक्षा केन्द्रमा एक छात्रा वेहोस भएकी छन् । शीतल उच्च माध्यामिक विद्यालय चौरजाहारी केन्द्रमा खुल्ला विद्यालयवाट परीक्षामा सामेल उर्मिला रिजाल वेहोस भएकी हुन् ।
होसमा आएपछि उनलाई थप समय दिएर परीक्षामा सामेल गराएको छ ।

प्रतिक्रिया