पन्ध्र करोडको कारोबार

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको दुई लाख २५ हजारले अवलोकन गरेका छन् । २२ फागुनदेखि सुरु भएको सो महोत्सव बुधबार सम्पन्न हुँदासम्म करिब १५ करोड रुपियाँको कारोबार भएको अनुमान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गतवर्ष पहिलो अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न गरेको थियो । अर्को वर्ष पनि यही अवधिमा मेला आयोजना हुने महासंघले बताएको छ । व्यापार मेला–२०१४ का लागि भारतीय, बंगलादेशी, चीन, पाकिस्तानलगायतका करिब एक सय कम्पनीले बुकिङ लिइसकेको महासंघले जनाएको छ ।
महासंघले सरकारका मन्त्री, नेपालस्थित विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका पदाधिकारी, सरकारका मुख्यसचिव, सचिव, उच्च सरकारी अधिकारीलाई आभार व्यक्त गरेको छ । मेलाको अनुभवलाई लिएर महासंघले अर्को वर्ष मेलामा सहभागी देशहरूको संख्या बढाउन रणनीतिक रूपमै अगाडि बढ्ने योजना बनाएको छ । मेलाका क्रममा प्लास्टिक्स, कस्मेटिक्स, लेदर र गार्मेन्ट उत्पादनका विषयमा विटुवी व्यावसायिक भेटघाटसमेत सम्पन्न गरेको छ ।
नेपाललगायत भारत, पाकिस्तान, बंगलादेशलगायतका देशहरूको सहभागिता रहेको मेलामा तीन सय ५० स्टलमार्फत ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको थियो । मेलामा लत्ता–कपडा, सूचना प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यावसायिक कृषि उत्पादनहरू राखिएको थियो । नेपालको स्टलमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० अन्तर्गत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुको प्रवद्र्धनमा विशेष जोड दिइएको थियो ।

प्रतिक्रिया