एमालेका अध्यक्षलाई अनेरास्ववियुका २५ जनाको चुनौती

अनेरास्ववियुको सम्बन्धमा २०६९ पौष २१ गते हाम्रो पार्टी नेकपा एमाले स्थायी कमिटीले गरेको निर्णय भनी २०६९ फागुन १७ गते पार्टी केन्द्रीय सचिवालयको नामबाट विद्यार्थी फाँट प्रमुखलाई ‘निर्णय कार्यान्वयन गर्नुहुन’ भन्ने बेहोराको पत्र अनेरास्ववियुका पदाधिकारीको बीचमा अनौपचारिक रूपमा पढेर सुनाउनुको साथै उक्त पत्र हातमा थमाइएको छ । त्यसलाई हामीले पार्टी निर्देशनका रूपमा बुझेका छाँै तर पत्रमा उल्लिखित विषयवस्तुले हामीलाई अत्यन्त गम्भीर बनाउनुका साथै आश्चर्यचकित पारेको छ । पार्टी स्थायी कमिटीको निर्णय भनी आएको यस पत्रले हामीले भन्दै आएको आन्तरिक लोकतन्त्र, न्याय, समानता र सुरक्षा जस्ता मूल्य र मान्यताहरूलाई उल्लंघन गर्ने र गुटस्वार्थलाई सहयोग पुर्‍याउने देखिन्छ ।
हामीले विगतमा संगठनमा देखिएका विवाद र नयाँ आयोजक कमिटी गठनसम्बन्धमा पटकपटक पार्टी नेतृत्व र विद्यार्थी फाँट प्रमुखलाई लिखित र मौखिक रूपमा दिएको सुझाव, जानकारी, ध्यानाकर्षण पत्र र ज्ञापन पत्रलाई समेत बेवास्ता गरिएको छ । यसले पार्टी र अनेरास्ववियुलाई कमजोर र बदनाम बनाउने मात्र होइन, नेविसंघ र कांग्रेसभन्दा तल्लो स्तरको नियतिमा पुगेको हामीले महसुस गरेका छौँ । हामीले दिएका लिखित तथा मौखिक सुझावहरूलाई गम्भीरताका साथ छलफल नचलाइएकाले हाम्रो यथार्थ कुरा पार्टी स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा भ्रमपूर्ण रूपमा पुगेको छ भन्ने हामीलाई लागेको छ । यसर्थ यस विषयमा हामीसँग प्रत्यक्ष छलफल गरेर पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीमा एजेन्डा बनाउँदै छलफल गराई पार्टीले अहिले गरेको निर्णय फिर्ता गरी संगठनमा योग्यता, क्षमता, क्रियाशीलताका साथै संगठनभित्र रहेको मनोविज्ञानलाई समेत सम्बोधन गरी नयाँ प्रक्रियाबाट आयोजक कमिटी गठन गर्न माग गर्छौं ।
केही तथ्यगत सन्र्दभहरू
१. उक्त पत्रको निष्कर्ष अनेरास्ववियुले आफ्नो निर्णय आफैँ गर्ने क्षमता गुमाइसको छ भन्ने हो । विगतमा पनि अनेरास्ववियुभित्र विवादहरू नदेखिएका होइनन् तर ती विवादहरूको समाधानको पहलकदमी पार्टीले गरे पनि अनेरास्ववियुको गरिमा, स्वत्व, विधि र विधानका आधारमा सम्बन्धित कमिटीबाटै निर्णय लिने गरिन्थ्यो । यदि ‘अनेरास्ववियुको नेतृत्वले निर्णय क्षमता गुमाइसकेको छ’ भन्ने पार्टीको निश्कर्ष हो भने निर्णय क्षमता गुमाइसकेको नेतृत्वलाई नै संगठनको जिम्मा दिनु अनुपयुक्त छ ।
२. अनेरास्ववियुको सम्बन्धमा बनेको कार्यदलको प्रतिवेदनका आधारमा २१औं राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन गरिएको भनिएकाले नयाँ कमिटी गठनपूर्व कार्यदलको प्रतिवेदन कमिटीमा स्पष्ट जानकारी गराइनु पथ्र्यो । प्रतिवेदनबारे कसैलाई कुनै जानकारी नदिई जुन निर्णय गरिएको छ त्यसले यस विषयलाई अपारदर्शी बनाइदिएको छ ।
३. बीसौं राष्ट्रिय सम्मेलनबाट निर्वाचितहरूलाई एकपटक सोधनीसमेत नगरी हटाउने कुरा पार्टी संचालनको न्यूनतम लोकतान्त्रिक मूल्य र मान्यताविपरीत पनि छ । साथै, पार्टीले दिएको पत्रमा उल्लिखित नामावली हेर्दा, मनोनितमध्ये पनि जिम्मेवारी पाएका व्यक्तिको निजी चाहना अनुकूलताका व्यक्तिलाई मात्र राख्ने कुरा पूर्वाग्रही, पक्षपातपूर्ण र गुटबन्दीपूर्ण छ । पत्रमा उल्लिखित नामावलीसँग सम्बन्धित केही तथ्यहरू:–
क) मौजुदा ५४ सदस्यीय सचिवालयमध्ये २ जनाले पार्टी परित्याग गरिसकेपछि बाँकी ५२ जनामध्ये २०औं राष्ट्रिय सम्मेलनमा निर्वाचित भएका तर हाल नेतृत्वको कार्यशैलीप्रति असहमति राख्ने ३ जनालाई हटाइएको छ भने अर्को पक्षबाट निर्वाचित भएर आएका १० जनालाई हटाइएको छ ।
ख) निर्वाचित केन्द्रीय सदस्यमध्ये ८५ जनालाई हटाइएको छ । हटाइएका साथीहरूलाई पनि किन हटाइयो भन्ने स्पष्ट छैन ।
ग) बीसौं राष्ट्रिय सम्मेलनपश्चात मनोनित एक सय ५३ मध्ये २६ जनालाई अव बन्ने भनिएको आयोजक कमिटिमा राखिएको छ ।
घ) निर्वाचित र मनोनित गरी बनेको तीन सय ५३ सदस्यीय केन्द्रीय कमिटीमा क्षमता, योग्यता, क्रियाशीलता रहेका र अखिलभित्र सम्भाव्यता बोकेका साथीहरूलाई पक्षपातपूर्ण, गुटबन्दीपूर्ण दृष्टिकोणका कारण हटाइएको स्पष्ट छ, जुन किमार्थ स्वीकार्यछैन ।
ङ) गुन्डागर्दी, ठेक्कापट्टासँगै पार्टी र संगठनको बदनाम गर्ने गरी पदीय दुरूपयोग गरेका व्यक्तिहरूको नाम भने आयोजक कमिटीमा राखेको देखिन्छ । यसले संस्थागत अराजकता र गुन्डागर्दीलाई प्रश्रय दिने काम भएको छ ।
४. अनेरास्ववियुको आयोजक कमिटी बनाउने सन्दर्भमा पार्टी (कार्यदल)ले बनाएको मापदण्ड नै अवैज्ञानिक र पक्षपातपूर्ण रहेको छ । पार्टीका मापदण्डहरूमा कारबाही भएका, नियमित विद्यार्थी नरहेका, कारबाहीको सिफारिसमा परेका, दोहोरो जिम्मेवारी भएका कार्यक्षेत्रमा नरहेका, विदेश गएका, पेसा व्यवसायमा लागेका भन्ने उल्लेख गरिएको छ । ति मापदण्डहरूको कुनै स्पष्ट परिभाषा नगरिएको हुँदा कुन व्यक्ति कुन मापदण्ड अन्तर्गत पर्छ भन्ने स्पष्ट हुँदैन । यसरी मापदण्ड नै अस्पष्ट बनाएर गरिएको निर्णय स्वत: अस्पष्ट र मनोमानीपूर्ण छ । तसर्थ, मापदण्डका बारेमा केही सन्दर्भ उल्लेख गर्नु उपयुक्त हुनेछ :
क) कारबाही भएका: कस्तोलाई कारबाही भएको मान्ने ? संगठनको आन्तरिक जीवनमा एकपटक कारबाही भोगेका र पुन: संगठनको काममा फर्किसकेकालाई यो मापदण्ड लागू गरेको देखिन्छ । यो मापदण्ड नै अन्यायपूर्ण छ ।
ख) नियमित विद्यार्थी हुनुपर्ने : नियमित विद्यार्थीको परिभाषा के हो ? अनेरास्ववियुको विधानमा उल्लेख भएअनुसार शैक्षिक सत्र सकिएको दुई वर्षसम्मको अवधिलाई विद्यार्थी मान्ने भन्ने उल्लेख छ । के अनेरास्ववियुको आयोजक कमिटीमा राखिएकाहरू नियमित विद्यार्थी हुन् त ? जबकि २० वर्ष पहिले एसएलसी पास गरेका र हालसम्म क्याम्पसस्तरको कुनै पनि योग्यता हासिल नगरेका साथीहरू पनि यस कमिटीमा राखेको देखिन्छ ।
ग) कारबाहीको सिफारिस भएका : कारबाहीको सिफारिस भनिए पनि कार्यदलले कोकोलाई केके कारणले कारबाहीको सिफारिस गरेको थियो भन्ने स्पष्ट छैन । त्यसैले यो विषयमा अनेरास्ववियुको केन्द्रीय कमिटीमा प्रतिवेदन सुनाई यसको स्पष्ट व्याख्या गरिनुपर्छ ।
घ) दोहोरो जिम्मेवारी : दोहोरो जिम्मेवारीको परिभाषा के हो ? ‘पार्टी नियमावली–२०५७’ (२०६६ को संशोधनसहित) को परिच्छेद ५ को दफा १६ पदरिक्तता अन्तर्गत क ७ अनुसार ‘पार्टीको जिल्ला र सो माताहत कमिटीका पदाधिकारी कुनै जनसंगठनको केन्द्रीय कमिटीको पदाधिकारी तथा सचिवालय सदस्य निर्वाचित भएमा’ (पार्टीको) पदरिक्त हुने भन्ने व्यवस्था छ । तर, माताहतमा भएकाहरूलाई केन्द्रीय सदस्यबाट समेत हटाइएको छ, जुन पार्टी नियमावलीविरुद्ध छ । पार्टीको नियमावलीविपरीत गरिएको निर्णय पालना गर्न पार्टीका कुनै पनि कार्यकर्ता बाध्य हँुदैनन् ।
ङ) कार्यक्षेत्रमा नरहेका : कार्यक्षेत्रमा रहने भनेको के हो ? एकप्रकारले भन्ने हो भने विगत लामो समयदेखि संगठन सांगठनिक गतिविधिका हिसाबले मृतप्राय: अवस्थामा छ । यस्तो अवस्थामा सांगठनिक काममा रहेको/नरहेको भनी मूल्यांकन गर्नु र कमिटीबाट विदा दिने निर्णय अवैज्ञानिक र अन्यायपूर्ण छ । र, कमिटीमा रहेका भनिएका साथीहरूले के काम गरे/गर्‍यौँ ? त्यसको स्पष्ट व्याख्या आवश्यक छ ।
च) कुनै पेसा व्यवसायमा केन्द्रित भएका : अनेरास्ववियुमा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न हुन पाइने हो वा होइन ? पेसा व्यवसाय गर्न कुन स्तरका नेता कार्यकर्ताले पाउने वा नपाउने हो ? स्पष्ट हुनु जरुरी छ । अर्को, एउटा प्रकृतिका काम गर्ने साथीहरूलाई राखिएको छ, भने सोही प्रकृतिको काम गर्नेलाई हटाइएको छ । यसको मापदण्ड के हुने ? अहिलेसम्म अनेरास्ववियुमा पेसा व्यवसाय गर्ने र नगर्नेको योग्यता र अयोग्यतासम्बन्धी मापदण्ड स्थापित गरिएकै छैन । कुनै आम्दानीको स्रोत नदेखिने तर खर्चिलो र तडकभडक जीवनशैली भएकाहरूको विषयमा पार्टीले सोच्ने कि नसोच्ने ? यी प्रश्नहरूको उत्तर अनेरास्ववियुका कार्यकर्ताहरूलाई चाहिएको छ ।
छ) स्वतन्त्र विद्यार्थी युनियनको २०६५ मा निर्वाचित पदाधिकारीहरूलाई हटाएर संगठनबिरोधी बागी उम्मेदवारहरूलाई अहिले केन्द्रीय आयोजक कमिटिमा राखिएको छ । बागीहरूलाई कारबाही गर्नुको सट्टा उनीहरूलाई प्रोत्साहन गरिएको देखिन्छ ।
५. विद्यार्थी इन्चार्जको भूमिकाका सम्बन्धमा,
क) अनेरास्ववियुको फाँट प्रमुख भएर आएपछि भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा क. भानुभक्त ढकालको भूमिका सकारात्मक रहेको थियो । हुन त त्यस बैठकमा पनि संगठन मिलाउने नाममा वैधानिक बाटो हुँदाहुँदै सचिवालय सदस्य मनोनित गरेर संगठनको विधान र परम्परालाई मिच्ने कामको सुरुआत भएको थियो । संगठनको हितका खातिर होला भन्ने हामीले विश्वास गर्‍यौँ । तर, राष्ट्रिय भेलाको तयारी बैठकमा आफू अनुपस्थित भई एकलौटी सदस्यहरू थप्न अनुकुलता सिर्जना गरी विद्यार्थी फाट प्रमुखले संगठनलाई विवादित पार्न थाल्नुभयो ।
ख) राष्ट्रिय कार्यकर्ता भेलापूर्व केन्द्रीय सदस्य मनोनयनको सन्दर्भमा भएको विवाद नमिलाई भेलामा पुर्‍याउने र विवाद सिर्जना गराउने कुरामा समेत इन्चार्जकै मुख्य भूमिका रहेको थियो ।
ग) तेस्रो केन्द्रीय कमिटीको बैठकमा विवाद मिलाउने नाममा जति ठूलो कमिटी बनाए पनि हुन्छ भनेर कमिटीको संख्या तीन सय ५३ पुर्‍याउन (७६ प्रतिशत मनोनित) भूमिका खेल्ने विद्यार्थी इन्चार्ज हाल आएर सानो कमिटी बनाउने भन्दै निश्चित विधि प्रक्रिया पूरा गरेर आएका कार्यकर्ताको राजनीतिक भविष्य समाप्त पार्ने काममा किन लाग्नु भएको हो बुझ्न सकिएन ।
घ) समय हुँदासम्म माताहत कमिटीमा रहेका विवाद मिलाउन भूमिका नखेल्ने (बैठकमा एजेन्डा उठाउँदासमेत थाती राखेको) र कतिपय ठाउँमा विवाद गराउन भूमिका खेल्ने (काठमाडौं भूगोल जिल्ला कमिटी लगायत) र विवादको नाममा अनेरास्ववियुको कमिटीमा छलफल नचलाई विधान सम्मेलन स्थगित गर्न पार्टीलाई गलत ढंगले प्रयोग गरी नियमित प्रक्रिया अगाडि बढ्न नदिने काम भएका छन् ।
ङ) संगठनमा देखिएको अराजकता, गुन्डागर्दी, आर्थिक भ्रष्टीकरण, सांगठनिक विवाद सम्बन्धमा छानविन गर्न गठित कार्यदलको काम कारबाहीलाई विषयान्तर गर्दै कमिटी विघटन गर्ने र कसलाई राख्ने र कसलाई नराख्ने भनी अनावश्यक विवाद सिर्जना गराई संगठन धरासायी बनाइएको छ ।
च) आयोजक कमिटी बनाउँदासमेत वैज्ञानिक विधि र परम्परालाई लत्याउँदै गुटगत मानसिकताबाट ग्रसित भएर कत्ति पनि विवेक प्रयोग नगरी पक्षपातपूर्ण र एकलौटी ढंगले व्यक्तिकेन्द्रित कमिटी सिफारिस गरिएको छ ।
मौजुदा अनेरास्ववियु केन्द्रीय कमिटी असफल भएको हो भने त्यसको प्रमुख नेतृत्व (माधव ढुंगेल)लाई हटाएर आयोजक कमिटि बनाइयोस् अन्यथा पुरानो केन्द्रीय कमिटी (मनोनितसहित) लाई नै आयोजक कमिटीमा रूपान्तरण गरियोस् । यसमा हस्ताक्षर गर्ने हामी सबै अनेरास्ववियुका जिम्मेवार विद्यार्थी नेता हौँ । अहिले पार्टी स्थायी कमिटीको निर्णय भनेर सुनाइएको प्रस्तावले अनेरास्ववियुमा तीव्र प्रतिक्रिया जन्माएको छ । यस विषयलाई तत्कालै समाधान नगर्ने हो भने तलका कमिटी र सदस्यहरू सार्वजनिक रूपले विरोधमा जान सक्ने सम्भावना बढेको र त्यसले हामीलाई समेत प्रत्यक्ष प्रभाव पार्ने हुँदा त्यसो हुन नदिन पाँच दिनभित्रै यस समस्यालाई समाधान गरियोस् भन्ने कुरामा गम्भीरता पूर्वक ध्यानाकर्षण गराउन चाहन्छाँै ।
(नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाललाई अनेरास्ववियुका २५ जनाले बुधबार बुझाएको ज्ञापनपत्रको सम्पादित अंश)

प्रतिक्रिया