एसएलसी आजबाट, साढे पाँच लाख विद्यार्थीले दिने

काठमाडौं, १ चैत । यस वर्षको एसएलसी (प्रवेशिका) परीक्षा आज (बिहीबार)देखि मुलुकभर सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको परीक्षामा देशभरका ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थी सहभागी हुनेछन् ।

नेपालबाट पहिलोपटक १९९०बाट ३३ जना परीक्षार्थीको सहभागिता भएर एलएलसी परीक्षा सुरु भएको थियो । यसपटक पहिलो दिन विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदै छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ विद्यार्थी छन् । परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र तोकिएको छ । सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ ।
परीक्षा नियन्त्रक खगराज बरालका अनुसार परिक्षाका लागि २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, १ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुनेछन् । प्रत्येक केन्द्रमा १० जनाको दरले सुरक्षाकर्मी परिचालन गरिएको छ । आवश्यक भए थप सशस्त्र प्रहरी पनि परिचालन गरिने नियन्त्रक बरालले जानकारी गराए ।
यस वर्षको परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ८६ केन्द्र र मनाङ तथा मुस्ताङगमा एक/एक वटा परिक्षाकेन्द्र कायम गरिएको छ । काठमाडौंबाट ३४ हजार ४ सय १ परीक्षार्थी सहभागी हुँदै छन् । ७ सय ४३ निजी विद्यालयका २२ हजार ४ सय ३७ र १ सय ५३ सरकारी विद्यालयका ७ हजार ३ सय ९० विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले जानकारी गराए । रेगुलरतर्फ ३२ हजार ६ सय २० र एक्जामटेड तर्फ १ हजार ७ सय ८१ विद्यार्थी सहभागी हुनेछन् ।
पनिकाले परीक्षामा प्रतिविद्यार्थी करिब ५ सय १२ रुपियाँका दरले खर्च गर्दै छ । यप वर्षको परीक्षाका लागि २८ करोड रुपियाँ बजेट विनियोजन गरिएको पनिकाले जनाएको छ । ७० प्रतिशत हाजिर नहुने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको छैन ।
परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक बरालले बताए । परीक्षालाई मर्यादित बनाउन प्रश्नपत्रको गोपनीयता भंग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिविना प्रवेश गरेमा, प्रवेशको प्रयत्न गरेमा, परीक्षा केन्द्रलाई नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भंग हुने कुनै पनि गतिविधि गरेमा त्यस्ता परीक्षार्थीलाई तत्काल कारबाही गरिनेछ ।

प्रतिक्रिया