तेस्रोलिंगीले पाएनन् नागरिकता

हेटौंडा, १ चैत । सर्वोच्च अदालतले तेस्रो तथा समलिंगीका नाममा नागरिकता दिन आदेश दिए पनि मकवानपुर प्रशासनले एक तेस्रो लिंगीलाई पहिचान झल्कने गरी नागरिकता दिन अस्वीकार गरेको छ ।

हेटौँडा–११ नवलपुरकी अजिता भुजेलले आफ्नो नाम अजय भुजेलको सिफारिसपत्र साथ नागरिकताका लागि आवेदन दिए पनि बुधबार सिडिओ कमलकान्त रेग्मीले नागरिकता नदिएको पीडितले बताए । ‘वडा सचिवले गरेको आधिकारिक सिफारिस र सर्वोच्चको आदेश लत्याउँदै सिडिओले अटेर गरे,’ बुधबार पत्रकारसँग पीडित भुजेलले गुनासो पोखे । ‘छोराका नाममा नागरिकता पाए घरपरिवारले सम्पत्ति दिन्छु भनेका छन्,’ भुजेलले भने, ‘अब सम्पत्ति नै नपाइने हो कि भन्ने चिन्ता छ ।’ सिडिओले तिमी केटीजस्तो देखिन्छौँ किन केटाका नाममा नागरिकता दिने भन्दै फिर्ता पठाएको पीडितको भनाइ छ । रेग्मीले आफूसमक्ष त्यस्तो किसिमको नागरिकताका लागि आवश्यक कागजपत्र नआएको बताए ।

प्रतिक्रिया