धामीझाक्रीलाई तालिम

रोल्पा, १ चैत। कोटगाउँ र कोर्चाबाङका धामीझाँक्रीलाई आँखा स्वास्थ्य शिक्षासम्बन्धी दुईदिने तालिम दिइएको छ । रोल्पाका धामीझाँक्रीका लागि स्वास्थ्य शिक्षासम्बन्धी पहिलोपटक तालिम दिइएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आर्थिक सहयोग र जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा सञ्चालित आँखा स्वास्थ्य शिक्षा कार्यक्रम तालिममा कोटगाउँ र कोर्चाबाङका ८ महिला तथा ५ पुरुष गरी जम्मा १३ धामीझाँक्रीको सहभागिता थियो ।
ग्रामीण दूरदराजमा रहेका आँखाका बिरामीलाई आँखासम्बन्धी रोगको परामर्श गर्दै छिटो छरितो रूपमा आँखा उपचार केन्द्र र आँखा अस्पतालसम्म पुग्नका लागि सहजता ल्याउने उद्देश्यका साथ कार्यक्रम राखिएको आयोजकले बताएको छ । तालिममा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका हरिबहादुर कार्की र खिमबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति नौलसिंह पुन र जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज विशाल हमालले प्रशिक्षण दिएका थिए । तालिमपछि सहभागी धामीझाँक्रीले आँखा रोगसम्बन्धी थप जानकारी पाएको बताए । ‘तालिमबाट हामीले आँखा रोगका बारेमा धेरै थाहा पायौँ, अब हामीकहाँ आउने बिरामीलाई आँखा अस्पतालमा पठाउँछौँ,’ उनीहरूले सामूहिक रूपमा भने ।
रोल्पाका अधिकांश ग्रामीण क्षेत्रमा अझै धामीझाँक्रीबाट झारफुक गराए सबै स्वास्थ्य समस्या निको हुन्छ भन्ने मानसिकता व्याप्त छ । सर्वसाधारण बिरामी परेपछि स्वास्थ्यचौकीमा जानुभन्दा अघि स्थानीय धामीझाँक्रीकहाँ जाने संस्कार विद्यमान छ ।

प्रतिक्रिया