२०१ परीक्षार्थी एसएलसी दिन वञ्चित

रौतहट, १ चैत । ७५ प्रतिशत हाजिरी नहुने तथा राजस्व शुल्क नतिरेका दुई सय एक विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

प्रवेशिका परीक्षा निर्देशिका–०६८ अनुसार न्यूनतम हाजिरी पनि नहुने परीक्षार्थीलाई जिल्ला शिक्षा समिति रौतहटले निष्काशित गरेको शिक्षा अधिकारी दिलीप ठाकुरले बताए । विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति रहेका विद्यार्थीलाई प्रवेशिका परीक्षामा सहभागी गराउन नसकिने उनले बताए । बिहीबारबाट हुने एसएलसी परीक्षाका लागि रौतहटका विभिन्न २४ परीक्षा केन्द्रबाट ७ हजार ८ सय ७६ परीक्षार्थी सहभागी हुँदै छन् । विगतका वर्षमा भन्दा यस वर्ष परीक्षालाई मर्यादित बनाउन सबै केन्द्राध्यक्षलाई निर्देशन दिइएको र अमर्यादित क्रियाकलाप गरे शिक्षा ऐनको दफा २१७ अनुसार कारबाही गरिने ठाकुरले बताए ।
यस वर्ष रौतहटबाट नियमिततर्फ सात हजार दुई सय सात र एक्जाम्टेडतर्फ छ सय ६९ गरी सात हजार आठ सय ७६ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा अवधिभर सुरक्षाका लागि सात सय ५० नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिने छन भने अनुगमनका लागि सात टोली परिचालन हुने सिडिओ जीवनप्रसाद वलीले जानकारी दिए ।
पूर्वाञ्चलका १ लाख २९ हजार सहभागी
देवकला कार्की

धनकुटा,  १ चैत । बिहीबारदेखि हुने एसएलसीमा पूर्वाञ्चलबाट १ लाख २९ हजार १ सय ३० परीक्षार्थी सहभागी हँदै छन् । नियमिततर्फ ९२ हजार ९ सय ४० र एक्जामटेडतर्फ ३६ हजार १ सय ९० परीक्षामा सहभागी हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सबैभन्दा बढी १९ हजार ६ सय १८ परीक्षार्थी सहभागी हुँदै छन् भने सबैभन्दा कम सोलुखुम्बुबाट २ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशक सुन्दरकुमार शाक्यले बताए ।
पूर्वाञ्चल क्षत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार झापाबाट १६ हजार १ सय ६२, ताप्लेजुङबाट ३ हजार १ सय १४, पाँचथरबाट ५ हजार ८ सय ७९, इलामबाट ७ हजार ६ सय ५९, संखुवासभाबाट ३ हजार २०, भोजपुरबाट ५ हजार ४ सय ४ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् ।
त्यस्तै, तेह्रथुमबाट ३ हजार ७०, धनकुटाबाट ४ हजार ३ सय ३२, सुनसरीबाट १६ हजार ६ सय ७८, ओखलढुंगाबाट ४ हजार ३ सय ४८, खोटाङबाट ६ हजार ५ सय ४६, उदयपुरबाट ९ हजार ९ सय ६८, सप्तरीबाट १० हजार ९ सय ३९ र सिराहाबाट १० हजार ५ सय ८० परीक्षार्थी परीक्षामा सामेल हुने क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । पूर्वाञ्चलभरि ४ सय ३८ परीक्षा केन्द्र निर्धारण गरिएको र परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको निर्देशक शाक्यले बताए । परीक्षालाई मर्यादित बनाउन प्रत्येक जिल्लामा परीक्षा समन्वय समितिसमेत गठन गरिएको छ ।
एक केन्द्र, एक मोबाइल
दिनेश शर्मा

राजविराज,  १ चैत । एसएलसी परीक्षालाई अमर्यादित हुन नदिन परीक्षा समन्वय समिति सप्तरीले एक केन्द्र एक मोबाइलको नीति अघि सारेको छ । परीक्षा अमर्यादित बनाउन मोबाइल फोनको अत्यन्तै ठूलो भूमिका देखिएकाले यस्तो नीति अघि सारिएको हो ।
शिक्षा कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परीक्षा केन्द्रमा केन्द्राध्यक्षले बाहेक अरूले मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । ‘हरेक केन्द्रमा केन्द्राध्यक्षले बाहेक कसैले मोबाइल बोक्न पाउँदैन,’ भण्डारीले भने, ‘यदि पाइए मोबाइल सिज हुनसक्छ ।’ मोबाइल फोनका माध्यमबाट परीक्षा हलभित्र अमर्यादित काम हुने गुनासो बढेपछि यस्तो निर्णय गरिएको भण्डारीले बताए ।
यसैगरी, विद्यार्थीलाई हलभित्र प्रवेश गर्नुअगावै चेकजाँच गर्ने व्यवस्थामा समेत सुधार गरिएको जानकारी दिँदै भण्डारीले छात्रालाई जिउ सर्च गर्नुपर्ने अवस्था आए सार्वजनिक स्थलमा नभई निश्चित क्षेत्र तयार गरेर महिला प्रहरीद्वारा मात्र चेकजाँचको व्यवस्था मिलाइएको बताए । छात्रसँगै राखेर शरीर खानतलासी गर्दा छात्रामा हुनसक्ने हीनताबोध हटाउन यस्तो नीति ल्याइएको भण्डारीको भनाइ छ ।
यसैगरी, बर्दीधारी प्रहरीलाई समेत परीक्षा हलमा प्रवेश रोक लगाइएको छ । असहज वातावरणका कारण विद्यार्थीको परीक्षामा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले यस्तो निर्णय गरिएको एसपी सञ्जयसिंह बस्नेतले बताए । सुरक्षाका लागि सादा पोसाकका प्रहरी तैनाथ रहने बस्नेतको भनाइ छ ।

प्रतिक्रिया