उपल्लो हुग्दीको निर्माण सुरु

गुल्मी : पाँच मेगावाट क्षमताको गुल्मीको शान्तिपुरमा रहेको उपल्लो हुग्दी खोला जलविद्युत् परियोजनाले निर्माण सुरु गरेको छ ।

शान्तिपुर र हरेवा गाविसमा बाँध बाँधेर एक हजार ६ सय मिटर लम्बाइको पाइपलाइनमार्फत रूपाकोटको खसीमारे खोला नजिकैबाट साहस हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत् परियोजनाको संयुक्त लगानीमा पाँच मेगावाट विद्युत् उत्पादन सुरु गरिएको हो । परियोजनाका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठक, प्रबन्ध निर्देशक भरतप्रसाद नेपाल र स्थानीय बासिन्दाले संयुक्त रूपमा त्यसको शिलान्यास गरेका हुन् ।
करिव ७५ करोड रुपियाँ लागत रहेको परियोजना निर्माणका लागि प्रभावित जग्गा खरिद, पिपिए, वातावरणीय प्रभाव मुल्यांकनलगायतका सबै कार्य सम्पन्न गरी निर्माण कार्य सुरु गरिएको पाठकले बताए । परियोजनामा साहस हाइड्रो प्रालिको ७० प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ३० प्रतिशत लगानी छ ।
परियोजनामा स्थानीय व्यक्ति, संघ/संस्थाले करिव एक करोड रुपियाँ सेयरका रूपमा लगानी गरेको परियोजनाले जनाएको छ । शिलान्यासका अवसरमा संस्थापक सेयर लगानी गर्न इच्छुक स्थानीय बासिन्दाले तत्कालै संस्थापक सेयर लिने सकिने अध्यक्ष पाठकले बताए । परियोजनामा व्यक्तिका लागि न्यूनतम १० हजार रुपियाँ र संघ/संस्थाका लागि न्यूनतम एक लाख रुपियाँ सेयर रकम कायम गरिएको पनि संस्थाले जनाएको छ ।

प्रतिक्रिया