दुई करोडमा कल्भर्ट निर्माण

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाविस–३ मार्कीचोकस्थित रोदी खोलामाथि पक्की कल्भर्ट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । सडक विभागअन्तर्गत पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं १ तनहँुले दुई करोड २८ लाखको लागतमा मल्टिसेल बक्स कल्भर्ट निर्माण सुरु गरेको हो ।
वर्षायाममा सवारी आवतजावतमा निकै कठिनाइ भएकाले सो खोलामा कल्भर्ट बनाउन लागिएको हो  । गत असारदेखि सुरु भएको कल्भर्ट निर्माणको कार्य चालू आवको अन्त्यसम्म सम्पन्न गरिने पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं १ तनहँुले जनाएको छ ।
सैंतीस मिटर लम्बाइ र फुटपाथसहित १० मिटर चौडाइको हुने  सो कल्भर्टमा तीन/तीन मिटरका ११ वटा प्वाल हुने र ती प्वालहरूबाट खोलाको पानी निकास हुने सडक कार्यालय तनहुँका इन्जिनियर प्रभुराम मालाकारले जानकारी दिए । वर्षायाममा जतिसुकै ठूलो पानी आए पनि पानीले कल्भर्टको सतहमा छुन नसक्ने गरी कल्भर्ट निर्माण गरिन लागेको उनले बताए । उनका अनुसार हिरा एन्ड नमिता/ड्रागन/सुवेदी जेभी नामक तीन कम्पनीले संयुक्त रूपमा कल्भर्ट निमार्ण कार्य थालेका छन् ।
बर्सेनि वर्षायाममा पानी परेको समयमा कल्भर्टमाथि पानी बगी सवारी साधानहरूको आवतजावत नै रोक्नुपर्ने अवस्थाका कारण कठिनाइ भोग्दै आएका यात्रुहरूले उक्त कल्भर्ट निर्माणपछि सो समस्याबाट मुक्ति पाउने आशा गरिएको छ ।

प्रतिक्रिया