स्थायी जागिर छोडेर चराको नक्कल गर्ने चक्करमा

Kagकाग कराउनुले के संकेत गर्छ ? रूढीवादलाई पत्याउने हो भने अशुभ संकेत गर्छ । हरियो रूखमा बसेर कागले गीत गाउनै पाउँदैन । मान्छेहरू आत्तिन थालिहाल्छन्– ‘शुभ बोल कौवा शुभ बोल †’ झन् सुकेकै रूखमा बसेर कुर्लिन थालेछ भने त बूढाहरूको चिन्ता चुलीमै पुग्छ– ‘लौ अब के अपशकुन हुने हो †’ सहरी ठेट्नाहरूलाई कागको आवाजभित्र लुकेको यो सामाजिक अन्धमनोविज्ञान बालमतलब होला तर उसको परिपक्व बाउलाई सदियौँदेखिको परम्पराले डराउन सिकाएको छ– ‘केही नराम्रो भई पो हाल्ने हो कि †’

के काग कराउनु हरेकचोटि अपशकुनकै संकेत हुन्छ त ? अहँ मान्दैनन्, गौतम सापकोटा । साँच्ची, गौतम ‘म कागसँग गफ गर्न सक्छु, उनीहरूको भाषा बुझ्छु’ भन्छन् । उनी आफैँ पनि कागजस्तै कराउँछन् । बेलाबखत मानिस जम्मा पारेर काग सम्मेलन पनि गरिरहेका हुन्छन् । बडो दृढ भएर सुनाउँछन्– ‘कागको भाषै नजानी उसको आवाजले मान्छेका लागि अशुभ संकेत गर्छ भन्नुमा कुनै तुक देख्दिनँ म । यो अन्धविश्वास मात्रै हो । हो, उनीहरू आफैँ आपत्मा परेका बेलाचाहिँ फरकखाले आवाज निकाल्छन् । यो रहस्य जान्न उनीहरूले शब्द व्यक्त गर्ने, गुनासा पोख्ने तरिकाको ज्ञान हुनुपर्छ, उनीहरूसँग उनीहरूकै भाषामा गफ गर्न सक्नुपर्छ ।’ सुन्नेलाई लाग्न सक्छ गौतमले गतिलै गफ दिए । तर, उनी दाबी गर्छन्– ‘ म सक्छु । चराको भाषा जानेपछि मात्र उनीहरूको आवाजको यथार्थ संकेत पत्ता लगाउन सकिन्छ ।’ सायद उनी भन्न चाहन्छन्– ‘काग खुसी भएर कराउँदा पनि मान्छे डराएको देख्दा मलाई त हाँसै उठ्छ ।’
गौतमका कुरा सामान्य व्यक्तिको परिकल्पनामा ‘असम्भव’ ठहरिन सक्लान् । चराको जस्तै आवाज निकाल्नु र उनीहरूको भाषा बुझ्नु आफैँमा अद्वितीय गुण हो । चराहरूसँग उनको कस्तो भलाकुसारी हुन्छ, यो सत्य जान्न उनीजस्तै अर्को मानवरूपी ‘पक्षीभाषी’ को आवश्यकता हुन्छ । तर, योचाहिँ दृष्ट प्रमाण नै हो– उनी थुप्रै चराको आवाज हुबहु निकाल्छन् । मानौँ, उनको घाँटीभरि असंख्य चराहरूले बास गरिरहेका छन् । यही गुणका आधारमा उनले आफ्नो नामलाई विशिष्टीकरण गरेका छन्– ‘चरी दादा’ का रूपमा ।
गौतमलाई पत्याउने हो भने उनी कहिलेकाहीँ चराहरूसमक्ष करुणा व्यक्त गर्छन्–‘लौ साथी हो, मलाई आपत् पर्‍यो, सहयोग पाऊँ ।’ आफूहरूजस्तै बोल्ने फरक रूपको साथीलाई सहयोग गर्न चराहरू पनि हुल बाँधेर उनका वरिपरि आइपुग्छन् । अनि त्यसै गर्छन्, जब गौतम बोलाउँछन्– ‘लौ साथी आओ, आजचाहिँ रमाइलो गरौँ ।’
‘मान्छे जसरी परिस्थितिअनुसार उमंग र पीडा व्यक्त गर्छन्, चराहरूमा पनि त्यही लागू हुन्छ’, चरीदादा विद्वत्ता छाँट्दै छन्, ‘कागले लामो तर दबिएको आवाजमा काँऽऽऽऽऽऽआँँँ गर्‍यो भने उसले पीडा व्यक्त गरिरहेको हुन्छ । अनि, खुला आवाजमा काँ…काँ… बोले ‘म तेरो साथी हो, आइज’ भनेको बुझ्नुपर्छ । शुभ समाचार ल्याए जोडी काग आउँछन्, ढोकाअघि बसेर चार–पाँचपटक ‘काँकाँ’ गरेर जान्छन् । अशुभ खबर ल्याउँदाचाहिँ उनीहरू आफैँ डराइरहेका हुन्छन् । चार–पाँचवटा आएर घरमाथि घुम्न थाल्छन् अनि खुट्टा तल लत्र्याएर काँपेको आवाज निकाल्छन्– काँ….हाँ, काँ…हाँ..।’ सायद गौतमले आजसम्म कागलाई योचाहिँ सोधेका रहेनछन्– ‘तिमीहरू मान्छेका खबर थाहा पाउँछौचाहिँ कसरी, के शक्ति छ तिमीहरूसँग ?’
०००
परिवारका जेठो सन्तान गौतम मकवानपुरमा जन्मिए । आर्थिक अवस्था कमजोर भएकाले कक्षा आठमै पठाइ छोडेर हेटौंडाको औद्योगिक क्षेत्रमा मजदुरी गर्न थाले । तीन भाइबहिनी अनि आमाबुबाप्रतिको पारिवारिक दायित्वमा अल्झिनुपर्दा गौतमको वैयक्तिक प्रतिभा दबिन थाल्यो । २०५७ सालदेखि पाँच वर्ष मजदुर बनेरै बिताए । हुन त उनी बाल्यकालदेखि नै अरूका आवाज नक्कल गर्थे, तर कसैलाई वास्ता थिएन । सायद उनी आफैँ पनि यो अन्तर्निहित क्षमताको महत्त्व र सम्भावनाबारे ज्ञात थिएनन् । भारतीय च्यानलमा कुनै मान्छेले ‘रेल, गाडी, जहाज’ लगायतको आवाज निकालेको र सबैले वाहवाही गरेको देखेपछि उनलाई पनि क्लिक भएछ– ‘मैले प्रयास गरेँ भने चराको आवाज निकाल्न सक्छु, यो पनि त यस्तै गाह्रो काम हो नि † म किन प्राक्टिस नगरूँ †’ यस्तो बोधिज्ञान फुर्दै गर्दा उता जागिरमा स्थायी भएका थिए उनी ।
मनको खुल्दुली बढ्दै गएपछि उनलाई आफ्नो क्षमता बुझ्ने रहर भयो । ‘कागको आवाज नक्कल गर्न थालेँ, आफैँलाई भएझैं लाग्यो’, एक्लै अभ्यास गर्दाताकाको समय सम्झिए– ‘मनमनै सक्छु जस्तो लागेपछि घर आएर जागिर छोड्छु भनेँ ।’ छोराको ‘हावादारी’ कुरा सुनेर बुबाआमा चिन्तित हुनु स्वाभाविकै हो । छँदाखाँदाको जागिर छोडेर चराको आवाज सिक्न जान्छु भनेपछि बुबाआमाको राम्रै गाली भेटे–‘तँ बिग्रिइस्, यस्तो मान्छे घरै आउनु पर्दैन ।’
आफ्नै सुरमा एउटा झोला च्यापेर जंगलतिर छिरे सापकोटा, कुनै योगी कठोर तपस्याका लागि गुफा छिरेजस्तै । रूखमा बसेर चराका आवाज सुन्दै प्राक्टिस गर्न थाले । कहिले पानीले चुट्थ्यो, कहिले घामले सेक्थ्यो । हुँदाहुँदा यस्ता समस्या सामान्य लाग्न थाले । घरवरिपरि पाइने काग, कोइली, लुइँचेलगायतको आवाज जान्ने भइसकेका थिए । अरू चराका आवाज सिक्ने धुनमा कहिले चितवनको सौराहासम्म पनि पुगिरहेका हुन्थे । समय सशस्त्र द्वन्द्वको थियो । कहिले भूमिगत माओवादीसँग जम्काभेट हुन्थ्यो, कहिले नेपाली सेनाबाट खप्की खानुपथ्र्यो । थोरै मात्रै पनि शंका लागे दुवैका बन्दुकका गोली उनीतिर सोझिन सक्थे । सम्झन्छन्, ‘सौराहा जान लाग्दा माओवादी भनेर सेनाले झोला फालिदियो अनि गालामा झापड लगायो । मैले चराको आवाज सिक्न जान लागेको भनेर सुख पाइनँ । एकपटक माओवादीले सरकारको सुराकी भनेर बाँधेर पनि राखे ।’ यी पटकपटकका अप्ठ्यारा अब उनलाई जीवनको पाठशालाझैँ लाग्न थालेका थिए, अनि अनवरत साधना– जीवनको लक्ष्य । उनले आफ्नो लक्ष्य भेट्न नयाँनयाँ प्रजातिका चरासँग साक्षात्कार गर्नु थियो ।
जिब्रोलाई कहिले यता कहिले उता पारेर फरकफरक आवाज निकाल्न सिके सुरुमा । विस्तारै चराहरूको भाषा बुझ्ने कोसिस गरे । ‘कागको क्रियाकलाप नियाल्दै उनीहरूको भाषा पनि जानेरै छाडेँ’, भन्छन्– ‘अरू चराका आवाजको नयाँपन र भाषा पनि दिमागमा घुस्न थाल्यो । सायद पूर्वजन्ममा चरा नै थिएँ होला । त्यही अवशेष अहिले पनि मेरो शरीरमा बाँकी छ कि †’
०००
०६२ सालको अन्त्यतिर हेटौंडाको एउटा खुला विद्यालयमा साना विद्यार्थीबीच प्रस्फुटित हुने मौका पाए गौतमले । त्यतिका समय जंगलमा बसेर पढेको ज्ञानको पहिलो परीक्षाजस्तो थियो यो उनका लागि । सुनाउँछन्– ‘१३–१४ जना विद्यार्थीको बीच म नर्भस भइरहेको थिएँ । सक्दिनँजस्तो लाग्दालाग्दै काग कराएँ । विद्यार्थी खुसी भए ।’ त्यस दिन उनले आफूलाई हलुको महसुस गरे, अन्तिम दिनको परीक्षा दिएर बसेको विद्यार्थीजत्तिकै । त्यो सानो माहोलमा साना हातहरूले उनलाई उत्साह दिँदै पिटेको ताली अहिले सफलतामा रूपान्तरित भएको छ ।
पहिलो सफलतापछि फेरि अरू स्कुलमा पनि काग बने । कालिज, लुईंचे, काफलचरी, कोइली, सारौँका आवाजमा पनि अभ्यस्त हुन थाले । नयाँ आवाज सुन्नेबित्तिकै मस्तिष्कले भन्न थाल्थ्यो– ‘गौतम तिम्रो काम बढ्यो ।’ अब उनी स्कुलबाट महोत्सवतिर फैलन थाले । त्यसो त उनी मानिसका व्यवहारले धेरैचोटि टुक्रिएका छन् अनि जोडिएका पनि छन्– ‘कतै महोत्सवमा चराको आवाज निकाल्ने मौका दिनुस् भन्दा कस्ता कलाकारले ठाउँ पाका छैनन्, जाबो चरा भनेर हेप्थे ।’ तर, एक–दुई ठाउँमा प्रतिभा देखाइसकेपछि उनको ‘चरी ब्रान्ड’ ले मूल्य पाउँदै गयो ।
पहिलोपटक ०६४ सालमा रत्नपार्कमा काग सम्मेलन गरेँ । त्यसपछि परराष्ट्र मन्त्रालय हुँदै हरेक कागतिहारमा सम्मेलन गर्दै आएका छन् । अहिले उनी काग, मयूर, काफल पाक्यो, कोइली, लामपुच्छ्ेरसँग दोहोरो बात गर्ने अनि २ सय ५१ वटाभन्दा बढी चराको आवाज निकाल्न सक्ने बताउँछन् ।
०००
०६५ सालमा चरीदादाले सबैभन्दा बढी चराको आवाज निकालेर विश्व रेकर्डमा नाम लेखाइसकेका छन् । वल्र्ड रेकर्ड एकेडेमी अमेरिकाले उनलाई आफ्नो सूचीमा समेटेको छ । भारतको वल्र्ड रेकर्ड होल्डर्स नामक संस्थाले पनि उनलाई चराको आवाज निकाल्न खप्पिस तथा चराको हाउभाउ एवं भाषाबारे बढी जानकार प्रमाणित गरेको छ । रेकर्डमा भने उनले १ सय ५१ चराको मात्र आवाज निकालेको उल्लेख छ । गिनिज बुकमा चाहिँ अहिलेसम्म सूचीकृत हुन पाएका रहेनछन् । उनको मुखबाट निस्किने विभिन्न पक्षीको स्वर प्रमाणित गरिदिने डाक्टर विश्वमै नभएकाले गिनिजलाई अप्ठ्यारो परेको रहेछ ।
वातावरण संरक्षणमा क्रियाशील विभिन्न संस्थाको सद्भावनादूत भएर काम गरिरहेका छन्, अहिले चरी दादा । देशका ६६ वटा जिल्लामा वातावरण संरक्षणको सन्देश दिँदै प्रस्तुति देखाइसके । सुरुआती समयमा घरपरिवार र छिमेकबाट पनि हेलामा परेका उनीसँग अहिले ४ हजार ६ सय बढी सम्मानपत्र छन् ।
आठ वर्षअघिको संघर्ष अब गौतमका लागि विगत भइसकेको छ । घरपरिवार अनि छिमेकी सबैको धारणा फेरिएर मायामा रूपान्तरित भएको छ । यो सबै उनको साधनाको प्रतिफल हो । ‘मेरो क्षमता यही प्रकृतिको देन हो । आठ सय ८१ प्रजातिका चरा नेपालमा पाइन्छन् । म अझै थप आवाज सिक्दै छु ।’ पछिल्लो समय भ्याकुरको आवाज सिके उनले । जब उनको आवाज सुनेर चराले रेस्पोन्स गर्छ, तब उनलाई आफ्नो प्रयासले सिद्धि प्राप्त गरेको अनुभूत हुन्छ– ‘म आफ्नो आवाज सबैभन्दा पहिला चरालाई नै सुनाउँछु, मेरो भाषा मिलेको रहेछ भने मात्र मलाई उसले रेस्पोन्स गर्ने हो ।’ गौतम सापकोटा सबैभन्दा बढी प्रेम पनि चरालाई नै गर्छन्, संसारमा । सायद प्रेमिकालाई भन्दा पनि बढी । त्यसैले त भन्छन्– ‘मलाई मान्छेसँग भन्दा चराहरूकै जमातमा गएर बात मार्न आनन्द लाग्छ ।’

 

प्रतिक्रिया