गर्भनिरोधक साधनको अभाव बढ्दो

पेरिस : प्रजनन उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । फ्रान्सको राजधानी पेरिसमा मंगलबार सार्वजनिक सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवं सब–सहारान अफ्रिकी देशका महिलामा यस्तो अभाव उच्च रहने देखाएको छ ।
सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन् उमेरका महिलामा गर्भनिरोधक सामानको अभाव हुने देखाएको छ । प्रजनन् उमेर भन्नाले १५ देखि ४९ वर्षसम्मको उमेरका महिलालाई जनाउँछ । यो उमेरका महिलामा बच्चा जन्माउन सक्ने क्षमता बढी हुन्छ । विकासशील देशका करिब ८० प्रतिशत महिलाले यस्ता साधन प्राप्त गर्न सकेका छैनन् । अथवा यी देशका प्रजनन् उमेरका त्यति धेरै महिलाले गर्भनिरोध साधनको प्रयोग गर्न चाहेर पनि पाएका छैनन् । विशेषगरी सब–सहारान अफ्रिकी देशमा यो अवस्था बढी मात्रामा रहेको छ । पछिल्लो सर्वेक्षणले विश्वमा गर्भनिरोधक सामानहरूको चाहना भए पनि प्रयोगको पहुँच नपाएका महिलाको संख्या बढ्दै गएको देखाएको छ । साथै विश्वका विभिन्न देशमा गरिएको सो सर्वेक्षणले प्रतिवर्ष गर्भनिरोधका आधुनिक साधनको प्रयोग गर्ने महिलाको संख्या बढ्दै गएको देखाएको छ ।
यो अवस्थाले जन्मदर नियन्त्रणका लागि विश्वमा अघि सारिएका पहल पर्याप्त छैनन् भन्ने देखाएको विश्लेषकहरूको भनाइ छ । सन् २०१० मा विश्वका प्रजनन् उमेरका १२.३ प्रतिशत महिलाले यस्ता साधन प्रयोग गर्न पाएका थिएनन् । यो संख्या सन् १९९० मा १५.४ प्रतिशत थियो । यो अवस्था हेर्दा विगतका दशकहरूको तुलनामा हालैका वर्षहरूमा महिलामा गर्भनिरोधक साधनहरूको प्रयोगको पहुँच केही मात्रामा बढ्दै गएको भने देखिन्छ । तैपनि, साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दै जाँदा अप्राप्य चाहना (अनमिट निड) पनि बढ्दै गएको छ । यो पछिल्लो सर्वेक्षणले पनि सन् २०१० को तुलनामा अबको अवस्था झनै नाजुक हुने देखिन्छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोगमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरले हालै सो सर्वेक्षण गरेको हो । सन् २०१५ सम्म पूरा हुनुपर्ने सहस्राब्दी विकास लक्ष (एमडिजी) का अनुसार सो वर्षसम्ममा विश्वका सबै महिलामा यस्ता साधनहरूको प्रयोग सर्वसुलभ गराउनु पर्ने भनिएको छ । तर, यस अवस्थामा भने सो विकास लक्ष्य हासिल हुन सक्ने अवस्था देखिँदैन । जनसंख्याविज्ञका अनुसार महिलामा यस्ता साधनहरूको सर्वसुलभताका कारण बाल स्वास्थ्य, शिक्षा एवं अन्य मानव विकासमा पनि सहयोग पुग्दछ ।
साथै बढ्दै गएको जनसंख्याको नियन्त्रणका लागि पनि प्रजनन् उमेरका महिलामा गर्भ निरोधक साधनको उपलब्धता र सर्वसुलभता आवश्यक छ । साथै गर्भनिरोधक साधन कण्डमले एचआइभी एड्सलगायतका विविध यौन रोगको नियन्त्रणमा पनि सघाउने हुनाले जनस्वास्थ्यका लागि पनि यी साधनको उपलब्धता आवश्यक नै छ । यस तथ्यांकबाहेक पनि यदि विश्वका थप १२ करोड महिलाले आगामी सन् २०२० सम्ममा यस्ता साधनको प्रयोगमा पहुँच पाएभने कम्तीमा पनि तीस लाख शिशुहरू असुरक्षित गर्भकाका कारण हुनसक्ने स्वास्थ्य जोखिमबाट बच्न सक्नेछन्,’ सर्वेक्षणमा भनिएको छ । (एएफपी)

प्रतिक्रिया