पर्सामा ४० बुदे आचारसंहिता

वीरगन्ज : एसएलसी परीक्षालाई अझ व्यवस्थित र मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालय पर्साले ४० बुँदे आचारसंहिता जारी गरेको छ ।
जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीका अनुसार सबै सरोकारवालाको संलग्नतामा एसएलसी परीक्षाका लागि आचारसंहिता जारी गरिएको हो । आचारसंहिता उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने जिशिअ वस्तीको भनाइ छ ।
आचारसंहितामा परीक्षा केन्द्रमा विद्यालयको परिचयपत्र र पोसाकमा उपस्थित हुने परीक्षार्थीलाई मात्र प्रवेश गर्न दिइने उल्लेख छ । त्यस्तै, केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र पियनलाई मात्र प्रवेश गर्न दिइने, सुरक्षाकर्मी केन्द्रको प्रवेशद्वारमा मात्र रहने र आवश्यक परे केन्द्राध्यक्षको अनुमतिले मात्र भित्र जान पाउने आचारसंहिता जारी गरिएको छ । परीक्षा केन्द्रको वरिपरिको १०० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने, परीक्षा सञ्चालन कार्यमा संलग्न केन्द्राध्यक्षबाहेक, परीक्षार्थी, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारीले पनि परीक्षा केन्द्रभित्र मोबाइल प्रयोग गर्न नपाइने तथा नसालु पदार्थ सेवन गरेर परीक्षा केन्द्रभित्र प्रवेश गर्न नपाउनेलगायत बुँदा आचारसंहितामा समावेश गरिएका छन् ।
पर्साबाट यस वर्ष एसएलसीमा नियमिततर्फ ५ हजार २ सय ८२ र एक्जाम्पटेडतर्फ १ हजार ७ सय २७ विद्यार्थी सामेल हुँदै छन् । परीक्षा सञ्चालनका लागि २० वटा परीक्षा केन्द्र तोकिएको शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया