जाजरकोटको बजेट १ अर्ब १५ करोड

जाजरकोट, २९ फागुन । आगामी आर्थिक वर्ष ०७०/७१ को जाजरकोट जिल्लाको वार्षिक बजेट सवा एक अर्ब प्रताव गरिएको छ । सोमबार खलंगामा सम्पन्न छैटौँ जिल्ला परिषद्् बैठकको सार्वजनिकीकरण समारोहले १ अर्ब १५ करोड १० लाख १२ हजार रुपियाँको बजेट पारित गरिएको हो ।

विभिन्न पाँच विषयगत समिति र एकीकृत समितिको बैठकबाट निर्णय भएका विभिन्न योजना तथा निर्णयहरू जिल्ला परिषद्ले पारित गरेको छ । बैठकमा एलडिओ चक्रबहादुर बुढाले पूर्वाधार तथा संरचना विकास समितिअन्तर्गत ५० करोड १८ लाख ८९ हजार ४२ रुपियाँ, कृषि, वन तथा वातावरण समितिअन्तर्गत ८ करोड १४ लाख ३१ हजार रुपियाँ, जनसंख्या तथा सामाजिक समितिअन्तर्गत ४५ करोड १४ लाख ४४ हजार २ सय ३० रुपियाँ, जलस्रोत तथा भूमि समितिअन्तर्गत ९ करोड ७० लाख १० हजार ७० रुपियाँ र प्रशासन तथा संगठन समितिअन्तर्गत १ करोड ९२ लाख ३८ हजार ५ सय ५५ रुपियाँ गरी कुल १ अर्ब १५ करोड १० लाख १२ हजार रुपियाँको बजेट पेस गरेका छन् ।
गाउँस्तरबाट आएका खानेपानी, सिँचाइ, सडक यातायात, विद्युत्लगायत जम्मा सात सय १३ योजनामध्ये महत्वपूर्ण पाँच सय आठ योजना छनोट गरी आगामी वर्षको बजेटमा प्रस्तावित गरिएको एलडिओ बुढाले जानकारी दिए ।
विषयगत सरकारी तथा गैरसरकारी कार्यालयको बजेट सिलिङको आधार र जिल्लाको आवश्यकतालाई दृष्टिगत गरी कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी बुढाले बताए । ‘उत्पादन र व्यावसायीकरण हाम्रो अभियान सम्मुन्नत जाजरकोट निर्माण भन्ने मान्यताका साथ बजेट प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिएको छ,’ एलडिओ बुढाले भने ।
त्यसैगरी छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने भेरी नदीमा निर्माणाधीन अवस्थामा पुलको तत्काल निर्माण, केन्द्रीय विद्युत् लाइनको जडान, बहुचर्चित नलगाड जलविद्युत् आयोजनाको निर्माण, जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना, जिल्लाका विभिन्न गाविसमा जोड्ने सहायक सडक सञ्जाल र जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण लगायतका योजना जिल्लाको प्राथमिकतामा परेका छन्् ।
त्यस्तै सन् २०१३ भित्र जिल्लालाई खुल्ला दिशामुक्त र सन् २०१६ सम्म घरभित्रको धुवाँ मुक्त बनाउने निर्णय पनि परिषद्ले गरेको छ ।
तीन पत्रकारसहित दश सम्मानित
जिल्ला परिषद्ले तीन पत्रकारसहित विभिन्न क्षेत्रका दश जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरूमा कान्तिपुर दैनिकका पत्रकारद्वय भीमबहादुर सिंह र हरिहरसिंह राठोर तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी रहेका छन् ।
त्यसैगरी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विवेककुमार लाल, जिल्ला विकास समितिका इन्जिनियर धनप्रसाद सुवेदी, सहलेखापाल राजबहादुर सिंह, खरिदार उर्मिला शाह, केयर नेपालका विष्णु नेपाली र शिक्षक विनोद सहनीलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
त्यस्तै, खेलाडी यमसाजन सुनार, नरेन्द्र आरसी र गत वर्षको एसएलसी परीक्षामा सर्वोत्कृष्ट विद्यार्थी समीक्षा मल्ल तथा जगत घर्तीलाई सम्मानसहित पुरस्कृत गरिएको छ । उनीहरूलाई जनही तीन हजार नगदसहित कदरपत्र प्रदान गरिएको छ ।
पत्रकारत्रय सिंह, राठौर र गिरीलाई पत्रकारिताको माध्यमबाट जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको, कर्मचारीहरूलाई कार्यसम्पादन राम्रो गरेको तथा खेलाडीद्वय सुनार र आरसीलाई राष्ट्रिय स्तरमा जिल्लाको शिर ठाडो बनाएको भन्दै सम्मान गरिएको एलडिओ चक्रबहादुर बूढाले सौर्यलाई बताए ।

प्रतिक्रिया