करोडौँ मूल्यका सवारीसाधन कबाडीमा जाने

Moter-cycleभैरहवा, २९ फागुन । लामो कानुनी जटिलताका कारण भैरहवा भन्सार कार्यालय परिसरमा रहेका करोडौँ मूल्यका सवारीसाधन कबाडीमा बिक्री गर्ने अवस्थामा पुगेका छन् । नेपालको दोस्रो ठूलो भन्सार भैरहवा भन्सार कार्यालय परिसरको खुला आकाशमुनि रहेका सयौँ मोटरसाइकल तथा चारपांग्रे गाडी अहिले कबाडीमा बिक्री गर्ने अवस्थामा पुगेका हुन् ।

सीमावर्ती भारतीय बजारबाट नेपाल भित्र्याइएका तथा गैरकानुनी तबरले चोरी निकासी भई आएका एवं गैरकानुनी क्रियाकलापमा संलग्न सवारीसाधनलाई पक्राउ गरी सुरक्षा निकायले भैरहवा भन्सारमा लिलामीका लागि पठाए पनि समयमै लिलाम हुन नसक्दा राज्यलाई करोडौँ घाटा पर्न गएको हो ।
भन्सार तथा सुरक्षा निकायले नियन्त्रणमा ल्याउँदा राम्रो अवस्थामा चलिरहेका सवारीसाधन भन्सारले जफत गरी लिलामी प्रक्रियासम्म पुग्दा महिनौँ लाग्ने हुँदा ती सवारीसाधन जीर्ण अवस्थामा पुग्ने हुनाले लिलाम प्रक्रियामा जाँदा अत्यन्तै कम मानिसले कम मूल्यको टेन्डर हाल्दा राज्यलाई घाटा लाग्ने गरेको हो ।
भैरहवा भन्सार कार्यालयका प्रवक्ता ज्ञानेन्द्रराज ढकालले लामो कानुनी प्रक्रिया र जफत गरिएका सवारीसाधन खुला आकाशमुनि राख्नुपर्ने बाध्यताका कारण राम्रो कन्डिसनका सवारीसाधन पनि लिलाम प्रक्रियासम्म जाँदा रुग्ण अवस्थामा पुगिरहेको बताए । प्रवक्ता ढकालले भने, ‘भन्सार लिलामको लामो प्रक्रियाका कारण यस्तो भएको हो तर कबाडीमा नै बेच्ने अवस्थाचाहिँ आएको छैन तर जफत सवारीसाधन रुग्णचाहिँ भएका छन् ।’
भन्सार अधिकृत सुशीलकुमार थापाका भने सवारीसाधन पुरानो हुने र जीर्ण भइसकेपछि मात्र लिलाम प्रक्रियामा जाँदा सवारीसाधनको मूल्यांकनसमेत कम पर्ने र राज्यको लाखौँ राजस्वसमेत गुमिरहेको स्विकारे ।
हाल भैरहवा भन्सार कार्यालयले जफत गरेका सयौँको संख्यामा मोटर साइकलहरू, महँगा कारहरू, ट्रयाक्टरहरू, ट्रकहरू खुला आकाशमुनि महिनौँदेखि राखिएका छन् । कुनै गाडीहरू झाडीभित्र छन् भने धेरैजसो खिया लागेर कबाडीमा बेच्नुको विकल्पमा छैनन् ।
लामो कानुनी जटिलताको विषयमा भन्सार कार्यालय मुद्दा शाखा प्रमुख कृष्णप्रसाद घिमिरेले भने, ‘सबैभन्दा पहिले सवारीसाधन सरकारी प्रक्रियाअनुसार सातदिने सूचना निकाली जफत गरिन्छ । जफतपश्चात् भन्सार प्रमुखको अध्यक्षतामा जिल्ला प्रसाशन कार्यालयको प्रतिनिधि, यातायात कार्यालयका प्राविधिक, जिल्ला कोलेनिका प्रतिनिधि र सिद्धार्थनगर उद्योग वाणिज्य संघ रूपन्देहीका प्रतिनिधिको रोहबरमा मूल्यांकन समिति गठन गरी सवारीसाधनको मूल्यांकन गरी राष्ट्रिय दैनिक पत्रिकामा २१ दिने सूचना निकाली लिलाम गरिने लामो कानुनी प्रक्रिया रहेको छ । यसरी जफत गरिएका सवारीसाधनको मूल्यांकन गर्नै समय लामो लाग्ने र सबै समितिका प्रतिनिधिसमेत भनेको समयमा उपस्थित हुन नपाउँदा महिनौँ समय लम्बिँदै जाँदा वार्षिक चारचोटि सवारीसाधनको लिलाम गर्नुपर्नेमा सो हुन सकेको छैन ।’
यसरी लामो कानुनी प्रक्रियाका कारण भनेर भन्सार कर्मचारीले भने पनि गाडीहरू लिलाम गर्दा भन्सारमै कार्यरत कर्मचारीको पनि मिलोमतोको कारण समस्या निम्तिएको नाम नबताउने सर्तमा एक कर्मचारीले भने, ‘समयमा नै लिलाम गरे वार्षिक करोडौँ रुपियाँ राजस्व उठ्ने ती सवारीसाधन समयमै लिलाम नगर्दा अब कबाडीको मूल्यमा बेच्न बाध्य हुन सक्छ । यसको मुख्य जिम्मेवार हाकीमहरूको उदासीनता नै हो ।’
यसरी भैरहवा भन्सार कार्यालयको पश्चिमपट्टि जथाभावी थन्क्याइएका सयौँ मोटर साइकलहरू कयौँको समानहरू निकालिएको अवस्थामा रहेका छन् भने कुनैमा पातपतिङ्गरले पुरिएका छन्, तरुल तथा लहरे बिरुवाको झाल बनिरहेका छन् । कैयौँ सवारीसाधनमा झारपात समेत उम्रिएको र खिया लागिसकेको अवस्थामा र कुहिसकेको अवस्थामा समेत रहेका छन् ।
कानुनी प्रक्रियालाई दोष दिएर भन्सार कार्यालयका कर्मचारी सवारीसाधनको लिलामी समयमै गर्न नसकिने भन्दै पन्छिन खोज्नु र सम्बन्धित निकायले यसको सहजता अपनाउन नखोजिँदा राज्यको करोडौँ राजस्व गुमिरहेको छ ।

प्रतिक्रिया