सिडिएसको लागि अन्तिम किस्ता प्रदान

काठमाडौं : नेपाल र भारतीय सरकारबीच भएको सम्झौता अनुसार नेपालमा केन्द्रीय निक्षेप प्रणाली स्थापना गर्ने सिलसिलामा सोमबार भारत सरकारबाट प्राप्त वित्तीय सहयोगको अन्तिम किस्ता हस्तान्तरण कार्य सम्पन्न भएको छ ।
नेपाल स्टक एक्सचेन्ज परिसरमा आयोजित एक कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन महामहिम जयदीप मजुमदारले नेप्सेका अध्यक्ष डा. जीवनाथ धिताललाई चार करोड नौ लाख ६० हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । गत १ माघ ०६६ मा द्विपक्षीय सम्झौता अनुसार परामर्श, सफ्टवेयर र तालिम गरी तीन भागमा बाँडिएको सिडिएस परियोजनाको लागि कुल १४ करोड ७२ लाख मध्ये अन्तिम किस्तावापत उक्त चेक प्राप्त भएको हो ।
कार्यक्रममा महामहिम मजुमदारले नेपालको पुँजी बजार विकासका लागि भारत सरकारबाट प्रत्यक्ष सहयोग प्रदान गरिएको यो पहिलो परियोजना भएको बताए । ‘नेपाल सरकारको चाहना भए यस किसिमको सहयोग आगामी दिनमा पनि जारी रहनेछ,’ उनले भने । ‘सिडिएस परियोजनाका लागि प्राप्त सहयोगबाट हामी नेपालको पुँजी बजार विकासलाई अझै अगाडि बढाउन सक्षम हुनेछौँ,’ नेपाल स्टक एक्सचेन्जका कामु महाप्रबन्धक प्रमोदकुमार भट्टराईले भने ।
कार्यक्रममा नेप्सेका कामुमहाप्रबन्धक भट्टराईले नेपालको पुँजी बजार विकासमा भारतले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरै अघिदेखि सहयोग गर्दै आएको बताउँदै सिडिएसका लागि प्राप्त सहयोग नेपालको पुँजी बजार विकासमा अर्को कोसेढुंगा हुने बताए । केन्द्रीय निक्षेप प्रणालीमा सेयरधनीहरूको भौतिक रूपमा रहेको धितोपत्रलाई विद्युतीय रूपमा परिणत गरिएको हुन्छ । यस व्यवस्थाबाट नेपालको पुँजी बजारको विद्यमान समस्यालाई सम्बोधन गर्नुका साथै पूर्णतया कम्प्युटरकृत पद्धतिका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया