राष्ट्रसंघीय शान्ति सेना अपहरणमुक्त

बेरुत, २८ फागुन । सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गराउने उद्देश्यले सशस्त्र विद्रोहमा होमिएका सिरियाली विद्रोहीले आफ्नो कब्जामा रहेका राष्ट्रसंघीय शान्ति सेनालाई रिहा गरेका छन् । विद्रोही सैनिकको मनोबल गिराउन र उनीहरूको छबीमा नराम्रो असर पार्ने खालका गतिविधि सञ्चालन गरेको आरोपमा २१ राष्ट्रसंघीय शान्ति सेनालाई विद्रोहीहरूले कब्जामा लिएका थिए ।
गत बुधबारदेखि चार दिनसम्म उनीहरूलाई कब्जामा लिई विद्रोही लडाकूले शनिबार जोर्डनको सीमाक्षेत्रमा अपहरणमुक्त गरेका हुन् । अपहृत शान्ति सैनिकहरू सबै फिलिपिनी रहेको यसअघि नै पुष्टी भइसकेको छ । अपहरणमा परेका सैनिकले सिरियाली सत्तालाई सहयोग पुर्‍याएको आरोप विद्रोहीहरूले यसअघि लगाएका थिए । शान्ति स्थापनासँग सम्बन्धित गतिविधिमा नलागी उनीहरूले सिरियाली सैनिकलाई सघाउ पुग्ने काम गरेको विद्रोहीहरूको आरोप थियो । राष्ट्रसंघ महासचिव वान कि मुनले अपहृत सैनिक रिहाइको स्वागत गर्दै राष्ट्रसंघीय शान्ति सेनासँग नरम व्यवहार गर्न विद्रोहीसमक्ष आग्रह गरेका छन् ।
यसैबीच अपहृत सैनिक मुक्त गर्ने विद्रोहीहरूको कदमको फिलिपिन्स सरकारले स्वागत गरेको छ । फिलिपिन्सको विदेश मन्त्रालयले उनीहरूलाई दुई दिन जोर्डनमा राखी इजरायल अधिनस्थ गोलन हाइट पठाइने जानकारी दिएको छ । करिब तीन सय फिलिपिनी सैनिकले शान्ति सेनाको हैसियतमा सिरियामा काम गरिरहेका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन र विद्रोहका कारण अहिलेसम्ममा करिब ७० हजारको मृत्यु भइसकेको जनाइएको छ ।
सिरियामा राजनीतिक संकट गहिरिँदै गर्दा सिरियाबाट विस्थापित शरणार्थीको संख्या दश लाख पुगेको राष्ट्रसंघले जनाएको छ । सिरियाली द्वन्द्वबाट प्रभावित करिब दश लाख सिरियालीले छिमेकी राष्ट्रमा शरण लिएको बताइएको छ । (एपी)

प्रतिक्रिया