आर्मी पनि निराश, थ्रिस्टारलाई राहत

Footballकाठमाडौं, २७ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुपर एटमा उपाधि दाबेदार नेपाल आर्मीले पनि पहिलो खेलमै पराजय सामना गरेको छ । शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबविरुद्ध आर्मी २–१ ले पराजित भएपछि अघिल्लो दिन नेपाल पुलिसद्वारा हार बेहोर्न पुगेको शीर्ष टोली थ्री–स्टारलाई केही राहत पुगेको छ ।

यस नतिजाले फ्रेन्ड्स दोस्रो स्थानमा उक्लियो भने थ्री–स्टारको सात अंकको अग्रता एक अंकले मात्र घट्यो । फ्रेन्ड्सको २९ अंक छ । आर्मी २८ अंकमा कायम रहँदै एक स्थान तल झरेर तेस्रोमा पुग्यो । थ्री–स्टारको ३५ अंक रहेको छ ।
थ्री–स्टारले पराजय बेहोरेको मौकामा उपाधि होडमा आफ्नो उपस्थिति बलियो बनाउने राम्रो अवसरमा देखिएको आर्मीले दोस्रो हाफमा रक्षापंक्तिमा गम्भीर कमजोरी गरेपछि ५७औँ मिनेटमा निर्णायक गोलको सामना गरेको थियो ।
फ्रेन्ड्सका मिडफिल्डर डोडोजले करिब ३५ यार्डबाट ड्रिबलिङ गर्दै आधा दर्जन विपक्षी खेलाडीलाई विट गरेर ‘डी’बक्सको आउट साइड एजबाट गरेको सशक्त प्रहार गोल भएपछि प्रेmन्ड्सले खेलमा दोस्रोपटक अग्रता लिएको थियो । आर्मीका खेलाडीले बल क्लियर गर्ने प्रशस्त अवसर पाए पनि डोडोजले यस मुभ तयार गर्नेक्रममा त्यस्तो कठिन चुनौतीको सामना गर्नुपरेन । लगत्तै डोडोजले करिब ३५ यार्डटाढाबाट गरेको प्रहार क्रसमा बारमा लागेर फर्किएको थियो ।
आर्मीले मात्र फिनिसिङमा लगातार कमजोरी गरिरहँदा पाएको पहिलो अवसर सदुपयोग गरी ललितपुरे क्लब प्रेmन्ड्सले २७आँै मिनेटमा सुरुआती अग्रता लियो । विष्णु केसीले सेकेन्ड बारमा निकालेको लङ पासमा सिक्स यार्डबाहिर अनमार्क रहेका मिडफिल्डर प्रकाश बुढाथोकीले अगाडि बढ्दै हेडमार्फत गोल गरेका थिए ।
यद्यपि, ३२औँ मिनेटमा भरत खवासले आर्मीलाई बराबरीमा ल्याइपुर्‍याएका थिए । ‘डी’बक्सभित्र अनमार्क रहेका भरतले मिलाइ–मिलाई गोल गरेका थिए । खेलमा पहिलो गोल गर्ने अवसर आर्मीले पाए पनि टेकबहादुर बुढाथोकी असफल रहे ।
भरत खवासले आकर्षक ड्रिबलिङपछि टच लाइनबाट गरेको ब्याक पासमा सिक्स यार्ड सर्कल बाहिर अनमार्क रहेका टेकले फिनिसिङमा ढिलाइ गरेपछि फ्रेन्ड्स ठूलो संकटबाट टरेको थियो । पहिलो हाफमा खासै जम्न नसके पनि दोस्रो हाफमा प्रेmन्ड्सले सुधारिएको प्रदर्शन गरेको थियो । वन भर्सेस वनको स्थितिमा टेकले गरेको प्रहार प्रेmन्ड्सका कप्तान सागर थापाले ब्याक ट्याकल गर्दै क्लियर गरेपछि आर्मी बराबरीमा फर्कने सम्भावित अवसरबाट चुकेको थियो । त्यसपछि पनि आर्मीको लगातारको आक्रमणमा प्रेmन्ड्सको रक्षापंक्ति र गोलरक्षकको प्रदर्शन उल्लेखनीय रह्यो ।
आर्मीका प्रशिक्षक योगम्बर सुवालले आफ्नै गल्तीका कारण नतिजा सुम्पनु परेको बताए । ‘रक्षापंक्तिको गल्तीका कारण दोस्रो गोल बेहोर्‍यौं । खेलाडीले स्तरीय प्रदर्शन गर्न सकेनन्,’ सुवालको भनाइ थियो । यता सिंगल राउन्डमा हिमालयन शेर्पाको प्रशिक्षक रहेका फ्रेन्ड्सका मेघराज केसीले खेलाडीको प्रदर्शनप्रति सन्तुष्टी व्यक्त गरे । ‘मेरा खेलाडीले मिहेनत गरेर खेले,’ केसीको भनाइ थियो । उनका अनुसार, हिमालयनसँग फ्रेन्ड्सले केही समयका लागि प्रशिक्षक मागेपछि उनी फ्रेन्ड्समा आएका हुन् । हिमालयन शेर्पालाई संघर्षपूर्ण रूपमा रेलिगेसनबाट बचाएका मेघराज एनसेलकपमा थ्री–स्टारले कमजोर प्रदर्शन गरेपछि उक्त क्लब छाड्दै लिगमा सम्हाल्न हिमालयन आएका थिए । यसअघि सिंगल राउन्डमा आर्मीले पहिलो खेलमै फ्रेन्ड्सको सामना गरेको थियो जसको नतिजा बराबरी भएको थियो ।

प्रतिक्रिया