नामावली संकलन गर्ने तयारी

इलाम, २७ फागुन । जिल्ला निर्वाचन कार्यालय इलामले दोस्रो चरणको फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्ने भएको छ । कार्यालयले यसअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको पहिलो चरणको अभियानमा छुटेकाहरूका लागि पुन: फोटोसहितको मतदाता परिचयपत्र बनाउन नामावली संकलन गर्न लागेको हो ।

आयोगको निर्देशनअनुरूप जिल्ला निर्वाचन कार्यालयले गाविसमा गई फोटो खिचाउन नभ्याएका र मतदाता परिचयपत्र नबनाएका व्यक्तिलाई लक्ष्य गरी २ चैतदेखि २६ गतेसम्म घर–घरमा गई नामावली संकलन गर्ने जिल्ला निर्वाचन अधिकृत प्रेम काºलेले बताए । अभियान सञ्चालनका लागि इलामका सबै गाविस र नगरपालिकामा कार्यरत सामाजिक परिचालकहरूलाई खटाइने भएको छ । ती परिचालकले मतदाता नामावली भर्न छुटेका व्यक्तिको नामावली संकलन, मतदाता नामावली शुद्धता र यसको महत्त्वबारे जानकारी गराउनेछन् ।
सोही प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयले सामाजिक परिचालकका लागि दुईदिने निर्वाचन शिक्षा कार्यकर्तासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । निर्वाचन शिक्षासम्बन्धी आधारभूत ज्ञान दिने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका सबै गाविस र नगरपालिकामा कार्यरत सामाजिक परिचालकको सहभागिता थियो । कार्यक्रममा लोकतन्त्र र संविधान, निर्वाचनको आवश्यकता, निर्वाचन प्रणाली र चक्र, नागरिकका अधिकार र कर्तव्य, निर्वाचन व्यवस्थापन निकाय, कानुनी संरचना, मतदाता, मतदान र मतगणना, विद्युतीय मतदान यन्त्रको प्रयोग, निर्वाचन शिक्षा कार्यकर्ताका काम कर्तव्यलगायत विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीलाई जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम काºले र जिल्ला विकास समितिका सहजकर्ता बालेश्वर खड्काले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया