मेरो विदेश भ्रमण भारतबाटै हुन्छः दाहाल

Vijaya-Joli-n-Kc-Tyagiकाठमाडौं, २६ फागुन । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालको भूमिबाट भारत विरोधी गतिविधि हुन नहुनेमा जोड दिएका छन् ।
लाजिम्पाटस्थित निवासमा आज विहान भएको भेटबार्ताका क्रममा अध्यक्ष पुष्पकमल दाहालले पनि नेपालबाट भारत विरोधी गतिविधि हुन नदिने आश्वासन दिएको जोलीले जानकारी दिए ।
‘अध्यक्ष पुष्पकमल दाहालले अब प्रधानमन्त्री भएमा भारतबाटै विदेश भ्रमण गर्ने आश्वासन दिनु भएको छ,’ पत्रकारहरुसँगको कुराकानीमा नेता जोलीले भने ।
अध्यक्ष दाहालले नेपालमा राजनीतिक सहमति कायम भएर नयाँ सरकार निर्माण हुने वित्तिकै भारत भ्रमणमा जाने ईच्छा देखाएको जोलीले जानकारी दिए । अध्यक्ष दाहालले नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौता पूर्ण रुपमा कार्यान्वयन भएपछि मात्रै भारत जाने समेत जनाएका छन् ।
‘मलाई चीनबाट पनि धेरै निम्तो आएको छ,’ अध्यक्ष दाहाललाई उद्यृत गर्दै जोलीले भने, ‘तर अब पहिला म भारत जान्छु ।’ भारतीय नेताहरुसँगको भेटका क्रममा दाहालले अब आफू नेपाल भारतवीचको सम्बन्धलाई अझै उचाईमा पुराउन लाग्ने आश्वासन दिएका थिए ।
भारतीय जनता पार्टीका नेता जोलीले १२ बुँदे सम्झौताको अक्षरंश पालना तथा हिन्दू राष्ट्रको रक्षा गर्न आग्रह गरेको बताए । उनले भने, ‘नेपाल हिन्दू राष्ट्र नरहेकोमा भारतीय जनता दुखित भएका छन् ।’
उनले नेपालको राजनीतिमा भारतको चासो भएपनि आन्तरिक मामिलामा हस्तक्षेप कहिल्यै नगर्ने बताए । उनले भने, ‘नेपालको आन्तरिक मामिलामा हाम्रो हस्तक्षेप हुँदैन ।’
जनता दल यूनाईटेडका महासचिव केसी त्यागीले एमाओवादी अध्यक्ष दाहाललाई भारत भ्रमणको निम्तो दिएको जानकारी दिए । ‘अध्यक्ष दाहाल नेपालमा राजनीतिक सहमति कायम भए पछि भारत आउने प्रतिबद्धता जनाएका छन् ।’
कांग्रेस आईका सांसद प्रकाश चौधरीले नेपाल भारतवीचको सम्बन्ध रोटी र बेटीको भएकाले यसलाई कसैले पनि विगार्न नहुँने बताए ।
नेपाल भ्रमणमा रहेका आधा दर्जन भारतीय नेताहरुको टोलीले आजै कांग्रेस सभापति सुशील कोइरालासँग पनि भेटबार्ता गरेको थियो ।

प्रतिक्रिया