बन्दले जनजीवन प्रभावित

काठमाडौं : मधेसी जनअधिकार फोरमलगायत विभिन्न साना दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बिहीबार गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित गरेको छ । काठमाडौंको सडकमा बन्दकर्ताहरू नदेखिए पनि बन्दको प्रभाव रह्यो ।
संविधानसभाको आकार निर्धारण, समानुपातिक प्रतिनिधित्व, निर्वाचन क्षेत्र पुनर्निर्धारण गरिनुपर्ने तथा छरिएका र शक्तिहीन समुदायको पक्षमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गर्दै मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो । यसअघि बुधबार नेकपा–माओवादीलगायत दलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रमुख चार दलबीचको सहमतिको विरोध गर्दै नेपाल बन्द गरेका थिए ।
बुधबारको बन्दमा आयोजकहरू ‘बन्द सफल पारौँ’ भन्दै बिहानैदेखि सडकमा उत्रिएका थिए । बिहीबार भने बन्दकर्ताहरू सडकमा देखिएनन् । तैपनि, दिउँसोसम्म सवारीसाधन चलेनन् । दिउँसोपछि विस्तारै सडकमा सवारीसाधन देखिएका थिए ।
बन्दको प्रभाव घट्दै गएपछि मोर्चामा आबद्ध ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष एवं मोर्चाका प्रवक्ता परशुराम तामाङले दिउँसो ३ बजेबाट बन्द फिर्ता लिएको जानकारी दिएका थिए । यसैबीच, शान्तिपूर्ण प्रदर्शन गरिरहेका आºना तीन दर्जन बढी कार्यकर्तालाई बानेश्वर, कोटेश्वर र कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीले जनाएको छ । (सौस)

प्रतिक्रिया