बंगलादेशमा हिंसात्मक प्रदर्शन

ढाका : बंगलादेशमा सन् १९७१ को स्वतन्त्रताको आन्दोलनका क्रममा भएको भनिएको युद्ध अपराधको आरोप पुन: ब्युँताएर विपक्षीलाई सफाया गर्न सरकार लागिपरेको भन्दै विरोधमा हिंसा भड्किएको छ । हिंसामा परी ८० भन्दा बढीको मृत्यु भइसकेको छ ।
एक मुस्लिम समर्थित राजनीतिक दलका नेताहरूलाई मृत्युदण्डको सजाय सुनाइएपछि बंग्लादेशमा केही सातायता हिंसात्मक प्रदर्शन हुँदै आएको छ । मंगलबार राजधानी ढाकालगायत विभिन्न स्थानमा भएका प्रदर्शन हिंसात्मक बन्दा केही व्यक्तिको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । अहिलेसम्म ८० जनाभन्दा बढीको ज्यान गइसकेको छ । हिंसाका कारण हजारौँ विदेशी पर्यटकले देश छोडेका छन् भने कतिपयले आफूहरू बसेका होटलले सुरक्षा दिन नसकेको भन्दै अन्यत्र सारेका छन् । बंगलादेशमा स्वतन्त्रता आन्दोलनका समयमा भएका युद्ध अपराधसम्बन्धी दण्डसजायका लागि गठन गरिएको अदालतले गत साता जमात–ए–इस्लामी नामक बंगलादेशको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलवर हुसेन सैयदलाई मृत्युदण्डको सजाय सुनाएको थियो । फैसलाको सो दलले व्यापक विरोध गर्दै आएको छ । त्यसपछि बंगलादेशमा फैलिएको हिंसाले विकराल रूप लिएको छ ।
अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ । युद्धअपराधीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै केही दलका कार्यकर्ता एवं सर्वसाधारणले पनि प्रदर्शनलाई जारी राखेका छन् । बंगलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको थियो । स्वतन्त्रता संग्रामका समयमा पाकिस्तान र यसका समर्थकले हालका बंगलादेशीमाथि व्यापक दमन गरेका थिए । सो समयमा युद्धअपराध भएको भनी त्यसको छानबिन गरी दोषीमाथि कारबाहीको माग विगत निकै लामो समयदेखि नै भइआएको हो । सोही माग सम्बोधन गर्दै सन् २०१० युद्ध अपराधसम्बन्धी अदालत स्थापना गरिएको थियो । अदालतले जनवरी २१ मा केही व्यक्तिलाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो । त्यसपछि निर्णयविरुद्धमा राजधानी ढाका र देशका विभिन्न भागमा प्रदर्शन सुरु भएका हुन् ।
प्रदर्शनकारीले प्रहरीमाथि नै सांघातिक हमला गर्ने गरेका छन् । प्रहरी अधिकारीहरूका अनुसार प्रदर्शनकारीले आक्रमण गर्न थालेपछि जवाफमा प्रहरीले पनि गोली प्रहार गरेको छ । आन्दोलनमा घाइते हुनेको संख्या करिब एक हजार पुगेको छ । प्रदर्शनकै क्रममा प्रदर्शनकारीले तीन प्रहरी अधिकारीलाई नियन्त्रणमा लिई हत्या गरेको प्रहरीले जनाएको छ । राजधानी ढाकालगायत विभिन्न प्रमुख सहरमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । राजधानीमा मात्र करिब १० हजार प्रहरी परिचालन गरिएको छ । (एएफपी)

प्रतिक्रिया