नेपाली नागरिकता लिने भारतीय बढे

Citizenshipराजविराज, २४ फागुन । नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम सप्तरीमा बढ्दै गएको छ । हालसम्म करिब तीन दर्जन गैरनेपालीले जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएको पुष्टि भएको छ । यसरी नागरिकता लिनेमध्ये अधिकांश भारतीय नागरिक छन् ।

वैदेशिक रोजगारीमा भारत सरकारले बन्देज लगाएका कारण नेपालमा रहेका आफन्तमार्फत भारतीयले नेपाली नागरिकता लिने र सोही नागरिकताका आधारमा राहदानी बनाई विदेश जाने गरेको पाइएको छ । यीमध्ये धेरैले शैक्षिक प्रमाणपत्र, गाविसको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका सम्पूर्ण कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । तर, केहिले भने सरकारी कर्मचारीकै मिलेमतोमा नागरिकता हात पार्ने गरेको श्रोतको दाबी छ ।
नक्कली कागजपत्र पेस गरे पनि नागरिकताका लागि सनाखत गर्नुपर्ने प्रावधानका कारण दुवै खाले प्रक्रियामा नेपाली नागरिकको सहयोग अनिवार्य देखिएको छ । नेपालस्थित नातेदारले भाइ, छोरा आदि सम्बन्ध बनाएर सनाखत गर्ने गरेका छन् । यस्तो काममा संलग्न भएको भन्दै फागुन ८ मा सप्तरीको नर्घो ६ निवासी सल्टु साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सल्टुले भारतको सुपौल डगमारा निवासी १९ वर्षीय ज्वाइँ पवनकुमार साहलाई छोरो बनाएर नेपाली नागरिकता दिलाउन लागेको जानकारीका आधारमा उनीहरू दुबैलाई पक्राउ गरी कारबाही अघि बढाइएको एसपी सञ्जयसिंह बस्नेतले बताए ।
त्यस्तै नेपाली नागरिकता लिने अन्यमा भारतको विहारस्थित कुनौली कमलपुर निवासी हिमांशु ठाकुर, मोहम्मद अफताब मियाँ, विहारको कमलपुर निवासी विनोद यादव, वैशालीका प्रमोदकुमार खंग महतोलगायत करिब ३० जना छन् । यीमध्ये ठाकुरले राजविराज १० निवासी स्वर्गीय ढोढाइ ठाकुरलाई बाबु बनाई २३ पुसमा १६००१/६७१६ नम्बरको नेपाली नागरिकता लिएका थिए । ढोढाइका छोरा रामकिसुन ठाकुर सनाखत बसेको उक्त नागरिकताका लागि वडा सचिव मोहम्मद आलमले सिफारिस र तत्कालीन वडा प्रहरी कार्यालय राजविराजका सई विनोद झाले सर्जमिन मुचुल्कामा सही गरेको पाइएको छ । हिमांशुलाई नेपाली नागरिकता दिलाउन दाजु बनेका रामकिसुन, वडा सचिव आलम र सई झाको प्रत्यक्ष संलग्नता रहेको श्रोतको दावी छ । यसका लागि रामकिसुनले ठाकुरसँग रकम असुल गरेको र उनीहरूले देवकिसुन ठाकुरको नाममा समेत नागरिकता लिएको श्रोतले बतायो ।
त्यसैगरी अफतावले पटेर्वा ८ निवासी ताहिर मियाँलाई बाबु बनाई ५ पुस २०६८ मा २१८५३०/७३० नम्बरको नागरिकता लिएका छन् । २२ साउनमा सोही नागरिकताका आधारमा राहदानी लिन पुगेका उनको नागरिकता शंकास्पद पाइएपछि सोधखोज गर्दा रहस्य खुलेको हो । त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत किर्ते नागरिकता लिएको भन्दै करिब दुई दर्जन उजुरी परेका छन् । यसमध्ये पाँच वटा उजुरीमा कारबाही भइसकेको जानकारी दिँदै देउरी भरुवा–९ निवासी पुलकित यादवलाई बाबु बनाई नागरिकता लिने भारतको विहारस्थित कमलपुरका विनोद यादव र वैशाली निवासी प्रमोदकुमार खंग महतो सप्तरी जिल्ला अदालतको आदेशमा २५ हजारका दरले धरौटी बुझाई रिहा भएको सिडिओ हरिराज पन्तले बताए ।
अन्य १८ उजुरीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्राचार गरिएको पन्तले बताए । जसमा वरही वीरपुर २ का राजकुमार मण्डल, घोघनपुर ७ का लक्ष्मी साहु हलुवाइ, मकवानपुर पदमपोखरी ५ का मनोजकुमार थापा मगर, बनैनिया ९ का हरिवंश खङ्ग, राजविराज नगरपालिका ३ का विमलप्रसाद साह, हरिदेव सिंह, ७ का राजकिशोर भौर, कैलीदेवी तेलिन, भारदह १ का भोला मण्डल, सारस्वर ४का आस्मा खातुन, छिन्नमस्ता ३का सुलेमान मियाँ, टिकुलिया ९ का अशोक सिंह, गोइठी ५ का उदयकुमार कर्ण, खोक्सरप्रवाहा १ का मिश्रीलाल यादव, बभनगामाकट्टी ५ का स्व.योगेन्द्रनारायण सिंह, दौलतपुर १ की श्रीवती राम, झुटकी ४ का श्यामप्रसाद यादव, बदगामा ५ मोस्लीमा शेख मियाँ, पकिरा ७ का मो. सद्दाम, विष्णुदेव पन्जियार, कुमार विमल भगतलगायत छन् ।
उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिँदै सप्तरीका एसपी बस्नेतले भारतसँग सीमा जोडिएका गाविसमा यस्तो कार्य व्यापक रूपमा बढेको देखिएपछि नक्कली नागरिकता तथा राहदानी बनाउने कार्य रोक्न आफू प्रयासरत रहेको बताए । त्यस्तो कार्यमा संलग्नलाई कुनै पनि सर्तमा मुक्ति नदिने उनको भनाइ छ ।

प्रतिक्रिया