अमेरिकाबाट ५० जनालाई उपहार ल्याएँ

Janakkumari-Chaliseसपिङको मामिलामा अलि फरक धारणा छ मेरो । महँगो ठाउँ खोज्दै जान्नँ । ठूला मलमा धेरै पैसा हालेर किनेको सामान मात्र राम्रो हुन्छ भन्ने विश्वास लाग्दैन । त्यसैले आवश्यकताअनुसारका सुहाउँदिला सामान जहाँ देखे पनि किनिहाल्छु । नजिकै भएकाले मेरो अधिकांश सपिङ ललितपुरतिरकै बजारमा हुन्छ । कहिलेकाहीँ पाटनस्थित भाटभटेनी सुपरमार्केट र नमस्ते सुपरमार्केटतिर पनि जान्छु तर थोरै सामान मात्र किन्छु ।

राजनीतिमा भिजेकाले होला, अनावश्यक तडकभडक गरेर हिँड्न मन लाग्दैन । हामीलाई त्यसो गरेको सुहाउँदै पनि । जनताका बीचमा गइरहनुपर्छ । नेता आफूचाहिँ ठाँटिएर हिँड्दा जनताले के भन्लान् जस्तो लागिरहन्छ । त्यसैले सामान्य पहिरन नै रोज्छु । अक्सर मेरो बजार भनेका सामान्य पसल र फुटपाथ नै हुन् । महँगा र आकर्षक बजारतिर अल्झिन्नँ । किन्न जान्ने हो भने फुटपाथको सामान पनि राम्रो र टिकाउ हुन्छ ।
छोरा जापानमा डाक्टर छ । बुहारी पनि उतै बस्छिन् । उनीहरूले त्यहाँबाट ल्याइदिएको सामान अलि महँगो हुन्छ । हुन त त्यहाँका सामान गुणस्तरीय पनि हुन्छन् । आफैँ विदेश गएका बेला भने त्यही देशमा बनेका मौलिक सामान किन्न खोज्छु । आफ्ना लागि भन्दा पनि बढीजसो घर र भान्सामा उपयोगी हुने सामान हेर्छु । एकपटक अमेरिका पुग्दा पति र आफन्त गरी करिब ५० जनालाई उपहार किनेँ । व्यक्तिगत प्रयोजनका लागि थोरै मात्र सामान ल्याएँ ।
अहिलेसम्म सात–आठवटा देश घुमेँ । जहाँ गए नि ‘मेड इन चाइना’ लेखेको सामान नै बढी भेटेँ । फरक यति मात्र हो, नेपालमा पाइनेभन्दा युरोप वा अरू देशमा पाइने चाइनिज सामान बढी गुणस्तरका हुँदा रहेछन् । जापान जाँदाचाहिँ समुद्री तटमा बनाइँदै गरेको त्यहीँको मौलिक ‘कप सेट’ किनेर ल्याएँ । त्यसो त विदेश जानुअघि यो किन्छु वा त्यो किन्छु भनेर योजना बनाएकी हुन्नँ । विदेश भनेको कुनै काम विशेषले वा भ्रमण प्रयोजनले गइन्छ, सपिङ प्राथमिकता होइनजस्तो लाग्छ । अर्को कुरा, हामी नेपाली युरोप र अमेरिकाका बजारमा सपिङ गर्ने अवस्थामा पुगेका छौँ/छैनौँ, त्यो पनि ख्याल गर्नुपर्छ ।
कहिलेकाहीँ साथीहरूसँग महँगा बजारमा पनि नपुग्ने होइन तर त्यहाँ मचाहिँ खासै किनमेल गर्दिनँ । साथीहरूलाई साथ मात्रै दिन्छु । मैले अहिले प्रयोग गरिरहेका विदेशी सामान भनेको श्रीमान्ले बैंककबाट ल्याइदिनुभएको ब्याग र छोराले पठाइदिएको मोबाइल छ । ब्याग दश हजार परेको रे, मोबाइलको मूल्य थाहा छैन । मैले प्रयोग गर्ने केही महँगा सामान भनेका पति र छोराले ल्याइदिएका उपहार नै हुन् ।
भारतको बजारमा पुग्दा सुतीको साडी, कुर्ता सुरुवाल र सुतीकै अन्य सामान मन पर्छन् । भारतीय बजारका घरायसी सामान पनि हामीसँग मिल्दाजुल्दा भएकाले मौका मिल्दा लिएर आउने गरेकी छु । भारतीय बजार तुलनात्मक रूपमा सस्तो छ हाम्रा लागि ।
घरमा आवश्यक सामान सधैँ आफैँ किन्छु, सकेसम्म होलसेलतिर पुग्छु । परिवारसँग मिलेर सपिङ जानेचाहिँ अहिलेसम्म भएको छैन । आ–आफ्नै सुरले किन्छौँ । पेसा र समयको तालमेल नमिलेर पनि सँगै सपिङ जान नपाएका हौँला । तर रोजाइचाहिँ सबैको एकैखाले हुन्छ । ब्रान्डका नाममा महँगो सामान किन्नुपर्छ भन्ने मान्यता कसैको छैन । परिवार मिलेर बाहिर खाना खान पनि कहिल्यै गएका छैनौँ ।
हिँड्दै गर्दा पारिवारिक बाध्यतावश बाटोमा सामान बेचेर बसिरहेका स्कुले विद्यार्थी देख्दा माया लाग्छ । काठमाडौंबाट दक्षिणकालीको बाटो हुँदै बाहिर जाँदा यस्ता दृश्य प्रशस्तै देखिन्छन् । स्कुलको पोसाक लगाएरै केही न केही बेचिरहेका विद्यार्थी थुप्रै हुन्छन् । त्यति बेला उनीहरूका सामान किनिदिन्छु । आफूलाई आवश्यक नभए पनि उनीहरूलाई पढ्नमा सहयोग होस् भनेर ।
(वार्तामा आधारित)

प्रतिक्रिया