त्यो बेला व्यथा लागेजस्तो हुन्छ

Sharmila-Khadkaमेरा बालकथाहरूको संग्रह ‘सानी’ को पाण्डुलिपि हातमा लिँदै साहित्यकार परशु प्रधानले भनेका थिए, ‘शर्मिलाजी यो कथासंग्रह तपाईंको छोरो हो, जसले तपाईंलाई जीवनभर पाल्नेछ ।’ उति बेला मैले उनले भनेको यो वाक्यको भेउ राम्ररी पाएकी थिइनँ । आज लाग्दै छ– ‘साँच्चै ‘सानी’ मलाई पाल्ने छोरो नै रहेछ ।’ नत्र उति बेला त मलाई किताब लेखेर बाँच्न सकिन्छ, पैसा र सम्मान कमाइन्छ भन्ने लागेकै थिएन । सोखैसोखमा मनका अनुभूतिहरूलाई कागजमा उतारिरहेकी मात्र थिएँ ।

विराटनगरको एसओएस स्कुलमा पढाउँथेँ । नामसँगै दाम पनि राम्रै थियो त्यहाँ । राम्रो पुस्तकालय पनि थियो । अध्यापनसँगै पुस्तकालयमा उपलब्ध किताबहरू अध्ययन गर्थें । प्राथमिकदेखि माविसम्म पढाइ हुन्थ्यो । विद्यार्थीहरू कथा सुन्न बढी उत्सुक हुन्थे । त्यसैले म पनि बालकथाका पुस्तक खोजीखोजी पढ्थेँ । हुन त उति बेलै मेरा फुटकर लेखहरू गरिमामा छापिइरहेका हुन्थे । लेखेर पहिलोचोटि ३ सय रुपियाँ पारिश्रमिक पाएकी थिएँ । तैपनि किताब लेखेर पैसा कमाउँला, राष्ट्रिय रूपमा सम्मानित पुरस्कार पाउँला भन्ने सोचेकै थिइनँ ।

एउटी सानी फुच्ची विद्यार्थीमाथि मेरो नजर पर्‍यो । दुब्ली–पातली देख्दै माया लाग्दी । उसका बारे जान्ने इच्छा भयो । ऊ सानै छँदा आमा बितेकी रहिछन् । घरमा सौतेनी आमा भए पनि उसलाई राम्रै व्यवहार गर्दी रहिछन् । तर पनि त्यो फुच्चीको अनुहार कुनै न कुनै कुराको अभाव भएजस्तै देखिन्थ्यो, फुङ्ङ उडेको । उनीबारे केही लेखौँलेखौँ लाग्यो । अनि तयार भयो, ‘सानी’ बालकथासंग्रह । लेखेर तीन–चार वर्ष त्यत्तिकै थन्क्याएकी थिएँ ।
साहित्यमा अरूको थोरै, आफ्ना भोगाइ र अनुभूतिहरू बढी मिसिएका हुन्छन् । कृष्ण धरावासीको लेखाइमा अभाव, समस्या अनि भोका अनुभूति बढी देखिन्छन् । कारण– उनको पृष्ठभूमि पीडैपीडाले थिचिएको छ । त्यसैले त भन्छन्, ‘म चाहेर पनि पाठकलाई हँसाउन सक्दिनँ ।’ अभावग्रस्त जिन्दगीका भोगाइलाई नै साहित्यमा उतारे उनले । महेशविक्रम शाहको लेखाइमा द्वन्द्वका कुरा बढी हुन्छन् । सायद उनका भोगाइ र वरिपरिका दृष्टान्त नै त्यस्तै रहे । ‘छापामारको छोरा’ जस्ता सामग्रीबाट आफूलाई मोड्न सकेका छैन । एक विदेशी लेखकको कथा पढेकी थिएँ, वेश्यासँग सम्बन्धित । उनको संगत सधैँ वेश्यासँग हुने भएकाले तिनै अनुभूतिलाई अक्षरीकृत गरेका रहेछन् ।
जागिर खाँदै गर्दा भोगेको एउटा घटनाले मलाई आफ्नो अस्तित्व खोज्न बाध्य बनायो । सँगै काम गर्ने सबैको प्रमोसन भयो तर मेरो भएन । हीनताबोध जाग्यो । ती अनुभूतिहरूले उकुसमुकुस बनाएपछि मेरो लेख्ने क्रम झन् बढ्दै गयो । दामका लागि भन्दा नामका लागि साहित्य लेखनतिर अग्रसर भएँ ।

थन्किरहेको ‘सानी’ प्रकाशन गर्न मन लाग्यो मलाई । घरमा प्रस्ताव राखेँ, कसैले सुनेनन् । सबैले भने– ‘किताबमा पैसा खर्च गरेर के हुन्छ, हुँदाखाँदाको यति राम्रो जागिर खाएर नबसेर †’ आफ्नै बलमा प्रकाशन गर्ने निधो गरेँ । पाण्डुलिपि लगेर परशु प्रधानलाई देखाएँ । उहाँले मन पराउनुभयो । आश्वासन दिनुभयो– ‘रत्न पुस्तक भण्डारमा भनिदिउँला, यसलाई त छाप्नैपर्छ ।’ मख्ख परेँ तर रत्न पुस्तकले छाप्न निकै समय लाग्ने बतायो । मलाई जतिसक्दो छिटो प्रकाशन गर्नु थियो । एक आफन्तको सहयोगमा आफँैले छपाएँ । मेरो त्यही पहिलो कृतिले ०६० सालको साझा पुरस्कार पायो । म खुसीले गदगद थिएँ । अनि, झलझली सम्झिरहेकी थिएँ– परशु दाइले गरेको भविष्यवाणी ।
प्रशंसा र पुरस्कारहरूले साहित्यिक मनलाई थप प्रेरित गर्दा रहेछन् । आफूलाई आफ्नो क्षमता चिनाइदिँदा रहेछन् । ममा पनि आत्मविश्वास बढ्दै गयो । साहित्यलाई नै सबै थोक देख्न थालेँ । परिवारको धारणा पनि सकारात्मक हुँदै गए । अब साहित्यतिरबाट पनि केही नाम र दाम कमाउन थालेकी थिएँ । त्यसो त साझा पुरस्कार पाएसँगै मलाई आरोप पनि थुप्रै लागे । मानिसहरूले भने– पैसाको आडमा पाएको पुरस्कार † मलाई आफ्नो चुनौती झन् बढेजस्तो लाग्यो । क्षमताकै बलमा पुरस्कार पाएको प्रमाणित गर्नु थियो । लगत्तै सानीको दोस्रो भाग लेखेँ । त्यसले पनि सबैतिरबाट राम्रो रेस्पोन्स दिएपछि आरोप लगाउनेहरूका आवाज मत्थर भए ।
‘सानी’ छाप्न अनुमति नदिएपछि म परिवारभित्रै विद्रोह गर्ने मनस्थितिमा पुगिसकेकी थिएँ । घुर्की लगाएँ, ‘यति दु:खले लेखेको किताब छाप्न नपाए घरै छोडेर हिँडिदिन्छु । एकान्तमा गएर तपस्वी बनेर बसिदिन्छु । अब मेरो आश नगर्नू ।’ लगभग बिदै मागिसकेकी थिएँ । यति धेरै अड्चन पार गरेर जन्मिएको ‘सानी’ ले पुरस्कारसँगै परिवारको पनि मन जित्यो ।
रेडियोले पुरस्कार पाउनेमा मेरो नाम घोषणा गरेपछि आमाले थाहा पाउनुभएछ । उहाँले बहिनीलाई सुनाउनुभएछ । आफन्तहरूसम्मै खबर फैलिएछ । अनि त के थियो, मलाई बधाईको ओइरो लाग्यो । पुस्तक निकालेकोमा गाली गर्नेहरूका शब्द पनि अब बधाईमा रूपान्तरित भएका थिए । पतिसँग लामो समयदेखि कम्प्युटर किन्न प्रस्ताव गरेकी थिएँ तर मानिरहनुभएको थिएन । अब त उहाँ आफैँले किनेर ल्याइदिनुभयो । सायद उहाँहरूलाई पनि विश्वास जाग्यो– यसले साहित्यमा राम्रै गर्न सक्ने रहिछे । सहानुभूति र माया पाउँदै गएँ ।
दुईवटी छोरी पढाइका लागि काठमाडौंमा बस्थे । उनीहरूका लागि अभिभावकको साथ आवश्यक थियो । म जागिर छाडेर काठमाडौं आएँ । सामान्य दृष्टिले हेर्दा छोरीहरूका लागि साथी आए पनि त्यसभित्र मेरो अर्को अभीष्ट पनि लुकेको थियो, लेखक बन्ने । संघर्ष त गर्नुपर्छ नै । विराटनगरको ती सानी फुच्चीको जिन्दगीका संघर्षलाई सानीमा उतार्दै गर्दा मैले पनि पाठ सिकिरहेकी थिएँ– हरेक कामको प्रारम्भमा संघर्ष अनिवार्य हुन्छ ।

भनिन्छ, साहित्यकार एकोहोरो स्वभावका हुन्छन् । मलाई पनि त्यस्तै लाग्छ । म पनि एकोहोरिन्छु । जे गर्दा पनि केही न केही फुरिरहेकै हुन्छ । फुर्दै गरेका अनुभूति लेख्न पाइएन भने असाध्यै पीडा हुन्छ । व्यथा लागेजस्तो । भावनाहरूलाई बाहिर नल्याएसम्म उकुसमुकुस भइरहन्छ । के गर्ने के नगर्ने सोच्नै सकिँदैन । बौलाएर हिंडौँ जस्तो लाग्छ । नफुरीकन कलमकापी समात्दैमा लेख्न सकिने होइन । कसैले करोडौं दिन्छु भनेको भरमा कहाँ फुर्छन् र लेखनयोग्य अनुभूतिहरू †
आफैँभित्रका अनुभूतिहरूले औडाहा बनाउनुपर्छ तब मात्र तिनले सुन्दर साहित्यका रूपमा जन्म लिन्छन् । तब मात्र त्यो मानसिक पीडा शान्त हुन्छ अनि अगाडि हुन्छ सुन्दर सिर्जना । जसरी एउटी सुत्केरी चरम प्रसववेदनापछि हातमा नवजात शिशु लिएर मुस्काइरहेकी हुन्छे । अनुभूतिहरूलाई थाँती राखेर कालान्तरमा लेख्न खोज्दा भने त्यहाँ केही न केही कमी हुन पुग्छ । बासी अनुभूतिहरूले आकार त बनाउलान् तर तिनमा ताजगीको अभाव हुन्छ ।

महिलालाई साहित्य लेख्न पुरुषलाई जति सजिलो छैन । घरायसी काम अनि जागिरको चटारोबीच लेखन सजिलो थिएन मलाई पनि । प्राय: घरायसी काम सकेपछि लेख्न थाल्थेँ । कि त केटाकेटी स्कुल गएपछि वा सुतेपछि । आजसम्म सत्रवटा किताब लेखेँ । यसका लागि निकै संघर्ष गर्नुपरेको छ । मेरा रचनामध्ये अरूले धेरै मन पराएको ‘सानी’ नै हो तर मलाइचाहिँ बालउपन्यास ‘स्वर्णिमा’ धेरै मन पर्छ । त्यसको पात्रले मेरो मन छोएको छ । यो उपन्यास काल्पनिकता र वास्तविकतालाई फ्युजन गराएर लेखेकी हुँ ।
‘विद्रोहको क्यानभास’ कथा बाटोमा हिँड्दाहिँड्दै फुरेको हो । काम गर्दा, टिभी हेर्दा वा पढ्दा पनि लेख्ने कुरा निस्किरहेका हुन्छन् । अमिर खानको हिन्दी फिल्म फना हेरेपछि ‘सुकन्या’ कथा लेखेँ । द्वन्द्वमा पनि कसरी प्रेम अँकुराउँछ भन्ने कुराको चित्रण यसमा छ । सिनेमा हेरेकै बखत माओवादी आक्रमणबाट बचेर आउनुभएका दाजुसँग भेट भयो । उहाँका भोगाइ सुनेपछि पनि मलाई सुकन्या लेख्न थप बल मिल्यो ।
साहित्य जटिल अनि क्लिष्ट हुनुपर्छ भन्ने भ्रम छ कतिलाई तर होइन । पाठकलाई सरल शब्द र भाषा रुचिकर हुन्छ । साहित्य जीवनका अनुभूतिहरू कलात्मक ढंगले अरूलाई बाँड्ने माध्यम पनि हो ।
विराटनगरमा छँदा मलाई लेख्ने समयै हुँदैनथ्यो । देशमा बन्द–हडताल हुँदा मलाई खुसी लाग्थ्यो किनकि त्यस बेला घरमा पाहुना आउँदैनथे । आफू पनि जागिरमा जान पर्दैनथ्यो । केटाकेटी खाईपिई गरिसकेपछि खेल्न जान्थे । लेखनमै पूरै समय खर्चिन पाउँथेँ । अहिले त पूरै स्वतन्त्र छु, चाहेजति लेख्न पाउँछु । जति बेलै पर्खिरहेकी हुन्छु– आओ अनुभूतिहरू †
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया