पुन:स्थापना गर्न मिल्दैन : राष्ट्रपति

Rambaran Yadavकाठमाडौं, २४ फागुन । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा पुन:स्थापनाको कुरै नगर्न आग्रह गरेका छन् । संविधानसभा पुन:स्थापनाको माग गर्दै बुधबार भेट्न पुगेका संघीय समाजवादी पार्टीका नेताहरूलाई उनले सो आग्रह गरेका हुन् ।

भेटमा संघीय समाजवादी पार्टीका नेताहरूले संविधानसभा पुन:स्थापना निकासको एक मात्र विकल्प भएको दाबी गरेका थिए । तर, राष्ट्रपतिले प्रमुख दलहरू तयार नभएको र संविधानमा पनि टेक्ने कुनै आधार नभएको भन्दै अब संविधानसभा पुन:स्थापना हुन नसक्ने बताए ।
‘संविधानसभा पुन:स्थापना गरेर अघि बढ्न माग गरेका थियौँ,’ पार्टीका कार्यबाहक अध्यक्ष विजय सुब्बाले भने, ‘पुन:स्थापनाका लागि प्रमुख दलहरू सकारात्मक नभएको र प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन नयाँ शिराबाट छलफल सुरु भएको भन्दै उहाँले अस्वीकार गर्नुभयो ।’ भेटमा संघीय समाजवादी पार्टीका नेताहरूले भने बाधाअड्काउ फुकाएर संविधान संशोधन नगर्न र गैरदलीय सरकार नबनाउन माग गरेका थिए ।
‘संविधानत: बाबुराम भट्टराई नेतृत्वको सरकार नै संवैधानिक छ, यो सरकारले पठाएका अध्यादेशहरू स्वीकृत गरेर चुनावमा जान सकिन्छ,’ महासचिव राजेन्द्र श्रेष्ठले भने, ‘तर, प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु हुँदैन भनेका छौँ ।’
संघीय समाजवादी पार्टीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाए आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ । उसले संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने, अघिल्लो संविधानसभामा रहेको समानुपातिकतर्फको प्रतिनिधित्वको अनुपात कायमै राखिनुपर्ने र निर्वाचन क्षेत्रको पुनर्संरचना गर्नुपर्ने माग पनि पेस गरेको छ ।
छलफलमा राष्ट्रपतिले आफू संविधानको दायराभित्र रहेर काम गर्ने विश्वास दिलाउँदै दलहरूबाटै सहमति खोजिनुपर्नेमा जोड दिएको नेता सुब्बा जानकारी दिए ।

प्रतिक्रिया