पुल नबनेपछि फेरीकै भर

Veri-Nadiजाजरकोट, २३ फागुन । निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि भेरी नदीमा पुल नबनेपछि फेरीकै भर पर्नुपर्ने अवस्था छ । सम्बन्धित पक्षको ढिलासुस्तीका कारण छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोड्ने राकमस्थित भेरी नदीमा लामो समयसम्म पुल बन्न सकेको छैन ।

दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने सरकारी लक्ष्य भए पनि आठ वर्षको अवधिमा पुलका पाँच मध्ये एउटा मात्र पिलर पूर्णरूपमा निर्माण भएको छ भने, एकवटा पिलर आधा निर्माण गरिएको छ । त्यस्तै अर्काे एक पिलरको भर्खर निर्माण कार्य थालिएको छ । सडक विभागले हरेक आर्थिक वर्षको अन्त्यसम्ममा पुलको निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखे पनि पूरा हुन सकेको छैन ।
पुल निर्माणको लागि मुख्य पिलर मानिएको बीचको पिलरको जग बसालिसकेकाले समस्या नहुने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सोही स्थानको एक भागमा ब्लास्ट गर्नुपर्ने भएपछि त्यसको तयारी गरिरहेको डिभिजन कार्यालयका प्रमुख भानु जोशीले जानकारी दिए ।
पुल निर्माणमा ढिलाइ हुनुमा जिम्मा लिएका ठेकेदारको कमजोरी भएको स्रोतले बतायो । चालू आर्थिक वर्षमा जसरी पनि पुलको निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख जोशीले बताए । ‘चालु आर्थिक वर्षभित्र पुल निर्माण गरिसक्न ठेकेदारहरूलाई समेत ताकेता गरेका छौँ’ जोशीले भने, ‘यो आर्थिक वर्षमा जसरी पनि पुलको निर्माण कार्य सम्पन्न हुन्छ ।’
कार्यालयका अनुसार पुलका पाँच पिलर निर्माण गर्न तीन करोड १५ लाखमा स्वच्छन्द/काष्ठमण्डप/धनथान/प्रदीप/रविन निर्माण सेवा जेभी काठमाडौंले बोलपत्र स्वीकृत गराएका थिए । यस्तै स्टिलपार्ट कार्य गर्न भने सात करोड ६७ लाखको लागतमा स्वच्छन्द निर्माण सेवा काठमाडांैका सञ्चालक जयराम लामिछानेको बोलपत्र स्वीकृत भएको थियो । यता ठेकेदारले भने सरकारी निकायको लापरबाही र पिलरको जग निर्माणका लागि प्राविधिकले गरेको गलत तथा ढिलो निर्णयले तोकेको समयमा पुल निर्माण हुन नसकेको बताए । प्राविधिक निर्णय ढिलो भएकाले चालु आर्थिक वर्षको अन्त्यसम्म पुलको निर्माण कार्य सम्पन्न हुनेमा ठेकेदार कम्पनीहरू भने पूर्णरूपमा विश्वस्त छैनन् ।
यसैबीच एकातिर निर्माण कार्यमा ढिलाइ भइरहेको छ भने अर्कातिर सवारी साधन वारपार गराउन भेरी नदीमा जोडिएको फेरी पनि अनियमित बन्न थालेपछि यात्रुहरूलाई निकै सास्ती हुने गरेको छ । महिनामा तीन/चारपटक फेरी बिग्रिन थालेपछि यात्रु मात्र नभएर यातायात व्यवसायीसमेत आक्रोशित छन् । जिर्ण अवस्थामा रहेको फेरी पनि वर्षमा ५/६ महिना मात्र चल्ने गरेको छ ।
पुल नबन्दा जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, डोल्पा, जुम्लालगायतका जिल्लाका स्थानीयले आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया