काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालमा जारी सडक तथा विद्युत् प्रसारण लाइनसम्बन्धी एमसिसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेको छ ।
काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परियोजना निरन्तर कार्यान्वयनमा रहने जनाएको छ । ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसिए–नेपाल स्वागत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
गत जनवरी २० मा डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो सातामै अमेरिकाले दिँदै आएको विश्वव्यापी अनुदान कटौती गर्ने निर्णय गरेपछि नेपालमा एमसिसी परियोजनाको निरन्तरताबारे अन्योल उत्पन्न भएको थियो । तर, गत मार्चमा एमसिसीले एमसिए–नेपाललाई पत्र लेख्दै केही महत्वपूर्ण खरिद तथा कार्यालय सञ्चालनसम्बन्धी आवश्यक काम गर्न अनुमति दिएको थियो ।
त्यसअनुसार एमसिसीले नेपालमा सञ्चालनमा रहेका परियोजनाको कार्यान्वयनलाई निरन्तरता दिँदै आएको छ । तर, अहिलेको निर्णयबाट परियोजना पूर्ण रूपमा सम्पन्न हुन सक्ने बताइएको छ । यसअघि गत साता नै नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै नेपाल कम्प्याक्टलाई निरन्तरता दिने संकेत गरेको थियो ।
परियोजनाअन्तर्गत एमसिए–नेपालले हालसम्म ३ वटा ४०० केभीका विद्युत् सबस्टेसन तथा १८ किलोमिटर ४०० केभी प्रसारण लाइनको ठेक्का लगाएर काम अघि बढाइसकेको छ । बाँकी २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायत कामका लागि पनि प्रक्रिया अघि बढाउन एमसिसीसँग निकटतापूर्वक काम गरिरहेको एमसिए–नेपालले जनाएको छ ।
‘नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ । यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसिसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ,’ एमसिए–नेपालले भनेको छ ।
एमसिसी परियोजनाअन्तर्गत सम्झौता हुँदा (१४ सेप्टेम्बर, २०१७ मा) अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने गरी सम्झौता भएको थियो । तर, प्रसारण लाइन निर्माणको लागत बढ्ने भएपछि एमसिसी बोर्डले गत २ जनवरी, २०२५ मा थप ५ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्रतिक्रिया