‘सहकारी समस्याले वित्तीय क्षेत्रमा समस्या’

काठमाडौ २३ फागुन । सहरकेन्द्रित केही सहकारीका समस्याले वित्तीय क्षेत्रमा जटिल समस्या आएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । सञ्चालकले सदस्यहरूको निक्षेप आफू खुसी प्रयोग गर्ने प्रवृत्ती बढ्दै जाँदा वित्तीय क्षेत्रमा पनि समस्या देखिएको उनले बताए । सहकारीले अनेक प्रलोभन पारेर सर्वसाधारणबाट निक्षेप जम्मा गर्ने र भाग्ने प्रवृत्ती बढेको समेत उनले बताए ।

नेपाल सहकारी पत्रकार समाजद्वारा आयोजित ‘वित्तीय सहकारीका समस्या र समाधान’ विषयक सहकारी संवाद कार्यक्रममा अधिकारीले सो कुरा बताएका हुन् । ‘सीमित व्यक्तीको चलखेलले सिंगो सहकारी क्षेत्र नै धरासायी बन्दै गएको छ ।’ अधिकारीले भने, ‘यसलाई रोक्न नसके थप समस्यामा पर्नेछ ।’ हालै गठन भएको समस्याग्रस्त सहकारीको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको संयोजकसमेत रहनुभएका डेपुटी गभर्नर अधिकारीले २२ वटा सहकारीको वित्तीय विवरण अध्ययन गरिरहेको बताए ।
ठूला सहकारीको वित्तीय विवरण मगाएर अध्ययन गरिरहेका समेत उनले बताए । सहकारी, गैरसरकारी र लघुवित्तको काम गर्ने संस्थालाई अनुगमन गर्न छुट्टै निकाय गठन गर्न जरुरी रहेको डेपुटी गभर्नर अधिकारी बताए । सहकारीलाई राष्ट्र बैंकले अनुगमन गर्न नमिल्ने र आवश्यक परेका अनुगमनका लागि टेक्निकल सपोर्ट मात्र गर्ने उनको जोड थियो ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारीमा आकर्षक ब्याजको लोभमा निक्षेप जम्मा गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित गर्न विभाग अग्रसर रहेको बताए । ‘घरजग्गामा अत्यधिक लगानी गरेकाले समस्या देखिएको हो ।’ उनले भने, ‘राष्ट्र बैंक र विभागबीच समन्वय हुन नसक्दा घरजग्गामा लगानी भएका सहकारीहरू समस्यामा पर्न गएको हो ।’ रातारात नाफा कमाउने लोभले गर्दा सहकारी बदनाम बन्दै गएको न्यौपानेको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले घरजग्गामा लगानी कडाइ गरेपछि सहकारीबाट त्यसतर्फ लागेकाले समस्या बढेको उनको भनाइ थियो ।
नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सीमित सहकारीको समस्या देखाएर केही बैंक र बैंकर्स संघ सहकारी सिध्याउन लागेको आरोप लगाए । संविधानले सहकारीमा प्रथामिकता दिए पनि राष्ट्र बैंक, अर्थ मन्त्रालयले यसको विकासमा चासो नदेखाएको उनको गुनासो थियो । सरकारले मात्र सबै सहकारीको नियमन गर्न नसक्ने ठोकुवा गर्दै भण्डारीले सहकारीका केन्द्रीय संघहरूलाई परिचालन गरेर अघि बढे मात्र समस्या समाधान हुने बताए । यसअघि अनुगमन गरेको प्रतिवेदन लुकाएकाले अहिले सहकारीमा समस्या आएको उनको भनाइ थियो ।

प्रतिक्रिया