तेक्वान्दो संघको तेस्रो साधारणसभा

पोखरा, २२ फागुन । नेपाल तेक्वान्दो संघको तेस्रो साधारणसभा आइतबार पोखरामा सुरु भएको छ । साधारणसभामा नेपाली तेक्वान्दोले पछिल्लो समय भोगेको समस्या र चुनौतीबारे दुई दिनसम्म बहस र छलफल हुनेछ ।

चितवनमा सम्पन्न दोस्रो साधारणसभाले १७ करोड रुपियाँको एकेडेमी निर्माण गर्ने महत्त्वाकांक्षी निर्णय गरे पनि राज्य पक्षले दुई वर्षको अवधिमा ९० लाख रुपियाँ मात्र निकास गर्नु दु:खद भएको तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले बताए ।
विगतमा गर्विलो इतिहास बोके पनि राज्य पक्षबाट अवसर र सुविधा दिने सवालमा नतिजालाई आधार मान्न भन्दा पनि दामासाहीको सोच विकसित गर्दै तेक्वान्दोकर्मीले खेलक्षेत्रमा पुर्‍याएको योगदानलाई सधैँभरि राज्य पक्षले अवमूल्यन गरेको आरोपसमेत महासचिव गुरुङको छ ।
कार्यक्रममा वर्षभरि उत्कृष्ट नतिजा ल्याएका डोजाङलाई सम्मानित गरियो । सम्मानित हुनेमा युनिभर्स तेक्वान्दो डोजाङ कास्की, काठमाडौं तेक्वान्दो डोजाङ, धरान सुनसरी तेक्वान्दो डोजाङ, खुमल तेक्वान्दो डोजाङ, ९४ तेक्वान्दो डोजाङ दाङ, भैरहवा तेक्वान्दो डोजाङ र सल्लाघारी तेक्वान्दो डोजाङ रहे ।
चितवन तेक्वान्दो डोजाङ, बारा तेक्वान्दो डोजाङ र नौमुले तेक्वान्दो डोजाङ दैलेखलाई उत्कृष्ट डोजाङको सम्मानपत्रसहित ३० हजार बराबरको खेल सामग्री प्रदान गरिएको थियो । कोटेश्वर तेक्वान्दो डोजाङ र सिउचाटार तेक्वान्दो डोजाङलाई सर्वोत्कृष्ट डोजाङको पुरस्कार प्रदान गरियो ।
साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले नेपालमा राष्ट्रिय खेलकुद नीति पारित भए पनि कार्यान्वयन विधि नहुँदा लागू हुन कठिनाइ भएको बताए । उनले नेपाल सरकारले भौतिक पूर्वाधार नभएका केही जिल्लामा २५ वटा कभर्ड हल बनाउने योजना ल्याएको तर बजेटको व्यवस्था भइनसकेको भन्दै विद्यालय तहमै खेलकुद लैजाने नीति लिएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले राष्ट्रिय खेलकुद परिषद्ले एकता र सहकार्यको नीति लिएको बताए । हालसम्म राखेपमा राजनीति हावी भएको स्विकार्दै सदस्य–सचिव लामाले अबदेखि राखेपमा नियुक्ति गर्दा खेलकुदविज्ञलाई मात्र नियुक्त गर्ने प्रण शीर्ष दलहरूले गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं खेलकुद इन्चार्ज कर्णबहादुर थापाले नेपालका राजनीतिक दलहरूले राष्ट्रिय खेलकुद परिषद्मा जाँदा खेलकुद संघलाई कसरी कब्जा गर्ने भन्नेतिर मात्र ध्यान दिएकाले विकास हुन नसकेको दाबी गरे । एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले राज्य र राजनीतिले सबैभन्दा हेला गरेको क्षेत्र खेलकुद भएको भन्दै पञ्चवर्षीय योजनामा पनि कर्मचारीका लागि मात्रै बजेट व्यवस्था हुने गरेको बताए ।
नेकपा माओवादीका केन्द्रीय सदस्य गणेशमान पुनले राज्यले खेलकुदलाई साधनको रूपमा नभई विज्ञानको रूपमा आत्मसात् गर्न जरुरी भएको कुरामा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पनि मन्तव्य राखेका थिए । नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले कुनै पनि विधाको नेतृत्त्व सम्बन्धित खेलकुदको व्यक्तिलाई दिइयो भने नतिजा राम्रो आउने दाबी गर्दै राखेप र ओलम्पिक कमिटीको विवादले धेरै खेलकुद संघ निराश भएको बताए ।
कार्यक्रममा तेक्वान्दो खेलको विकासमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ र इन्टरनेसनल नेपलिज तेक्वान्दो एसोसिएसन इन्टा कोरियाका सल्लाहकार मदन केसीलगायतलाई सम्मान गरियो । दुई दिनसम्म सञ्चालन हुने
साधारणसभामा पाँच विकास क्षेत्रका ६५ प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया