लघु जलविद्युत्मार्फत गाउँमा इन्टरनेट

खरवाङ (बाग्लुङ), २२ फागुन । बाग्लुङको तगातुन्डाको खरवाङ बाग्लुङ बजारबाट ६५ किलोमिटर र राजधानी काठमाडौंबाट करिब तीन सय ४० किलोमिटर टाढा छ । यति विकटमा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन तर यहाँका बालबालिकाले लघु जलविद्युत्मार्फत गाउँमै ल्यापटपमार्फत अध्ययन गर्छन् । उनीहरूले गाउँमै इन्टरनेट चलाएर विश्वका समाचार क्षणभरमै थाहा पाउन सकेका छन् ।

गाउँमा ७५ किलोवाटको गिरिन्दीखोला लघु जलविद्युत् आयोजना निर्माण भएपछि यहाँको त्रिभुवन उच्च माविका बालबालिकाले ल्यापटपमार्फत पढ्न पाएका हुन् । उनीहरूले गाउँमै बसेर सजिलै कम्प्युटर सिक्नुका साथै इन्टरनेटको सुविधा पनि उपयोग गर्न पाएका छन् । उक्त विद्यालयका २ कक्षादेखि ६ कक्षासम्मका विद्यार्थीलाई मिनिल्यापमार्फत बालमैत्री वातावरणमा अध्ययन/अध्यापन गरिन्छ भने माथिल्लो कक्षामा कम्प्युटर तालिमका साथै नेट, इन्टरनेट चलाउने सुविधा दिइएको विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिए । ‘दूरीको हिसाबले त यो विद्यालय धेरै विकटमा पर्छ तर सहर सरह नै यहाँका बालबालिकाले लघु जलविद्युत्को कारणले ल्यापटप र कम्प्युटर चलाउन पाएका छन् ।’, उनले भने ।
विद्यालयले ई–पाठ र ई–लाइब्रेरीको व्यवस्था गरेको छ । विद्यालयका अनुसार, विद्यालयमा ५० मिनी ल्यापटप, १४ ल्यापटप र एउटा कम्प्युटरको व्यवस्था गरिएको छ । दुई वर्ष अघिदेखि सुरु भएको सो अभियान अन्तर्गत सात सय ५० विद्यार्थीले ल्यापटप र कम्प्युटर सिक्दै आएको प्रअ भण्डारीले बताए । साझा शिक्षाले ई–पाठको लागि सहयोग गरेको थियो भने रेसुंगा नेटमार्फत इन्टरनेटको सुविधा छ ।
राजधानी वरिपरिका जिल्लाका गाउँका बालबालिकासमेत कम्प्युटर देख्न नपाइरहेको बेला यहाँका साना बालबालिकाले कम्प्युटरमार्फत नै पढ्न, लेख्न र होमवर्क गर्न पाएका छन् । कम्प्युटरमार्फत पढाइ भएपछि उनीहरू पनि खुसी छन् । ‘पढ्नलाई धेरै सजिलो भएको छ, जुनबेला पनि कम्प्युटर चलाएर बसाँै जस्तो लाग्छ ।’, कक्षा दुईका विद्यार्थी मनोज घर्तीले भने, ‘थिच्ने बित्तिक्कै सबै कुरा आउँछ, आवाज पनि आउँछ ।’
ई–पाठ पढाउँदा धेरै सजिलो हुने अनुभव शिक्षिका पवित्रा थापाको छ । ‘पढाउन पनि सजिलो, बच्चाले पनि सजिलै बुझ्ने रहेछन् ।’ उनले भनिन् । लघु जलविद्युत्को कारण लोडसेडिङ नहुने भएकोले यहाँ बालबालिका दिनभरि कम्प्युटरमै रमाउँछन् । जिल्ला ऊर्जा तथा वातावरण शाखाका अधिकृत विजय वाग्ले लघु जलविद्युत्को कारणले बालबालिकालाई दिइने शिक्षाको सिकाइ प्रणालीमै परिवर्तन भएर बाल मैत्री भएको बताउँछन् ।
लघु जलविद्युत्मार्फत बालबालिकाले सिकेकोमा विद्यार्थीका अभिभावकसमेत खुसी छन् । लघु जलविद्युत् आयोजना लिमिटेडका सचिव नारायण धितालले भने, ‘लघुजलविद्युत्कै कारणले बालबालिकाले पनि कम्प्युटरमार्फत सिक्न पाउनु त साह्रै खुसीको कुरा हो, एसएलसी दिँदासमेत कम्प्युटर नदेख्ने धेरै युवाहरू गाउँमै छन् ।’
विद्युत् कर्मचारी युनियनमा रिमाल

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको नवौँ महाधिवेशनले पुन: रामप्रसाद रिमालको संयोजकत्वमा ५७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
‘स्वच्छ प्रशासन सुदृढ संस्था पेसागत मर्यादाको लागि सांगठनिक एकता, ऊर्जा संकट समाधानका लागि सहभागितामुलक विद्युत् विकास आजको आवश्यकता’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कमला श्रेष्ठ, उपाध्यक्षहरूमा रामकुमार थेबे, रामनारायण शाह, विष्णुप्रसाद भट्टराई, विदुरकुमार कडरिया र तीर्थराज दाहाल, महासचिवमा रामेश्वर पौडेल, सचिवमा शंकर क्षेत्री, दिगम्बर यादव र भूमिनन्द अर्याल तथा कोषाध्यक्षमा लक्ष्मी गौतमलाई चयन गरेको छ । बन्द सत्रमा दुई ६५ जना प्रतिनिधि र एक सय १९ जना पर्यवेक्षक गरी तीन ८४ जनाको उपस्थिति थियो । महाविधेशनको एमालेका वरिष्ठ नेता केपी ओलीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया