‘एमाओवादीका कारण चुनाव अनिश्चित’

प्यूठान : एमाओवादीका कारण देशमा चुनाव हुन नसकेको आरोप एमाले उपाध्यक्ष वामदेव गौतमले लगाएका छन् । नेकपा एमाले प्युठान निर्वाचन क्षेत्र नं. १ र २ को दोस्रो अधिवेशनको सोमबार विजयनगरमा उद्घाटन गर्दै उनले चुनावबाट हार्ने डरले माओवादीले चुनाव पन्छाउन खोजेको आरोप लगाएका हुन् ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने योजना माओवादी अधिवेशनको प्रस्ताव भएको भन्दै कांग्रेस र एमाले पार्टीभित्र अन्तरसंघर्ष उत्पन्न गराएर एमाओवादीले बाबुराम भट्टराईको सरकार लम्ब्याउन खोजेको आरोप उनले लगाए । एकलौटी रूपमा मंसिर ७ गते चुनाव गर्ने माओवादी घोषणा असफल भए पनि माओवादी निर्वाचनमा जान नचाहेको उनको भनाइ थियो ।
वर्तमान सरकारले दैनिक दुईपटक मन्त्रिपरिषद्को बैठक बोलाई कार्यकर्तालाई पैसा बाँड्ने काम गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । मधेसी दलहरूसँगको साँठगाँठमा मन्त्रिपरिषद्ले मनोमानी ढंगले रकम बाँडफाँड गरी भ्रष्टाचार गरेकाले आगामी निर्वाचित सरकारले वर्तमान मन्त्रीहरूलाई कठघरामा उभ्याउने चेतावनी उनले दिए । संघीयताबाट देश टुक्र्याउने मधेसी दलको षड्यन्त्रमा एमाओवादीले सहमति जनाएको भन्दै उपाध्यक्ष गौतमले माओवादीले देशमा जातीय द्वन्द्व ल्याउन खोजेको आरोप लगाए । (सौस)

प्रतिक्रिया