बंगलादेशको प्रदर्शनमा ७६ को मृत्यु

ढाका : बंगलादेशमा मुस्लिम समर्थक राजनीतिक दल जमात–ए–इस्लामको आह्वानमा करिब एक महिनादेखि जारी विरोध प्रदर्शन सोमबार पनि यथावत जारी छ । सो विरोधका क्रममा आइतबारसम्ममा कम्तीमा पनि ७६ जनाको ज्यान गइसकेको छ ।
आइतबार मात्रै भारतका राष्ट्रपति प्रणव मुखर्जी औपचारिक भ्रमणका लागि बंगलादेशको राजधानी ढाका पुगेकाले सुरक्षाकर्मीहरूका लागि उनको सुरक्षा व्यवस्था मिलाउन कठिन भएको बताइएको छ । ढाकामा सोमबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । त्यहाँ कम्तीमा पनि पन्ध्र हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुने क्रममा जारी क्रान्तिमा भएका अपराधको आरोपमा केही राजनीतिक दलका नेताहरूलाई मृत्युदण्डको सजाय सुनाइएबाट भड्किएको हिंसाको क्रम महिनादिन पुगिसक्दा पनि रोकिएको छैन । आइतबार नै पनि भड्किएको हिंसामा कम्तीमा २० जनाको ज्यान गएको थियो ।
ढाकालगायतका विभिन्न स्थानमा भएका प्रदर्शन हिंसात्मक बन्दका क्रममा दिनहुँजसो व्यक्तिको ज्यान जाने क्रम रोकिएको छैन । बंगलादेशको युद्ध अपराधसम्बन्धी दण्ड सजायका लागि गठन गरिएको अदालतले गतहप्ता जमात–ए–इस्लामी नामको बंगलादेशको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलावर हुसेन सैयदलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
सो समाचारपछि देशमा झन् ठूलो हिंसा मच्चिएको छ । प्रदर्शनकारी बढी आक्रामक भएका छन् । उनीहरूले प्रहरीमाथि नै पेट्रोल बम एवं घरायसी हतियार नै प्रयोग गरेका छन् । त्यसपछि प्रहरीले पनि हतियार प्रयोग गरेको बताइएको छ ।
प्रदर्शनमा सो दलका कार्यकर्ता नै बढी मात्रामा सडकमा उत्रिएका छन् । अदालतले मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिलाई घोषित कारबाही गरिनुपर्ने भनेर पनि अरू सर्वसाधारणले पनि प्रदर्शनलाई जारी राखेका छन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुनका लागि वर्तमान बंगलादेशले ठूलो क्रान्ति गरेको थियो । सो स्वतन्त्रता संग्रामका समयमा पाकिस्तान र यसका समर्थकहरूले हालका बंगलादेशीहरूलाई व्यापक मात्रामा दमन गरेका थिए । सो समयमा युद्धअपराध भएको भनी त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग विगत निकै लामो समयदेखि नै भई आएको हो । सोही मागलाई सम्बोधन गर्दै सन् २०१० मा उक्त अदालतको स्थापना पनि गरिएको हो ।
सोही अदालतले सैयदविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो । सैयदलाई युद्ध अपराध अदालतले हत्या, आगजनी, बलात्कारलगायतका अभियोगमा दोषी प्रमाणित गरेको छ । उनलाई झुण्डयाएर मृत्युदण्ड दिन पनि आदेश दिइएको छ ।(एजेन्सी)

प्रतिक्रिया