भारतीय पर्यटक घटे

काठमाडौं, २१ फागुन । नेपाली पर्यटनको मुख्य बजार भारतबाट आउने पर्यटक सन् २०१२ को दोस्रो महिना फेब्रुअरीमा घटेका छन् । गत वर्ष फेब्रुअरीको तुलनामा यस वर्ष हवाई मार्गबाट आउने भारतीय पर्यटक १८ दशमलव २ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै बोर्डले जनाएअनुसार फेब्रुअरीमा ९ हजार ६९ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्ष फेब्रुअरीमा ११ हजार ९३ थियो । फेब्रुअरीमा विभिन्न मुलुकबाट हवाई मार्ग हँुदै ४५ हजार १ सय २३ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष फेब्रुअरीको तुलनामा ६ प्रतिशतले बढी हो । गत वर्ष फेब्रुअरीमा ४२ हजार ७ सय १६ पर्यटक नेपाल आएका थिए ।
फेब्रुअरीमा दक्षिण एसियाली मुलुकबाट कुल १० हजार ९ सय १९ पर्यटक नेपाल आएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही महिनाको तुलानमा १५ दशमलव २ प्रतिशतले कम हो । सो महिना यो क्षेत्रबाट १२ हजार ८ सय ७३ पर्यटक नेपाल आएका थिए । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट फेब्रुअरीमा १४ हजार ८ सय ९२ पर्यटक नेपाल आएको तथ्यांक छ । यसमध्ये चिनियाँ पर्यटक उल्लेख्य संख्यामा बढेका छन् । गत वर्ष फेब्रुअरीको तुलनामा चिनियाँ पर्यटक १३५ दशमलव ६ प्रतिशतले बढेको बोर्डले जनाएको छ । यो महिना हवाई मार्ग हँुदै ७ हजार ६ सय चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । फेब्रुअरीमा चिनियाँ नयाँ वर्षको लामो बिदा भएकाले पर्यटक बढेको पर्यटन व्यवसायीले बताएका छन् । चीन नेपाली पर्यटनको उदाउँदो बजार हो । एसियाली मुलुकमध्ये मलेसियाली र सिंगापुरे पर्यटक पनि उल्लेख्य बढेका छन् । जापानी र कोरियाली पर्यटक भने घटेका छन् ।
युरोपियन पर्यटक ५ दशमलव ५ प्रतिशतले घटेका छन् । युरोपियन मुलुकमध्ये जर्मन तथा डच पर्यटक बढेका छन् भने बेलायती, फ्रान्सेली, इटालियन तथा रसियाली पर्यटक घटेका छन् । युरोपियन मुलुकबाट १० हजार १ सय ८४ पर्यटक आएको तथ्यांक छ । अमेरिका, क्यानाडा र न्युजिल्यान्डबाट आउने पर्यटक ११ दशमलव २ प्रतिशतले बढेका छन् । अस्ट्ेरलियाली पर्यटक भने केही घटेका छन् ।

प्रतिक्रिया