कारबाहीमा परेका शिक्षकलाई मुस्ताङ

Dev-Gurung-lohoboम हिमालपारिको जिल्ला मुस्ताङको पनि उपल्लो मुस्ताङमा जन्मिएँ, त्यहीँ हुर्किएँ । मैले स्कुल पढ्ने बेलामा मुस्ताङमा माध्यमिक तहको पढाइ हुने स्कुल थिएन । जोमसोम गएर पढेँ । एसएलसीको परीक्षा जोमसोममा हुँदैनथ्यो, पोखरा जानुपथ्र्यो । मैले निकै दु:ख गर्नुपर्‍यो एसएलसीसम्म पढ्न । भौगोलिक रूपमा दुर्गम मुस्ताङको अझ दुर्गम गाउँ लोमन्थाङ नेपाल नै होइन जस्तो लाग्छ । हाम्रो गाउँ छुट्टै राज्यजस्तै छ । राजालाई देवतासरह मान्छन् सबै जनताले । मुस्ताङे राजाकै संरक्षणमा हामी हुर्किएका हौँ । गाउँका सबै दु:खसमस्या उनैले हेर्थे । अहिले देशमा राजा नहुँदा पनि मुस्ताङे राजालाई त्यहाँका जनताले उत्तिकै भाउ दिन्छन् । सायद, स्थानीय राजाबाट नै शासन चल्ने भएर होला, राज्यले गर्ने विकासको दूरीबाट निकै पछाडि छ माथिल्लो मुस्ताङ ।

पोखराबाट सात दिनको पैदल यात्रापछि पुगिने गाउँमा राम्रो पढाउने शिक्षकसमेत थिएनन् । त्यसैले एसएलसी पास गरेपछि आफ्नै गाउँमा सेवा गर्ने सोच बनाएँ मैले । आफूजस्तै विद्यार्थीले शिक्षा हासिल गर्न मैले जस्तो दु:ख गर्नुनपरोस् भन्ने लाग्थ्यो मलाई । २०३७ सालमा एसएलसी पास गरेपछि मैले गाउँकै राष्ट्रिय निमावि लोमन्थाङमा पढाउन थालेँ ।
मैले शिक्षकमा नियुक्ति लिँदा एक सय ८७ रुपियाँ तलब पाउँथे । दुर्गममा सरकारले तलबबराबरको भत्ता दिन्छ, त्यहीअनुसार थप एक सय ८७ गरेर जम्मा तलब तीन सय ७४ रुपियाँ पुग्थ्यो । तलब कम भए पनि गाउँमा शिक्षाको ज्योति छर्ने ठूलो चाहना थियो मेरो । तर, मुस्ताङमा शिक्षा अगाडि बढाउन मौसमसमेत प्रतिकूल बनिदिन्छ । जाडो सुरु भएपछि मंसिरदेखि तीन महिना स्कुल बन्द हुन्थ्यो त्यतिबेला । वर्षभरि पढाएको विद्यार्थी जाडो महिनाभरि फुर्सदमा हुन्छ । घरमै पढ्ने वातावरण हुँदैन । अधिकांश अभिभावक अशिक्षित छन् । तीन महिनाको छुट्टीपछि विद्यार्थी स्कुल आउँदा पढाएको आधा पाठ पनि सबै भुलिसक्थे । फेरि सुरुबाटै दोहोर्‍याएर पढाउनुपथ्र्यो । त्यसो गर्दा एकातिर कोर्स अपुरो हुन्थ्यो । जसोतसो कोर्स सके पनि विद्यार्थीलाई पर्याप्त सिकाउन नपाइने ।
मैले लगातार २२ वर्ष मुस्ताङमा पढाएँ । त्यही विद्यालयको प्रधानाध्यापक पनि भएँ । पढाउने गाउँमै आफ्नो घर भएको हुनाले सुविधासम्पन्न ठाउँमा सरुवा मेरो लागि आवश्यकता भएन । पूरै समर्पित भएर आफ्नै गाउँमा पढाएँ । तर, हाम्रो नेपालको शिक्षाप्रणाली यस्तो छ, कुनै शिक्षक कारबाहीमा पर्‍यो भने उसलाई दुर्गम पठाइन्छ । मुस्ताङमा पनि कारबाहीमा परेका शिक्षकहरू पुग्छन् । सुगमबाट कारबाही गरेर दुर्गम पठाइएपछि त्यो शिक्षकको मनोदशा कस्तो होला ? अनि उसले कसरी विद्यार्थीलाई उचित शिक्षा दिन सक्ला ? हाम्रो मुस्ताङले पनि त्यही समस्या लगातार भोगिरहेको छ, परिणाम शिक्षामा सधैँ पछाडि परिरहेको छ ।
मैले पढाउन सुरु गर्दा स्कुलमा मुस्किलले डेढ सय विद्यार्थी थिए । आठ कक्षामा त दुई/तीन जनामात्रै । अहिले पनि आठ कक्षामा बीस जना विद्यार्थी संख्या पनि पुग्न सकेका छैनन् । २०६१ सालमा शिक्षक सेवाबाट अवकाश लिएको छु । यद्यपि, मैले पढाएको विद्यालयको व्यवस्थापन समितिमा अझै पनि रहिरहेको छु । तर, मैले पढाएको विद्यालय अझै माध्यामिक बन्न सकेको छैन । २२ वर्षपछि पनि निम्नमाध्यामिक तहको मात्रै पढाइ हुन्छ । (वार्तामा आधारित)

प्रतिक्रिया