टिचिङका कार्यकारी निर्देशक डा. कोइरालाको राजीनामा

Bhagwan Koiralaकाठमाडौँ, २१ फागुन । काठमाडौं, २० फागुन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले अस्पतालकै केही वरिष्ठ चिकित्सक तथा कर्मचारीको असहयोग र चर्को दबाबका कारण पदबाट राजीनामा दिएका छन् । अस्पतालका डिन डा. प्रकाश सायमीमार्फत उनले शुक्रबार त्रिवि कार्यकारी परिषद्मा राजीनामा बुझाएका हुन् ।

वर्षेनी २० करोडभन्दा बढी घाटामा गएको अस्पताललाई निर्देशक भएको एक महिनामै नाफामा पुर्‍याउन सफल डा. कोइरालालाई अस्पतालकै कर्मचारीले असहयोग गर्नुका साथै राजनीतिक दबाब सिर्जना गरेका कारण उनले राजीनामा दिएको स्रोतले बताएको छ । डा. कोइरालाले भने राजीनामा दिनुको कारण खुलाएका छैनन् ।
राजीनामाको कारण नखुलाए पनि कोइरालालले ‘यस्तै अवस्था रहे नेपालका धेरै चिकित्सक विदेश पलायन हुने’ भन्दै चर्को असन्तुष्टि पोखे । ‘मैले शुक्रबार डिनमार्फत राजीनामा दिएको हुँ । अब केही दिनमा नै अस्पताल छाड्छु,’ उनले भने, ‘यस्तै अवस्था भइरहेमा नेपालबाट धेरै डाक्टरहरू विदेश पलायन हुनेछन् ।’ उनले राजीनामा दिनुको कारण केही दिनमा सार्वजनिक गर्ने बताए । कोइरालाको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
अस्पतालको निर्देशक भएको साढे तीन महिनामै डा. कोइरालाले पदबाट राजीनामा दिएका हुन् । निर्देशक भएपछि पनि आफूलाई काममा धेरैतिरबाट असहयोग भइरहेको गुनासो उनले गर्दै आएका थिए ।
डा. कोइरालाको राजीनामापछि अस्पतालका केही चिकित्सकले शिक्षण अस्पताल फेरि धराशयी हुने भयो भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘अस्पतालको अनियमितता, भ्रष्टाचारजस्ता विषयलाई रोक्न खोज्दा व्यापक दबाब आएपछि उहाँले राजीनामा दिनुभएको छ,’ अस्पतालकै एक चिकित्सकले भने, ‘उहाँलाई असयोग र दबाब दिनेहरू अस्पतालकै सिनियरहरू धेरै छन् ।’ ती चिकित्सकका अनुसार कोइराला निर्देशक भएकोमा चिढिनेहरूले राजनीतिक दबाब दिनेदेखि काममा असहयोगसमेत गर्दै आइरहेका थिए ।
गत मंसिर ३ गते त्रिवि कार्यकारी परिषद्ले डा. कोइरालालाई कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको थियो । एक महिनाको अवधिमै उनले करोडौँ घाटामा गएको अस्पताललाई नाफामा ल्याउन सफल भएका थिए । अस्पतालको जिम्मेवारी लिएपछि कोइराला अस्पतालको सेवा कमजोर भएको, राजनीतीकरण भएको, सेवादायीहरू दाममुखी भएको र व्यापक चुहावट रहेको भन्दै त्यसलाई सुधार्न पहल गरिरहेका थिए ।
अस्पतालका अधिकांश कर्मचारीले सहयोग गरे पनि सिनियर पोस्टमा रहेकाहरूले काममा अवरोध गरेपछि कोइराला राजीनामा गर्न बाध्य भएको अस्पताल प्रशासनका एक कर्मचारीले बताए ।
स्रोतका अनुसार अस्पतालको फ्याकल्टी डाक्टर एसोसिएसनले मनमोहन कार्डियोथोरासिस सेन्टरको मान्छेलाई किन शिक्षण अस्पतालको निर्देशक बनाइयो भन्दै विरोध गर्दै आएका थिए । डा. कोइराला टिचिङको निर्देशक हुनुभन्दा पहिला सेन्टरका निर्देशक थिए । टिचिङको निर्देशक भएलगत्तै अस्पताल सुधारका लागि प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयले थप आर्थिक सहयोग गरेको थियो । तर, एसोसिएसनका चिकित्सकले त्यसको विरोध गरेका थिए ।
निर्देशक भएलगत्तै डा. कोइरालाले चिकित्सकले अनिवार्य रूपमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अस्पताल छाड्न नपाउने नियम बनाएका थिए । अस्पताल छाडेर निजी क्लिनिक जान पल्केका डाक्टरहरूले यसको चर्को विरोध गर्नुका साथै राजनीतिक दबाब सिर्जना गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनलाई सबैभन्दा बढी अर्थोपेडिक विभागले असहयोग गरेको थियो । विभागले हस्ताक्षर नै संकलन गरी उनले एकीकृत गरेको आइसियु फुटाउन दबाब दिँदै आएको थियो ।
अस्पतालमा सेवा सुरु गरेलगत्तै डा. कोइरालाले औषधि पसल अस्पतालले नै सञ्चालन गर्ने योजना, अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयभित्र निजी क्लिनिकमा जानबाट रोक्ने, आर्थिक अनुशासन, मितव्ययिता, शिक्षण अस्पतालमा आएका बिरामीलाई बेड हुँदाहुँदै बाहिरका पोलिक्लिनिक, नर्सिङ होम र निजी अस्पतालमा पठाउने कार्यको नियन्त्रण गर्ने प्रयास गरेका थिए । यसका साथै हाजिर गरेर तलब खाने, अस्पतालमा केही घन्टा बसेर ओभर टाइम खाने प्रवृत्तिलाई नियन्त्रण गर्न पनि उनी सफल भएका थिए ।
अस्पताल घाटामा गएको र भएका जनशक्तिले पनि पूर्णरूपमा काम नगरेको तथा विनाकारण ओभरटाइममा बढी रकम खर्च भएको भन्दै डा. कोइरालाले अस्पतालमा हुने गरेको ओभरटाइमको खर्चलाई कटौती गरेका थिए । डा. कोइरालाको यो कामका कारण पनि धेरै चिढिएको डा. कोइरालाले बताउँदै आएका थिए ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा. प्रकाश सायमीको सिफारिसमा कोइराला कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । निवर्तमान कार्यकारी निर्देशक डा. केपी सिंहको कार्यकाल कात्तिक ३० गते सकिएको थियो । यसअघि डा. कोइरालाले आठ वर्षसम्म गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशक भएर काम गरेका थिए । अस्पतालका अनुसार अस्पतालको आन्तरिक आम्दानी वाषिर्क करिब ३० करोड, खर्च भने ६१ करोड रुपियाँभन्दा माथि छ । दैनिक दुई हजार बिरामीले सेवा लिन आउने अस्पतालमा अस्पतालका सबै सेवामा गरी १ हजार ५ सय कर्मचारी कार्यरत छन् । आर्थिक अभावकै कारण नि:शुल्क सेवा प्रदान गर्नसमेत कठिन रहेको प्रशासनको भनाइ छ । ५ सय शय्याको सो अस्पतालमा दैनिक सय शय्या नि:शुल्क छ ।

प्रतिक्रिया