कमजोर टोलीविरुद्ध नेपालको कीर्तिमानी जित

Yubatiकाठमाडौं, २० फागुन । इतिहासमै सबैभन्दा कमजोर प्रतिद्वन्द्वी पाएको अवसरलाई पूर्ण सदुपयोग गर्दै नेपालले एएफसी च्यालेन्ज कप २०१४ छनोट फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा नर्दर्न मारियाना आइल्यान्डलाई ६–० को फराकिलो अन्तरले पराजित गर्‍यो । दशरथ रंगशालामा नेपालका लागि ह्याट्रिक गरेका भरत खवासले अन्तर्राष्ट्रिय फुटबलमा व्यक्तिगत गोलसंख्या सात पुर्‍याएका छन् । नेपालका लागि सन्तोष साहुखल, सन्दीप राई र राजु तामाङले थप गोल गरे । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो सबैभन्दा फराकिलो अन्तरको जित हो । यसअघि नेपालले विश्वकपको प्रारम्भिक चरणको छनोट खेलमा इस्ट टिमोरलाई ५–० ले पराजित गरेको थियो ।

समूह ‘डी’मा शनिबार नै भएको अर्को खेलमा प्यालेस्टाइनले बंगलादेशलाई १–० ले पराजित गर्‍यो । नर्दर्न आइल्यान्डको सहभागिताले समूह ‘डी’मा दोस्रो स्थान पाउने टोली पनि अर्को वर्ष माल्दिभ्समा हुने प्रतियोगिताको अन्तिम चरणमा प्रवेश पाउने सम्भावना प्रबल भएको छ । माल्दिभ्समा हुने प्रतियोगिताको पाँचौँ संस्करणमा आयोजक टोलीसहित पाँचवटा समूहमा शीर्ष स्थान पाउने टोली सहभागी हुनेछन् । यसैगरी, दोस्रो हुने दुई टोलीले पनि सहभागिताको अवसर पाउँनेछन् । शनिबार नै समूह ‘ए’ र ‘सी’को पनि छनोट सुरु भयो । म्यानमारमा भएको समूह ‘ए’को छनोटमा भारतले चाइनिज ताइपेइलाई २–१ ले पराजित गर्‍यो । अर्को खेलमा म्यानमारले ग्वामलाई ३–० ले हरायो । समूह ‘सी’मा अफगानिस्तानले श्रीलंकालाई १–० ले पराजित गर्‍यो भने लाओस र मंगोलियाबीच १–१ गोलको बराबरी भयो ।
दशरथ रंगशालामा करिब १८ हजार दर्शकसामु भएको खेलमा चौथो मिनेटमा भरत खवासले नेपाललाइ अग्रता दिलाए । बायाँ विंगबाट रविन श्रेष्ठ र जगजितले उत्कृष्ट समन्वय गर्दै गोलको अवसर सिर्जना गरेका थिए । भरतले रविन श्रेष्ठको क्रसमा तेस्रो गोल गर्नुपूर्व केही राम्रा अवसर गुमाएका सन्तोषले गोल गरे ।
दोस्रो हाफको सुरुवातमै जगजित श्रेष्ठलाई लडाइएपछि प्राप्त पेनाल्टीमा राजुले गोल गरे भने सन्दीपले थप गोल गरे । सन्दीपले ३० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ७० औँ मिनेटमा सहज गोल गर्दै भरतले ह्याट्रिक पूरा गरे । भरतको यो ह्याट्रिक अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो चौथो ह्याट्रिक हो । यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी र निराजन रायमाझीले ह्याट्रिक गरेका थिए ।
शनिबारको खेलमा प्रशिक्षक ज्याक स्टाफेनोस्कीले तीन फरवार्ड र तीन मिडफिल्डर उपयोग गरेका थिए । लामो समयपछि सन्दीपले मिडफिल्डरको रूपमा खेले । तीन फरवार्ड खेलाइएपछि जगजितको भूमिका बायाँ विंगरको झै थियो । नर्दन मारिना आइल्यान्डका दायाँ रक्षक निष्प्रभावी रहँदा रविन र जगजितले पूरै समय यसको फाइदा उठाए । यी दुई मिलेर दिलाएको अवसरलाई उपयोग गरेको भए नेपाल एक दर्जनभन्दा बढी गोल अन्तरले विजयी हुन सक्थ्यो । सबैभन्दा धेरै अवसर गुमाउने र निष्प्रभावी खेलाडी सन्तोष नै रहे । उनलाई प्रतिस्थापन गरेका अमर डंगोलले पनि एउटा राम्रो अवसर गुमाए । प्यालेस्टाइनलाई जित दिलाउने क्रममा रक्षक हायतन थिमले गोल गरे । ७८ औँ मिनेटमा उनले हुलमुलमा गोलपोस्टको अगाडिबाटै गोल गरे ।
नेपाली टोलीका प्रशिक्षक स्टेफानोन्स्कीले नेपालको वास्तविक परीक्षण बंगलादेशसँगको खेलमा हुने र त्यो खेलमा पनि नेपालले राम्रो खेल्ने विश्वास व्यक्त गरे । सोमबार नेपालले बंगलादेशसँग खेल्नेछ भने प्यालेस्टाइनले नर्थर्न आइल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया