ओबामाद्वारा मितव्ययी नीति लागू

वासिंगटन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक मितव्ययी नीतिअनुरूप ८५ अर्ब अमेरिकी डलर बराबर खर्च कटौती गर्न शुक्रबार आदेश दिएका छन् । यसबाट अमेरिकी अर्थतन्त्र सुस्त बन्ने तथा रोजगारी गुम्ने आशंका गरिएको छ ।
राष्ट्रपति ओबामाले आफ्नो कानुनी उत्तरदायित्व निर्वाह गरेको र खर्च कटौती स्वचालित रूपमा लागू भएको विश्लेषण गरिएको छ । यसले घरेलु तथा प्रतिरक्षा खर्चमा कटौती हुनेछ । यसअघि बजेट घाटा कटौती गर्ने कुरामा विपक्षी रिपब्लिकन पार्टीलाई सहमत गराउन उनी असफल भएका थिए ।
राष्ट्रपति ओबामाले सेनाको संख्या तथा खर्चमा व्यापक कटौतीका लागि भएको आदेशमा पनि हस्ताक्षर गरे । यसलाई कडाइका साथ लागू गर्नुपर्ने उनले बताए । ओबामाको व्यवस्थापन तथा बजेट कार्यालयले प्रत्येक संस्थाको खर्च कटौतीका विषयमा विस्तृत विवरण दिएको छ । उनले यसअघि खर्च कटौतीको अवस्था आउनुमा रिपब्लिकन पार्टी जिम्मेवार रहेको आरोप लगाएका थिए । रिपब्लिकन पार्टीले धनी व्यक्ति तथा संंस्थाले करका कमजोरीबाट लिइरहेको फाइदा हटाउन तथा खर्चमा कटौती गर्न अस्वीकार गरेका थिए । घाटा घटाउने सन्तुलित उपाय खर्च कटौती मात्रै भएको उनले बताएका थिए ।
राष्ट्रपति ओबामाले आफू तानाशाह नभएको र राष्ट्रपति मात्र भएको उल्लेख गर्दै उनले रिपब्लिकन पार्टीका नेताहरूलाई सही काम गर्ने सहमति नबनेसम्म कोठामै थुनेर राख्न गुप्तचर सेवालाई लगाउन नसक्ने बताए । उनले खर्च कटौतीले अर्थतन्त्रमा नराम्रो असर पुग्ने, रोजगारी गुम्ने र यसका लागि दुवै पक्षले सम्झौता गर्नुपर्ने बताए ।
सैनिक तथा घरेलु खर्चमा कटौती गर्ने कार्यलाई ‘सेक्वेस्टर’ अर्थात जफत भनिएको छ । यस्तो अवस्था आउँछ भन्ने कुरा कसैले पनि अनुमान गरेका थिएनन् । यसलाई घाटा कटौती गर्ने राम्रो उपायका रूपमा लिइएको छ । दुवै पक्षले यसलाई खर्च कटौतीको नराम्रो तर निर्विकल्प उपायका रूपमा लिएका थिए ।
नयाँ प्रतिरक्षामन्त्री चक ह्यागलले खर्च कटौतीले अमेरिकाको आफ्नो अभियान सञ्चालन गर्ने क्षमतालाई प्रभाव पार्ने चेतावनी दिएका छन् । खर्च कटौती कार्यक्रमअनुसार पेन्टागनको बजेटमा ४६ अर्ब अमेरिकी डलर कटौती हुनेछ । राष्ट्रपति ओबामाले तल्लो सभाका सभामुख जोन बोएनर, माथिल्लो सभा सिनेटका रिपब्लिकन नेता मिच मकोनल, सिनेटका डेमोक्र्याट बहुमतका नेता ह्यारी रिड तथा प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीका नेता नान्सी पेलोसीसँग यस विषयमा वार्ता गरेका थिए ।
वार्तापछि पत्रकारहरूसँग उनले राजस्व वृद्धि गर्ने आफ्नो मागलाई रिपब्लिकन पार्टीले स्वीकार गर्न नसक्ने बताएका थिए । खर्च कटौतीको प्रभाव देखिन केही समय लाग्नेछ । राष्ट्रपतिले यसको दोष रिपब्लिकन पार्टीमाथि लगाएका छन् । घरेलु खर्च तथा प्रतिरक्षा खर्च कटौती भए पनि यसले पाका जनताले पाउने स्वास्थ्य सेवा तथा निवृत्तिभरणमा प्रभाव नपर्ने बताइएको छ । खर्च कटौतीअनुसार प्रतिरक्षा मन्त्रालयका आठ लाख कर्मचारीले सातामा एक दिन बिदा पाउनेछन् र नौसेनाले आफ्नो यात्रा कटौती गर्नेछ । खाडी क्षेत्रमा अर्को एक विमानवाहक जहाज तैनाथ गर्ने कार्य रोकिएको छ ।
प्रतिरक्षा सामग्री उत्पादन गर्ने कम्पनीहरूले कर्मचारी कटौती गर्नुपर्ने हुनसक्छ । यसले संघीय स्वास्थ्य सेवामा खर्च कटौती गर्नसक्छ । विशेष शिक्षा, पूर्वविद्यालय शिक्षा तथा बालबालिकालाई दिइएको सेवामा पनि यसले प्रभाव पार्ने बताइएको छ । यसले विमानस्थलका सेवालाई पनि प्रभावित बनाउनसक्छ । (एएफपी)

प्रतिक्रिया