काभ्रेमा चार सहकारी गाभिए

काभ्रे, २० फागुन । काभ्रेको पनौतीमा रहेका चार सहकारी गाभिएका छन् । ती सहकारीले शनिबार विशेष एकीकरण साधारणसभा गरी एकीकरण भएको घोषणा गरेका हुन् । पनौती–११ मा रहेको ज्योति साकोस, वडा नम्बर–३ को मिर्मिरे साकोस, वडा नम्बर–४ को सामूहिक महिला साकोस र वडा नम्बर–५ मा रहेको जागृति नमुना साकोस गाभिएका छन् ।

सहकारी संघका केन्द्रीय अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यतामा भएको सभामा चारवटै सहकारीका अध्यक्षहरू उद्धव सापकोटा, माधवप्रसाद सापकोटा, मैया थापा र विदुरप्रसाद हुमागाईंले चारवटा गाग्रोको पानी एउटै गाग्रोमा खन्याएर एकीकरण भएको सामूहिक घोषणा गरे । एकीकृत सहकारीको नाम ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था राखिएको छ । एकीकरणसँगै उक्त संस्था तेस्रो ठूलो सहकारी बनेको छ ।
उद्धव सापकोटाको अध्यक्षतामा एकीकृत सहकारीको तदर्थ समिति गठन भएको छ । समितिमा उपाध्यक्ष कान्छीमैया थापा, सचिव केशव दाहाल, सहसचिव रुद्रप्रसाद तिमल्सिना र कोषाध्यक्ष उपेन्द्र हुमागाईं छन् । एकीकृत सहकारीको कुल सम्पत्ती आठ करोड आठ लाख छ भने चार हजार ६ सय ३१ सेयर सदस्य छन् । संस्थाको कुल सेयर पँुजी एक करोड ९९ लाख ९९ हजार छ भने बचत निक्षेप ५१ लाख ६७ हजार तीन सय ४६ रुपियाँ छ । लगानीमा रहेको ऋण ६६ लाख ७४ हजार छ भने अन्य कोषमा १४ लाख ४३ हजार छ ।

प्रतिक्रिया