विद्यालयमा सुनाइन्छ समाचार

दैलेख, २० फागुन । बिहान १० बज्नेबित्तिकै विद्यार्थी मात्र होइन गाउँले पनि विद्यालय पुग्छन् । ती गाउँले विद्यालयमा पढ्न गएका भने होइनन्, उनीहरू देशविदेशका समाचार सुन्न विद्यालय जाने गरेका छन् । विद्यालयमै देश/विदेशका खबर सुनाइन्छ, त्यही पनि विद्यार्थीबाट । यो दैनिकी हो दैलेखको दक्षिणपूर्वी गाविस लालिकाँडास्थित शान्ति उच्च माध्यमिक विद्यालयको । बिहानको प्रार्थनापछि दिनहुँ विद्यार्थीले समाचार सुनाउने गरेका छन् ।

विद्यार्थीमा सुन्न र स्मरण गर्ने शक्तिको विकासमा सहयोग पुगोस् भन्नका लागि समाचार वाचन कार्यक्रम ल्याइएको प्रधानाध्यापक खगेन्द्र बिसी बताउँछन् । ‘विद्यार्थीमा सिर्जनशीलता विकास होस् भन्ने उद्देश्यका साथ विद्यालयले समाचारलाई छनोट गरेको हो,’ प्रधानाध्यापक बिसी भन्छन् । विद्यार्थीमा रेडियो सुन्ने बानीको विकासका साथै उनीहरूले अन्य ज्ञानवद्र्धक कुरा पनि सिकून् भन्ने उद्देश्यले समाचार वाचनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
‘विद्यार्थीले समाचार वाचन गरेको सुन्न आसपासका बासिन्दाको ओइरो लाग्ने गरेको छ,’ स्थानीयवासी धनबहादुर बिसीले भने, ‘हामी समाचार सुन्नकै लागि विद्यालयमा आउने गरेका छौँ ।’
सधैँ रेडियोमा मात्र समाचार सुनेका लालिकाँडा गाविसका बासिन्दा विद्यालयमा समाचार सुन्न पाउँदा हर्षितसमेत देखिन्छन् । घरमा समाचार छुटे पनि बिहान १० बजे समाचार सुन्न उच्च माविमा आउने गरेको ललित थापाले बताए । ‘रेडियोबाट सुनको समाचारभन्दा विद्यार्थीले सुनाएको समाचार बढी ‘बुझिन्या’ भएकाले विद्यालयमा आउने गरेको हुँ,’ थापाले भने । विद्यार्थीले रेडियो सुनेर समाचार लिखित रूपमा बिहानको प्रार्थनाका क्रममा सुनाउने गरेका छन् । ‘सबै विद्यार्थीको घरमा रेडियो नहुन पनि सक्छ भनेर हामीले समाचार वाचनलाई विशेष महत्त्व दिएका हौँ,’ शिक्षक भीमबहादुर थापाले भने, ‘एकातिर विद्यार्थीले सुनुवाई प्रक्रियामा विशेष ध्यान दिऊन् र अर्कोतिर अन्य विद्यार्थीलाई पनि देश/विदेशको ज्ञान होस् र सबैसामु उभिएर बोल्ने बानीको विकासमा सहयोग पुगोस् भन्नका लागि समाचार वाचन कलालाई छनोट गरिएको हो ।’
कक्षागतगीतपछि पनि दुई/दुईजना विद्यार्थीले कक्षामा समाचार सुनाउने गरेको विद्यालयले जनाएको छ । ‘कक्षामा कसैले मौखिक र कसैले लिखित पनि समाचार ल्याएर सुनाउने गरेका छौँ,’ कक्षा १० का नरेन्द्रबहादुर थापाले भने । समाचार कक्षा सातभन्दा माथिका विद्यार्थीले सुनाउने गरेका छन् ।
त्यसैगरी स्थानीय बासिन्दाको सक्रियतामा कक्षा एकदेखि तीनसम्म अंग्रेजी माध्यमबाट पढाउन थालिएको छ । नेपाली पाठ्यपुस्तकलाई अंग्रेजीमा अनुवाद गरी पढाउन थालिएको प्रधानाध्यापक बिसीले जानकारी दिए । अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि अधिकांश स्थानीयबासीले निजी विद्यालयमा पढन पठाएका छोराछोरीलाई उच्च माविमा ल्याएर पढाउन थालेको उनले बताए ।

प्रतिक्रिया