सुन चोरीको अभियोगपछि आत्महत्या

नवलपरासी : नवलपरासी नयाँवेलाहानी–७ की २५ वर्षीया फूलमाया कुमालले प्रहरीको यातनापछि आत्महत्या गरेको भन्दै स्थानीय महिला विरोधमा उत्रेका छन् । सुन चोरीको अभियोगमा गत बिहीबार प्रहरीले पक्राउ गरी यातना दिएर अभियोग स्वीकार गर्न बाध्य गराएकाले कुमालले आत्महत्या गरेको स्थानीय बासिन्दाको दाबी छ ।
पारालिगल गाउँ कमिटी नयाँ बेलाहानीका सचिव राधा ढकालका अनुसार इलाका प्रहरी कार्यालय कावासोतीले ती महिलालाई तीन तोला सुनको क्षतिपूर्ति दिनुपर्ने कागज गराएर दुई स्थानीयको रोहबरमा छोडेको थियो । उनी त्यसको भोलिपल्ट (शुक्रबार) घरनजिकैको रुखमा झुण्डिएर मृत फेला परेकी हुन् । चोरीको उजुरी दिने हस्तमाया विकले प्रहरीको ‘फैसला’प्रति खुसी भएर सुन्तला बाँड्दै हिँडेको भोलिपल्ट फूलमायाले आत्महत्या गरेको खबर सबैभन्दा पहिले प्रहरीलाई दिनु रहस्यमय रहेको ढकालको भनाइ छ ।
यसैबीच घटनाको विरोधमा उत्रेका महिलाले स्थानीय प्रशासनसँग सातबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । मृतकका छोरा र छोरीलाई अनाथगृहमा राखेर पढाइदिने, तत्काल राहतस्वरूप सिडिओले १० हजार र प्रहरीले पाँच हजार रुपियाँ उपलब्ध गराउने, घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।
यस विषयमा कावासोती प्रहरीका प्रहरी नायवउपरीक्षक नान्तिराज गुरुङले प्रहरीले कुनै यातना नदिएको र चोरीको उजुरीपछि सामान्य सोधपुछपश्चात् सहमति गराएर घर पठाएको प्रतिक्रिया दिएका छन् । (सौस)

प्रतिक्रिया