धर्म र ईश्वर : दाह्री र काखीको रौ

Thakur-Belbase०३३ मा अर्घाखाँचीमा जन्मेका ठाकुर बेलबासेले कवितामा आफ्नो स्पष्ट पहिचान बनाएका छन् । ०५० को हाराहारीमा कवितालेखनतर्फ प्रवृत्त भएका बेलबासेका ‘सागरको वरिपरि मनहरूको समारोह’ (०५९), ‘अचानक यो साँझ’ (०६७), ‘त्रासमा ईश्वर’ (०६९) कवितासंग्रह प्रकाशित छन् । राष्ट्रिय कविता महोत्सव ०६९ मा प्रथम भएका बेलबासेका कवितामा मूलत: राष्ट्रियता र देशप्रेमको अभिव्यक्ति पाइन्छ ।
कविता किन लेख्नुहुन्छ ?
कविता कि सन्तुष्टिको पक्षका लागि लेख्छु कि चरम असन्तुष्टिको पक्षका लागि । कहिलेकाहीँ ज्यादतीको गर्धन छिनाउन कविता लेखिराखेको जस्तो पनि लाग्छ । कहिले त आकलझुकल आइलाग्ने आनन्द बाडाँै भनेर कविता लेखेको जस्तो पनि लाग्छ ।
राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनुभयो । तपाईं कवितामा पनि प्रतियोगिता हुन्छ भन्नेमा विश्वास गर्नुहुन्छ ? (म सोच्छु, भावनाको कुनै प्रतिस्पर्धा हुँदैन ।) कवितामा शब्दको प्रतिस्पर्धा हुन्छ कि अनुभूतिको ?
हो, भावनाको कुनै प्रतिस्पर्धा हँुदैन । अनुभूतिको प्रतिस्पर्धा पक्कै हुन्छ । कवितालाई प्रतिस्पर्धामा दाँजिनुपर्छ भन्ने मान्यता म पनि राख्दिनँ । तर, कतै कविताका नाममा अनुभूतिको नापतौल भइरहेको छ भने एकजना कविले सहभागी बन्नुपर्छ । हाजिरीजवाफको जस्तो कविताको प्रतियोगीता कहिल्यै हुन सक्दैन । कविताको महोत्सवमा अनेक रंग र रूपका अनुभूतिका उपस्थितिले कविताको सामथ्र्थलाई पाठकबीच ल्याउन सहयोग पुर्‍याउँछ ।
तपाईंका कवितामा कवि ईश्वरवल्लभको खुब प्रभाव छ भनिन्छ नि ?
मेरो पहिलो कवितासंग्रह ‘सागरको वरिपरि मनहरूको समारोह’ भित्रका कवितालाई ईश्वर वल्लभको प्रभावसँग खुबै जोडियो । ईश्वर वल्लभसँग ०५३ सालदेखि मेरो सम्बन्ध बाक्लो भयो । उहाँसँगको उठबस निकै भयो । उहाँलाई मैले धेरै पढेँ पनि । उहाँको सोझो प्रभाव ममा छ भन्ने मान्दिनँ । अझ दोस्रो संग्रह ‘अचानक यो साँझ’ देखि त मेरा कविताको स्वरूप नै परिवर्तन भएको छ ।
क्लिष्ट, नबुझिने र किरिङमिरिङ कविता लेख्नुहुन्छ भन्ने मेरो आरोपलाई के भन्नुहुन्छ ?
दीपकजी, कस्ता कवितालाई बुझिने र नबुझिने भन्ने ? कविता चक्लेट खाएकोजस्तो हुँदैन । तपाईं आफँै राम्रो कवि । एकजना सचेत कविले नारालाई कविता भन्न रुचाउँदैन । कविता जीवनसँग गाँसिएको विषय हो । तपाई आफँै सोच्नुस् त, जीवन कहिले बुझेजस्तो, कहिले झन् झन् जेलिएजस्तो लाग्दैन ? साहित्यको सर्वोच्च विधा हो कविता । कवितालाई अन्य साहित्यका विधा पढ्ने मनले पढेर हँुदैन पनि । आख्यानको सयौँ पृष्ठको विषय कविताका केही पंक्तिमा अटाएको हुन्छ । कविता बुझ्न सर्वोच्च मन पनि चाहिन्छ ।
कविताका शक्ति र सीमाहरू के–के हुन् ?
कला, शैली र विम्बसंयोजन कविताका शक्ति हुन् । कल्पनाशीलता र भावनाको वेग कविताका सीमा हुन सक्छन् । यी कुरालाई राम्रोसँग बाँध्न सकियो भने एउटा शक्तिशाली कविता बन्न सक्छ ।
कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
कविले आफ्ना कविताको भावनावरिपरि रहेर जीवन बाँच्न खोज्नुपर्छ । कतिपय सन्दर्भमा कविताजस्तै कवि बन्न खोज्यो भने व्यावहारिक नहुन पनि सक्छ । कविताले मान्छेलाई मान्छेजस्तो बन्न सिकाउने हो । संसारमा सबै कुरा हुबहु हँुदैनन् पनि । जीवनका आदर्शका कुरा अलिकति अनुसरण मात्र गर्‍यो भने पनि मान्छेको अनुहारमा मान्छे देख्न सकिन्छ । एकजना इमानदार कविले आफ्ना सिर्जनाको मान्यतालाई सधैँ आफूसँगै राख्न खोज्नुपर्छ । बस् कविको इमानदारिता देखिन्छ ।
एउटा सुन्दर कविता लेखिसकेपछि सबैभन्दा पहिले तपाईंको आफ्नै प्रतिक्रिया कस्तो हुन्छ ?
लामो यात्रा सकेर थकाइ मारेजस्तो लाग्छ । केही बेर एक्लै कवितासँग चलिरहन मनलाग्छ । अनेकन पाठकका मनहरू बोकेर कवितामा ठोक्याउने प्रयास गरिरहन्छु । कविताको विषयमा पर्ने प्रभावका बारेमा पनि म विचारमग्न हुन्छु । अलिकति असन्तुष्टि अलिकति खुसीसँग आफँै हल्का हुने गर्छु ।
कविताले जिन्दगीका सुखदु:ख इरेजरले जस्तै मेट्न सक्छन् कि सक्दैन ?
दीपकजी, मान्छेले त सक्दैन भने कविताले कसरी सक्छ ? सक्दैन । कविता त एउटा भावना न हो । कविताले मान्छेका सुखदु:ख इरेजरलेजस्तो मेटिदिने भएको भए आज दु:ख डायनोसरजस्तो हुने थियो । हेर्नुस् त दु:ख त जन्मँदा सँगै जन्मिन पो थालेको छ । कविताले त जीवनसँगै आएर टाँसिएको दु:खलाई देखाइदिने हो । नदेखिने गरी जिन्दगीको कुनै भागमा बसेको सुखलाई देखाइदिने हो । कविताले दु:खविरुद्ध लड्न आँट दिन्छ । सुखलाई भोग्न सिकाउँछ ।
कविता कविता हुन के–के चाहिन्छ ?
कला र विम्ब सुन्दर शैलीमा कविताको विषयमाथि संयोजन गर्न सकिएमा राम्रो कविता बन्छ भन्ने म बुझ्छु । विषयले पनि कवितालाई ओझपूर्ण बनाउन सहयोग गर्छ ।
धर्म र ईश्वरबारे तपाईंको धारणा के छ ?
धर्म र ईश्वर पुरुषको दाह्री र महिलाको काखीका रौँजस्तै हुन् । जस्तै घृणा गरेर फाल्नुस्, पलाइहाल्छ । जस्तै माया गरेर पाल्नुस्, त्यसको पनि कुनै अर्थ छैन । हरेक मान्छेमा यी दुवै विषय कुनै न कुनै ढंगबाट टाँसिइरहेका छन् । नचाहँदा नचाहँदै पनि यी दुवै विषयसँग मान्छे जोडिन्छ । मान्छेको उत्पतिसँग जोडिएर आएका यी विषयले मान्छेको अस्तित्व रहेसम्म यसैगरी मान्छेलाई भ्रममा राखिराख्ने पनि छन् । दु:खी मान्छेलाई अझ बढी दु:खी बनाउन यी विषय आजसम्म सफल छन् । अपराधीका लागि सुस्ताउने चौतारी पनि त यी विषय नै हुन् ।
प्रस्तुति : दीपक

प्रतिक्रिया