जीवनको सार्थकता

swami-nikhileswaranandaआशक्तिको अर्थ यो पनि होइन कि अरूको पीडामा आफूलाई कुनै असर नहोस् । अध्यात्म यति संकीर्ण हुन सक्दैन । अध्यात्मको मतलब हो– सारा संसारमा, पूरा ब्रह्माण्डभर हाम्रो प्राणको विस्तार होस् । हाम्रा लागि सबै एकै हुन् । कसैको आँखामा आँसु छ भने हाम्रो आँखामा पनि आँसु छ । यो अध्यात्मको विस्तार हो ।

ईश्वरले तिम्रो जीवन एक विशेष उद्देश्यले दिएका हुन् । किनभने प्रभुको यो यस्तो विशेष स्थिति हो जहाँ उनले एउटा घाँसको त्यान्द्रो पनि बेकारमा पैदा गरेका छैनन् । र, यदि तिमीलाई पनि ईश्वरले जन्म दिएका हुन् भने जरुर यसका पछाडि कुनै हेतु छ, कुनै कारण छ, कुनै चिन्तन छ । परन्तु मैले तिमीलाई स्मरण गराउँदै छु– तिम्रो जन्म ईश्वरको एक विशेष कृति हो । ईश्वरले तिम्रो जन्म एक विशेष उद्देश्यका लागि दिएका हुन् ।
जीवनको मतलब केवल जिउँदो रहनु मात्र होइन । केबल भोजन गर्नु, विवाह गर्नु र सन्तान उत्पन्न गर्नु पनि जीवनको उद्देश्य होइन । मेरो जन्म किन भयो भनेर सर्वप्रथम मनुष्यले बझ्नु पर्‍यो । यस्तो चिन्तन कुनै पशु–पंक्षी, कीट–पतंग आदिमा हुँदैन । देवता र राक्षसमा पनि जन्म लिने क्रिया हुँदैन । यसैले मनुष्य जन्मलाई ब्रह्माण्डको सर्वश्रेष्ठ क्रिया भनिएको हो ।
यति हुँदाहुँदै पनि तिम्रो जन्म स्वयंमा कुनै घटना होइन, यसबाट समाजमा कुनै परिवर्तन आएन । तिम्रो जन्मको प्रारम्भको क्षणबाटै शमसानतिर लम्कने क्रिया सुरु भयो । बितेको क्षणको अपेक्षा तिम्रो एक पल अरू मृत्युको नजिक हुन पुग्यो । मृत्युको यात्रामा अघि बढ्ने क्रिया त पशु–पंक्षहरूमा पनि छ । अनि तिमी र उनीहरूमा अन्तर भयो ? प्रभुले तिमीलाई किन जीवन दिए ? जीवनको लक्ष के हो ? जीवनको धेय के हो ? जीवनको लक्ष हो सूक्ष्मताबाट पूर्णतातिर अग्रसर हुनु । यो लक्ष्य आदिबाट अन्त हुने क्रिया हो । जसले जीवनमा पूर्णतातिर अग्रसर हुने क्रिया गर्छ, सोच्छ, चिन्तन गर्छ–त्यही मनुष्य हो ।
भगवान्ले हामीलाई चाहे एउटा गुण दिएका हुन् या दश गुण । यदि हामीले त्यसलाई विकिसत गर्दै जाने हो भने निश्चय नै त्यसमा बृद्धि हुँदै जानेछ । आफूले आफँैलाई हीन सम्झने, तुच्छ ठान्ने, पुरुषार्थ नगर्ने, परिश्रम नगर्ने अनि ईश्वरलाई दोष दिने काम आफैँलाई धोका दिनु हो ।
परमात्माले कृपा गरेर हर व्यक्तिलाई अवश्यै कुनै न कुनै गुण प्रदान गरेका छन् । आवश्यकता छ त्यो गुणलाई पहिचान गर्ने र त्यसलाई विकास गर्ने । किनभने एउटा गुणबाट नै अनेक गुण उत्पत्ति हुन्छन् ।
जीवनमा श्रेष्ठता, उच्चता प्राप्त गर्न र पूर्णतासम्म पुग्न सर्वप्रथम आफ्नो पुरातन सडेगलेको मान्यताबाट मुक्त हुन पर्‍यो, पुराना परम्पराको जन्जिरलाई तोडेर स्वतन्त्र हुनुपर्‍यो ।
पशु जीवनबाट केवल गुरुले नै माथि उठाउन सक्छन् । मनुष्य जीवनको उद्देश्य के हो यसलाई देवताले पनि बताउन सक्दैनन् । किनभने जसले जन्म नै लिएको छैन उसले यी मर्मलाई बुझ्न सक्दैन । परन्तु गुरुले जन्म लिएका छन् र जन्म लिएर पूर्णतासम्म पुगेका छन् । त्यसैले उनले शिष्यलाई त्यही ठाउँसम्म पुर्‍याउन सक्छन् ।
जहाा सुख छ, त्यहाँ हमेसा सुखैसुख होस् यस्तो सम्भवै छैन । दिन छ भने त्यहाँ रात पनि आउँछ । सुखपछि दु:ख आउँछ नै तर आनन्दपछि आनन्द नै आउँछ । आनन्द र सुखमा मूलभूत अन्तर के हो भने– आनन्दपछि मृत्यु आउन सक्दैन । चिन्ताले सताउन सक्दैन ।

अनुवाद : शिव ढकाल
तन्त्रमन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया