बाटो खोज्दै अल्मल्लिइरहेछु कागजको डुंगा चढेर,
परिवर्तनका वाहक पानीका
बूँदहरूसँग साटिरहेछु एउटा गुणस्तरहीन सपना ।
अन्तिम गन्तव्यको हिसाब गर्दै,
नियालिरहेछु विश्व मानचित्रमा म पुग्ने देश ।
खै आएकै छैन सूर्योदय, आफ्नै ब्रह्म…भरी ।
न भेटाएको छु आफ्नो असली अनुहार ।
हुनसक्छ पानी भ्रम हो ।
लहर अर्धसत्य हो र डुंगा अर्धसत्य हो ।
मान्छेहरूको माझमा गुमाएर आफ्नो कुटिल अनुहार
उत्तरआधुनिक हावाको तपाक्रम नाप्दै …
पलायन हुने सपना देख्छु, देशबाट निकै टाढा ।
छताछुल्ल पोखेर तरंगलाई,
प्रहरैपिच्छे खियाइरहेछु कागजको डुंगा,
नदी, पोखरी र तालहरूमा ।
थाहा छैन,
विश्वास छ वा छैन, आफैँप्रति वा आफ्नो देशप्रति
तर, छ असन्तोषको ज्वालामुखी र एउटा अट्टहास मभित्र ।
शरीरका बांगाटिंगा रेखाहरूले
खिचेको छ ‘तन्नेरी’ मनको साम्राज्य ।
विच्छ्यौनाजस्तै ओच्छिएका छन् समयका पदचाप
र, त्यहाँ छरिएका छन् मेरा यिनै सपना ।
थाहा छैन, किन फैलिन्छ पानीमा आफ्नै छाया ?
किन बग्छ, त्यो लहरमा कागजको डुंगा ?
किन अल्झिन्छन् तन्नेरी त्यही छायाको प्रेममा ?
प्रतिक्रिया