भारतीय क्लबविरुद्ध नेपाली टोली विजयी

Rahul-Vishwakarma-receivingकाठमाडौं : आसन्न एसिसि टि–ट्वान्टी र आइसिसि वल्र्ड क्रिकेट लिग डिभिजन थ्रिको तयारीका लागि स्थानीय क्लबहरूसँग खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो जित हात पारेको छ । भ्रमणअन्तर्गत चौथो खेलका रूपमा बिहीबार द्रोणाचार्य क्लबविरुद्ध उत्रिएको नेपाल नौ विकेटले विजयी भयो ।
यसअघिको प्रदर्शनलाई सुधार गर्दै नेपालले पछिल्लो खेलमा सवै पक्षमा उल्लेखनीय प्रदर्शन गर्‍यो । टस जिती पहिला ब्याटिङमा उत्रिएको भारतीय क्लब २८.५ ओभरमा ७३ रनमा समेटिएको थियो । बलिङतर्फ नेपालका राहुलकुमार विश्वकर्माले तीन तथा वसन्त रेग्मी र रामनरेश गिरीले समान दुई/दुई विकेट लिए । किफायती बलिङ गरेका शक्ति गौचन र अमृत भट्टराईले पनि एक/एक विकेट हात पारे । ३.५ ओभर बलिङ गर्ने क्रममा स्पिनर राहुलले १३ रन खर्चिएका थिए । नेपालले प्राप्त लक्ष्य ११.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलले नटआउट ३४ रन बनाए । अर्का प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर सुभाष खकुरेल २८ रन जोडेर आउट भए । सागर पुन नौ रनमा नटआउट रहे । यस भ्रमणका क्रममा पहिलो खेलमा विजयी भएको नेपालले पछिल्ला दुईमा भने पराजय सामना गरेको थियो । (सौस)

प्रतिक्रिया