प्रेस काउन्सीलमा कार्की

काठमाडौं : सरकारले प्रेस काउन्सिलको अध्यक्षमा बोर्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । कार्की एमाओवादी समर्थक कानुन व्यवसायी हुन् ।
मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले हालै मात्र वरिष्ठ अधिवक्ताको उपाधी पाएका कार्कीलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि सरकारले काउन्सिल अध्यक्षमा सर्वोच्चका पूर्वन्यायाधीश अवधेशकुमार यादवलाई नियुक्त गरे पनि सर्वोच्चले रोकेको थियो ।
सरकारले महालेखापरीक्षकको कार्यालयका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लेखा प्रणालीलाई चुस्त र पारदर्शी राख्न महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीका लागि प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
बैठकले तनहुँ जलविद्युत् आयोजनाका लागि जापान सरकारबाट उपलब्ध हुने १४ अर्ब सात करोड ७४ लाख बराबरको रुपियाँ ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग र ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा जापान सरकार र नेपाली सरकारबीच एक्सचेन्ज अफ नोटमा हस्ताक्षर गर्ने अख्तियारीसमेत दिएको छ ।
यसैगरी, बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिको अध्यक्षमा लक्ष्मी देवकोटा र नलसिङगाड  जलविद्युत् आयोजना विकास समितिको अध्यक्षमा शेरबहादुर शाहीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ सरकारले राष्ट्रिय खेलकुद परिषद् सदस्यमा शिवबहादुर बस्नेत र नारायणप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले द्वन्द्वपीडित शिक्षकहरूको पुनर्बहालीका लागि गठित उच्चस्तरीय आयोग, २०६९ को कार्यावधि दुई महिना थप गरेको छ । (सौस)

प्रतिक्रिया